विपद् सम्बन्धी गुनासो र सूचनाका लागि नयाँ टोल फ्री नम्बर ‘१२३४’ सञ्चालनमा, सिधै जिल्लामै फोन जाने
सारांश
- सरकारले ७७ वटै जिल्लामा २४ सै घण्टा सञ्चालन हुने गरी विपद् कल सेन्टर सञ्चालनमा ल्याएको छ।
- नागरिकले विपद् सम्बन्धी सूचना, गुनासो वा सुझावका लागि टोल फ्री नम्बर १२३४ मा सम्पर्क गर्न सक्नेछन्।
- काठमाडौँ उपत्यकाका जिल्लाबाट १२३४ मा फोन गर्दा सिंहदरबारस्थित राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रबाट सम्बोधन हुनेछ भने अन्य जिल्लाबाट सम्बन्धित जिल्लाको केन्द्रमा फोन जानेछ।
काठमाडौँ। सरकारले देशका ७७ वटै जिल्लामा २४ सै घण्टा सञ्चालन हुने गरी विपद् कल सेन्टर सञ्चालनमा ल्याएको छ। मन्त्रिपरिषद्को २०८२ साल जेठ १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची अनुसार यो व्यवस्था गरिएको हो।
सरकारको समग्र कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही बनाउन तथा नागरिक जीवनमा प्रत्यक्ष सुधार ल्याउने ढाँचामा रूपान्तरण गर्न नतिजामा आधारित शासकीय प्रबन्ध (डेलिभरी-बेस्ड गभर्नेन्स) लागू गर्ने निर्णय बमोजिम ७७ वटै जिल्लाका आपत्कालीन कार्यसञ्चालन केन्द्रहरूमा कल सेन्टर स्थापना गरिएको गृह मन्त्रालयले जनाएको छ।
विपद् सम्बन्धी सूचना, समस्या, गुनासो र सुझावका लागि नागरिक तथा सेवाग्राहीले सम्पर्क गर्न सक्ने गरी यसअघि टोल फ्री नम्बर ‘११४९’ कार्यान्वयनमा रहेको थियो। केन्द्रिय स्तरबाट मात्र सम्बोधन हुने गरी उक्त नम्बर सञ्चालनमा रहँदा नागरिकले गर्ने फोनको सम्बोधन जिल्ला स्तरमै हुनुपर्ने आवश्यकता देखिएको थियो।
मन्त्रालयले साविकको विपद् टोल फ्री नम्बर ‘११४९’ लाई परिवर्तन गरी ‘१२३४’ मा रूपान्तरण गरेको छ। यो नयाँ नम्बर २०८३ साल असार २६ गतेदेखि सञ्चालनमा आएको छ। यसमा आउने फोनलाई जिल्ला स्तरमा राउटिङ हुने व्यवस्था मिलाइएको छ। जसअनुसार सम्पर्ककर्ता रहेको जिल्लाकै जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (डीईओसी) मा फोन जाने व्यवस्था मिलाइएको छ।
अब उप्रान्त काठमाडौँ उपत्यकाका जिल्लाहरू काठमाडौँ, ललितपुर र भक्तपुरबाट ‘१२३४’ मा फोन गर्दा सिंहदरबारस्थित राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र (एनईओसी) बाट सम्बोधन हुनेछ। बाँकी ७४ जिल्लाको हकमा सम्बन्धित जिल्लाकै जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (डीईओसी) बाट फोन सम्बोधन हुने व्यवस्था मिलाइएको गृह मन्त्रालयका प्रवक्ता एवं सह-सचिव आनन्द काफ्लेले जानकारी दिए।
गृह मन्त्रालयले विपद् सम्बन्धी नेपाल सरकारबाट जारी हुने एडभाइजरीको अनिवार्य पालना गर्न, सतर्क रहन र सुरक्षित हुन समेत अनुरोध गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य
-
मेरो हत्याको प्रयास गरिए इरानलाई ध्वस्त पारिदिन्छु : डोनाल्ड ट्रम्प
-
गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध
-
आत्मनिर्भर उद्योगदेखि खण्डहरसम्म : भृकुटी कागज कारखानाको चार दशकको यात्रा (तस्बिरहरू)
-
ग्वार्कोमा चोरी गर्न आएको आरोपमा निर्घात कुटपिट गरी हत्या
-
कतिपय मानिसलाई लामखुट्टेले किन धेरै टोक्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण