शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

बेल्जियमलाई २–१ ले हराएर स्पेन सेमिफाइनलमा, फ्रान्ससँगको भेट पक्का

शनिबार, २७ असार २०८३, ०२ : ४४
शनिबार, २७ असार २०८३

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गतको रोमाञ्चक दोस्रो क्वार्टरफाइनल खेलमा बेल्जियमलाई २–१ गोल अन्तरले पराजित गर्दै स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ ।

लस एन्जलस स्टेडियममा भएको यस कडा प्रतिस्पर्धामा स्पेनले खेलको अन्तिम समयमा निर्णायक गोल गर्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । अब स्पेनले नेपाली समय अनुसार बुधबार बिहान १२: ४५ बजे टेक्सासको डलासमा हुने सेमिफाइनल खेलमा साबिक उपविजेता फ्रान्सको सामना गर्नेछ ।

खेलको ३० औँ मिनेटमा स्पेनका मिडफिल्डर फाबियन रुइजले उत्कृष्ट गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर स्पेनको त्यो अग्रता धेरै समय टिक्न पाएन । खेलको ४१ औँ मिनेटमा बेल्जियमका स्ट्राइकर चार्ल्स डे केटेलेरेले टिमोथी कास्टान्येको पासमा बराबरी गोल फर्काएका थिए । यस गोलसँगै स्पेनले यस प्रतियोगितामा पहिलो पटक गोल व्यहोरेको थियो, जसले गर्दा उसको लगातार ६ खेलको ‘क्लिन सिट’ को कीर्तिमानमा पूर्णविराम लागेको थियो । पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो ।

दोस्रो हाफमा दुवै टोलीले विजयी गोलका लागि प्रयास जारी राखे । यसैबिच खेलको ७१ औँ मिनेटमा बेल्जियमका मुख्य गोलरक्षक थिबाउ कोर्टवा मैदानबाट बाहिरिनु परेपछि सेने ल्यामेन्सले गोलपोस्टको कमान सम्हालेका थिए । त्यसपछि दबाबमा देखिएको बेल्जियम विरुद्ध स्पेनले आफ्नो आक्रमणलाई थप तीव्र बनायो । खेल निर्धारित ९० मिनेटको समाप्तितर्फ अघि बढ्दै गर्दा ८८औँ मिनेटमा स्पेनका मिडफिल्डर मिकेल मेरिनोले गोल गर्दै टोलीलाई २–१ को नाटकीय अग्रता दिलाए ।

निर्धारित ९० मिनेटको खेल सकिएपछि रेफ्रीले ७ मिनेटको इन्जुरी समय थप गरेका थिए । थपिएको अतिरिक्त समयमा बेल्जियमले बराबरी गोल फर्काउनका लागि निकै ठुलो संघर्ष गरे पनि स्पेनको रक्षापङ्क्तिले उत्कृष्ट बचाउ गर्दै २–१ को रोमाञ्चक जित सुनिश्चित गर्‍यो । 

सन् २०१० मा पहिलो पटक विश्वकप उपाधि जितेयता स्पेन कुनै पनि विश्वकपको सेमिफाइनलमा पुग्न सकेको थिएन । त्यसपछिका संस्करणहरूमा लगातार असफलता व्यहोरेको स्पेनका लागि यो जित निकै ऐतिहासिक बनेको छ, जहाँ टोली १६ वर्षपछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । अर्कोतर्फ, बेल्जियमको विश्वकप यात्रा भने क्वार्टरफाइनलमै समाप्त भएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप