पूर्वविश्वविजेता स्पेनको १६ वर्ष लामो खडेरी समाप्त: २०१० पछि पहिलोपल्ट विश्वकपको सेमिफाइनलमा
सारांश
- स्पेनले फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा बेल्जियमलाई २-१ गोलले पराजित गर्दै १६ वर्षपछि सेमिफाइनलमा स्थान पक्का गरेको छ ।
- यो जितसँगै स्पेनले सन् २०१० को विश्वकप जितेयता सेमिफाइनलमा पुग्न नसकेको खडेरी अन्त्य गरेको छ ।
- सेमिफाइनलमा स्पेनले साविक उपविजेता फ्रान्सको सामना गर्नेछ ।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गतको रोमाञ्चक दोस्रो क्वार्टरफाइनल खेलमा बेल्जियमलाई २–१ गोल अन्तरले पराजित गर्दै स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ । लस एन्जलस स्टेडियममा भएको कडा प्रतिस्पर्धामा स्पेनले खेलको अन्तिम समयमा निर्णायक गोल गर्दै ऐतिहासिक जित हासिल गर्यो ।
यस जितसँगै, पूर्वविश्वविजेता स्पेन सन् २०१० यताको १६ वर्ष लामो खडेरी समाप्त पार्दै पहिलो पटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
स्पेनले २०१० मा दक्षिण अफ्रिकामा विश्वकप जितेर इतिहास रचेपछि लगातार तीन संस्करणमा अत्यन्त निराशाजनक प्रदर्शन गरेको थियो । २०१४ को ब्राजिल विश्वकपमा डिफेन्डिङ च्याम्पियनको रूपमा प्रवेश गरेको स्पेन समूह चरणमै नेदरल्याण्ड्ससँग १–५ र चिलीसँग ०–२ ले पराजित हुँदै बाहिरिएको थियो । अष्ट्रेलियामाथि अन्तिम खेलमा ३–० को जित निकाले पनि स्पेनले समूह चरण पार गर्न सकेन ।
त्यस्तै, २०१८ को रसिया विश्वकपमा समूह चरण पार गरे पनि स्पेन राउन्ड अफ १६ मा घरेलु टोली रसियासँग पेनाल्टी सुटआउटमा ३–४ ले पराजित भएको थियो । सन् २०२२ को कतार विश्वकपमा कोस्टारिकामाथि ७–० को शानदार जितबाट सुरुवात गरे पनि स्पेन राउन्ड अफ १६ मा मोरक्कोसँग पेनाल्टीमा ०–३ ले बाहिरिन पुग्यो ।
स्पेनको यो १६ वर्ष लामो सेमिफाइनल खडेरी अन्ततः २०२६ मा आएर तोडिएको छ । यस संस्करणको समूह चरणमा साउदी अरबमाथि ४–० र उरुग्वे विरुद्ध १–० को जित निकाल्दै तथा केप भर्डेसँग ०–० को बराबरी खेल्दै स्पेनले नकआउटमा स्थान बनाएको थियो ।
राउन्ड अफ ३२ मा अष्ट्रियामाथि ३–० को जित निकाल्दै स्पेनले सन् २०१० पछि पहिलो पटक विश्वकपको नकआउट चरण पार गरेको थियो भने राउन्ड अफ १६ को आइबेरियन डर्बीमा पोर्चुगललाई १–० ले हराएको थियो । बेल्जियम विरुद्धको यस ऐतिहासिक जितसँगै स्पेन विश्वकपको उपाधि दाबेदारको रूपमा अन्तिम चारमा पुग्न सफल भएको छ ।
अब स्पेनले नेपाली समयअनुसार आगामी बुधबार टेक्सासको डलासमा हुने सेमिफाइनल खेलमा साविक उपविजेता फ्रान्सको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोरला नाका जोड्ने (छुसाङ–घमी) सडकको कालोपत्रका लागि ठेक्का आह्वान
-
अर्जेन्टिनाको खेल नसकिँदै थामिएन गुगल सर्चको ट्राफिक, एकैदिन बन्यो नयाँ कीर्तिमान
-
बस्ती खाली गर्नुलाई नै बहादुरी ठानियो, विस्थापितको पुनर्स्थापना खोइ ? : शंकर पोखरेल
-
सुखद सम्बन्धका लागि जीवनसाथीसँग गर्नैपर्ने ६ कुराकानी
-
स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य
-
मेरो हत्याको प्रयास गरिए इरानलाई ध्वस्त पारिदिन्छु : डोनाल्ड ट्रम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण