विश्वकपको खेल विवादमा अर्जेन्टिनी फुटबल संघको इमेल ह्याक
सारांश
- अर्जेन्टिनाको फुटबल संघ (एएफए) ले विश्वकपको खेलपछि आफ्नो आधिकारिक इमेल ह्याक भएको संकेत गरेको छ।
- ह्याक भएको इमेलबाट रेफ्रीको आलोचना गर्दै सन्देश पठाइएको थियो, जसमा अर्जेन्टिनाले जितेको होइन र यो नतिजा भ्रष्ट रेफ्रीको निर्णयका कारण आएको उल्लेख थियो।
- एएफएले सर्वसाधारणलाई अनधिकृत पहुँचको सम्भावनाबारे जानकारी गराउँदै अनौठा सन्देशहरूलाई बेवास्ता गर्न आग्रह गरेको छ।
न्युयोर्क । अर्जेन्टिनाको फुटबल संघ (एएफए) ले आफ्नो आधिकारिक इमेल खाता साइबर आक्रमण (ह्याक) को निसानामा परेको संकेत गरेको छ।
विश्वकपको अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध ३-२ को जित निकालेपछि एएफएको आधिकारिक इमेलबाट रेफ्रीको आलोचना गर्दै सन्देशहरू बाहिरिएपछि संघले यस्तो दाबी गरेको हो।
विश्व विजेता अर्जेन्टिना खेलमा २-० ले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै क्वार्टरफाइनलमा पुग्न सफल भएको थियो। हारपछि इजिप्टको फुटबल संघले फ्रान्सेली रेफ्री फ्रान्कोइस लेटेक्सियर र खेलका अन्य अधिकारीहरूमाथि अर्जेन्टिनाको पक्ष लिएको आरोप लगाउँदै उनीहरूलाई प्रतियोगिताबाटै हटाउन फिफासमक्ष माग गरेको छ।
यसैबिच, अर्जेन्टिनी समाचार माध्यम ‘ला काले’ का अनुसार खेलपछि एएफएको इमेल खाताबाट पत्रकारहरूलाई पठाइएका सन्देशमा ‘अर्जेन्टिनाले जितेको होइन’ र यो नतिजा ‘भ्रष्ट रेफ्रीको निर्णय’ का कारण आएको उल्लेख गरिएको थियो। उक्त सञ्चार माध्यमले एएफए स्रोतलाई उद्धृत गर्दै इजिप्टका ह्याकरहरूको समूहले इमेल ह्याक गरेर यस्तो सन्देश पठाएको र इजिप्टको प्रदर्शनको प्रशंसा गरेको जनाएको छ।
घटनाप्रति प्रतिक्रिया दिँदै एएफएले एक विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘हामी तपाईंहरूलाई जानकारी गराउन चाहन्छौँ कि हाम्रो एउटा संस्थागत खाताबाट केही इमेलहरू पठाइएको पाइएको छ, जुन हाम्रा कर्मचारीले तयार पारेका वा प्रमाणित गरेका होइनन्।’
एएफएले सर्वसाधारणलाई आफ्नो खाताबाट आएका अनौठा सन्देशहरू, विशेष गरी लिङ्क, अट्याचमेन्ट वा व्यक्तिगत विवरण मागिएका इमेलहरूलाई बेवास्ता गर्न आग्रह गरेको छ। संघले अगाडि थपेको छ, ‘हाम्रो खातामा अनधिकृत पहुँच पुर्याइएको सम्भावना छ। त्यसैले के भएको हो भन्नेबारे स्पष्ट हुन र आवश्यक सुरक्षा उपायहरू अपनाउन हामी काम गरिरहेका छौँ।’
एटलान्टामा भएको उक्त खेलमा यासेर इब्राहिम र मोस्ताफा जिकोले गोल गर्दै इजिप्टलाई २-० को अग्रता दिलाएका थिए। तर खेल सकिन ११ मिनेट बाँकी छँदा क्रिस्टियन रोमेरोले गोल गर्दै अन्तर कम गरे भने त्यसको पाँच मिनेटपछि लियोनेल मेस्सीले बराबरी गोल फर्काए। इन्जुरी समयको दोस्रो मिनेटमा एन्जो फर्नान्डेजले गोल गर्दै अर्जेन्टिनाको जित पक्का गरे। यो जितसँगै अर्जेन्टिनाले आइतबार स्विट्जरल्यान्डसँग अन्तिम आठको भिडन्त तय गरेको छ।
हारपछि इजिप्टका मुख्य प्रशिक्षक होसाम हसनले आफ्नो टोलीमाथि ‘अन्याय भएको’ बताएका छन्। हसनले भने, ‘सायद उनीहरू विश्व विजेतालाई प्रतियोगितामा टिकाइराख्न चाहन्थे। सायद उनीहरू मेस्सीलाई खेलमा राखिराख्न चाहन्थे। विश्व विजेताले हरेक स्तरमा समर्थन पायो। खेलको यो नतिजामा अर्जेन्टिनाको तर्फबाट दबाब सिर्जना गरिएको देखिन्छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्को आगो नबलोस्
-
मिसन– २०२६ का खेलाडी र प्रशिक्षकलाई खेल पोसाक वितरण
-
बालेन सरकारको कामप्रति ‘कमन जेन–जी नेपाल’ को असन्तुष्टि, आन्दोलनको चेतावनी
-
भोटर आईडी कार्ड विवादमा अभिनेता प्रकाश राजलाई अदालतबाट राहत
-
ठमेलले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको छ : मन्त्री श्रेष्ठ
-
डङ्की : सपनाको मूल्य र सीमाको सन्त्रास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण