सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

घट्दै सर्पदंशको उपचार लिने बिरामी

सोमबार, २२ असार २०८३, ०४ : ३८
सोमबार, २२ असार २०८३

महोत्तरी । विषालु सर्पको बिगबिगी भएको महोत्तरीको बर्दिबास आसपासका क्षेत्रमा केही वर्षयता सर्पदंशको उपचार लिने घटेका छन् । बर्दिबास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा पछिल्ला ४ वर्षयता उपचार लिनेको सङ्ख्या घटेको तथ्याङ्कले देखाएको हो ।

विसं २०७१ साउन ३१ गतेदेखि सेवा थालेको केन्द्रमा आर्थिक वर्ष २०७९/८० यता उपचार लिनेको सङ्ख्या निकै घटेको छ । त्यसअघि वर्षमा चार हजार बढीले उपचार लिने गरेकामा केन्द्रमा २०७९/८० यता यो सङ्ख्या एक हजारमुनि झरेको छ । केन्द्रमा आव २०७९/८० मा ८७८, आव २०८०/८१ मा ८८४ र आव २०८१/८२ मा ७०२ जनाले उपचार लिएका छन् । चालु आव २०८२/८३ को (असार २० गते) सम्मको अवधिमा ७२२ जनाले उपचार लिएका उपचारमा संलग्न नेपाली सेनाको प्राविधिक टोलीका प्रमुख भोला चौधरीले जानकारी दिए ।

केन्द्रमा स्थापनायताका वर्षमा सबैभन्दा बढी आव २०७७/७८ मा चार हजार १९१ जनाले उपचार लिएका छन् । त्यसैगरी, आव २०७६/७७ मा तीन हजार ९४७, आव २०७८/७९ मा तीन हजार ९३२, आव २०७५/७६ मा तीन हजार ६४१, आव २०७४/७५ मा तीन हजार ५४२, आव २०७३/७४ मा तीन हजार ३९४, आव २०७२/७३ मा तीन हजार ३१० र आव २०७१/७२ मा तीन हजार १२८ जनाले उपचार सेवा लिएका छन् । स्थापनाकालदेखि हालसम्म जम्मा ३२ हजार २७१ जनाले उपचार लिएका केन्द्रको अभिलेखमा उल्लेख छ ।

पछिल्ला चार वर्षमा आसपासका धेरै ठाउँमा सर्पदंश उपचार सेवा सञ्चालनमा आउनु र सहरीकरण बढ्दै जाँदा सर्पले ठाउँ छोड्दै गएपछि घटना कम हुनसँगै उपचार लिनेको सङ्ख्या घट्दै गएको प्राविधिक टोलीका प्रमुख चौधरीको भनाइ छ ।

एक दशकअघिसम्म विषालु सर्पको त्रास रहेको बर्दिबास नगर क्षेत्रमा सर्पदंशका घटना बढेपछि सामुदायिक प्रयत्नबाट सर्पदंश उपचार केन्द्रको स्थापना गरिएको हो । केन्द्रमा स्थापनाकालदेखि नै नेपाली सेनाका दक्ष प्राविधिक टोलीले उपचार सेवा दिँदै आएका केन्द्रका अध्यक्ष कृष्णप्रसाद देवकोटा बताउँछन् । केन्द्रले स्थापनाकालयता हालसम्म उपचार लिन आएमध्ये ६७ जनालाई मात्र अन्यत्र रेफर गरेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप