आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

गृहमन्त्री गुरुङ र स्वास्थ्यमन्त्री मेहताले गरिन् कोशी अस्पतालको निरीक्षण

जग्गा खाली गर्न एक हप्ते ‘अल्टिमेटम’
आइतबार, २१ असार २०८३, २० : २९
आइतबार, २१ असार २०८३

विराटनगर । गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहताले आइतबार विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित जग्गाको निरीक्षण गरेका छन्।

निरीक्षणका गर्दै स्वास्थ्यमन्त्री मेहताले एक हप्ताभित्र सार्वजनिक जग्गा खाली गराउने बताएकी छिन्। वर्षौँदेखि विभिन्न सङ्घ–संस्थाले अस्पतालको जग्गा कब्जा गरेर व्यावसायिक प्रयोजनमा लगाएपछि आइतबार साँझ स्थलगत निरीक्षणमा पुगेकी मन्त्री मेहताले त्यस्ता संरचना हटाउन एक हप्ते ‘अल्टिमेटम’ दिएकी हुन्। 

अस्पताल प्रशासनले अतिक्रमित संरचना हटाउन दिएको १५ दिने समयसीमा असार १९ गते नै सकिएको थियो । 

निरीक्षणपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै मन्त्री मेहताले भनिन्, ‘अस्पतालले दिएको समयसीमा सकिँदा पनि संरचना खाली नहुनु दुःखद् हो । अबको एक हप्ताभित्र यो ठाउँ खाली हुन्छ, हामी यसलाई कार्यान्वयन गरेरै छाड्छौँ ।’

कोशी अस्पतालको नाममा रहेको विराटनगर–७ स्थित कित्ता नम्बर १२, १५, २२, ११, २६ र २३ को बहुमूल्य जग्गामा नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले स्थायी संरचना बनाएका छन्।

सामाजिक सेवाको नाममा जग्गा ओगटेका यी संस्थाहरूले ३० भन्दा बढी सटर निर्माण गरी मासिक लाखौँ रुपैयाँ भाडा असुलिरहेका छन्। अस्पतालको आन्तरिक अध्ययन अनुसार क्षयरोग निवारण संस्थाले ६ कट्ठा ८ धुर जग्गा ओगटेर मासिक करिब २ लाख रुपैयाँ भाडा उठाउँदै आएको छ ।

त्यस्तै, रेडक्रसले २ कट्ठा जग्गामा बनेको भवन राष्ट्रिय वाणिज्य बैंकलाई भाडामा दिएर मासिक १ लाख ५० हजार बुझ्ने गरेको छ । गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले पनि सडक मोहडाका सटरहरूबाट उल्लेख्य आम्दानी गरिरहेका छन् ।

स्वामित्व आफ्नो नाममा भए पनि अस्पतालले पूर्वाधार विस्तारका लागि जग्गा अभाव खेपिरहेको छ । जग्गा उपभोग गर्न नपाए पनि अस्पतालले वर्षौँदेखि सरकारलाई राजस्व भने तिरिरहेको छ । जनसम्पर्क अधिकारी नवराज लुइँटेलका अनुसार अस्पतालले २०८३ असारसम्मको १० लाख ५७ हजार ८६० रुपैयाँ राजस्व सरकारी ढुकुटीमा जम्मा गरिसकेको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले पनि यसअघि नै संरचना खाली गर्न निर्देशन दिइसकेको छ। प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले गत शुक्रबार सरोकारवाला पक्षलाई बोलाएर एक हप्ताभित्र जग्गा छाड्न स्पष्ट निर्देशन दिएका थिए। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चन्द्रभाल झाले मन्त्रीको प्रतिबद्धतापछि अब प्रक्रियाले गति लिने विश्वास व्यक्त गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप