बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

इरान युद्धको असरः आईएमएफले घटायो विश्व आर्थिक वृद्धिको अनुमान

बिहीबार, २५ असार २०८३, १० : ५९
बिहीबार, २५ असार २०८३

सारांश

  • अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले इरानमाथिको अमेरिका–इजरायल युद्धका कारण उत्पन्न ऊर्जा संकटको दीर्घकालीन असर देखाउँदै सन् २०२६ को विश्व आर्थिक वृद्धिदरको अनुमान पुनः घटाएको छ ।
  • आईएमएफको पछिल्लो विश्व आर्थिक परिदृश्यअनुसार सन् २०२६ मा विश्व अर्थतन्त्र ३ प्रतिशतले मात्र वृद्धि गर्ने अनुमान गरिएको छ, जुन यसअघिको ३.१ प्रतिशतको प्रक्षेपणभन्दा कम हो ।
  • पश्चिम एशियामा जारी युद्धबाट उत्पन्न ऊर्जा संकटको असर कायम रहे पनि प्रविधि, विशेषगरी कृत्रिम बौद्धिकता (एआई)मा भइरहेको तीव्र लगानीले आर्थिक गतिविधिलाई टेवा दिइरहेको छ ।

न्यूयोर्क । बहुपक्षीय कर्जादाता निकाय अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले इरानमाथिको अमेरिका–इजरायल युद्धका कारण उत्पन्न ऊर्जा संकटको दीर्घकालीन असर देखाउँदै सन २०२६ को विश्व आर्थिक वृद्धिदरको अनुमान पुनः घटाएको छ । 

बुधबार सार्वजनिक गरिएको आईएमएफको पछिल्लो विश्व आर्थिक परिदृश्यअनुसार सन २०२६ मा विश्व अर्थतन्त्र ३ प्रतिशतले मात्र वृद्धि गर्ने अनुमान गरिएको छ । यसअघि अप्रिलमा आईएमएफले ३ दशमलव १ प्रतिशत वृद्धिदर रहने प्रक्षेपण गरेको थियो । यद्यपि कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा बढ्दो लगानी र मागले ऊर्जा संकटको केही असरलाई कम गर्ने आईएमएफको भनाइ छ ।

आईएमएफका अनुसार सन २०२७ मा विश्वको अर्थतन्त्र ३ दशमलव ४ प्रतिशतले बढ्ने अनुमान गरिएको छ, जुन सन २०२४–२५ को औसत ३ दशमलव ५ प्रतिशत वृद्धिदरभन्दा केही कम हो । त्यसैगरी, विश्वव्यापी मुद्रास्फीति सन २०२६ मा ४ दशमलव ७ प्रतिशत पुग्ने अनुमान गरिएको छ । यो सन २०२५ को ४ दशमलव १ प्रतिशत भन्दा बढी हो । सन २०२७ मा भने मुद्रास्फीति घटेर ३ दशमलव ९ प्रतिशतमा झर्ने अपेक्षा गरिएको छ ।

आईएमएफको अनुसन्धान विभागकी उपनिर्देशक पेट्या कोएभा ब्रुक्सले विश्व अर्थतन्त्र अहिले दुई विपरीत शक्तिबीच प्रभावित भइरहेको बताइन् । उनका अनुसार एकातिर पश्चिम एशियामा जारी युद्धबाट उत्पन्न ऊर्जा संकटको असर कायम छ भने अर्काेतिर प्रविधि, विशेषगरी कृत्रिम बौद्धिकता (एआई)मा भइरहेको तीव्र लगानीले आर्थिक गतिविधिलाई टेवा दिइरहेको छ । अनुमान स्टे«ट अफ होर्मुज जुलाईको मध्यदेखि क्रमशः पुनः सञ्चालनमा आउने र आगामी मार्चसम्म युद्धअघिकै अवस्थामा फर्किने आधारमा तयार गरेको आईएमएफले जनाएको छ ।

यद्यपि स्टे«ट अफ होर्मुजमा इरानी आक्रमणको जोखिम कायमै रहेकाले अन्तर्राष्ट्रिय जहाज सञ्चालन अझै प्रभावित छ । युद्धअघि दैनिक करिब १३० जहाज आवतजावत गर्ने उक्त मार्गबाट हाल दैनिक ४१ जहाज मात्र सुरक्षित रूपमा गुज्रिरहेका छन् । विश्वको करिब २० प्रतिशत तेल तथा तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) व्यापार यही जलमार्गबाट हुने भएकाले यस क्षेत्रमा देखिएको अस्थिरताले ऊर्जा बजारमा दबाब बढाएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–इरान युद्धविराम सकिएको बताएका केही घण्टापछि अमेरिकी सेनाले लगातार दोस्रो दिन पनि इरानी सैन्य लक्ष्यहरूमा आक्रमण गरेको थियो । त्यसपछि अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य एकैदिन ७ प्रतिशतसम्म बढ्दै प्रति ब्यारेल ७९ अमेरिकी डलर नाघेको थियो । पछिल्लो कारोबारमा ब्रेन्ट कच्चा तेलको मूल्य ७८ डलर ७६ सेन्ट प्रति ब्यारेल पुगेको छ ।

आईएमएफले प्रमुख विकसित अर्थतन्त्रमध्ये सन २०२६ मा अमेरिकाको आर्थिक वृद्धिदर सबैभन्दा तीव्र रहने अनुमान गरेको छ । प्रतिवेदनअनुसार अमेरिकाको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) २ दशमलव ३ प्रतिशतले बढ्ने अपेक्षा गरिएको छ । युरोजोनको वृद्धिदर शून्य दशमलव ९ प्रतिशत रहने अनुमान गरिएको छ । कोषका अनुसार बेलायतको अर्थतन्त्र १ प्रतिशत, क्यानडाको १ दशमलव १ प्रतिशत र जापानको शून्य दशमलव ६ प्रतिशतले बढ्ने छ । उदीयमान अर्थतन्त्रका रूपमा रहेको चीनको आर्थिक वृद्धिदर भने ४ दशमलव ६ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप