पोखरामा ४० गाडीको प्रदूषण जाँच्दा १९ वटा फेल
सारांश
- पोखराको न्युरोडमा गरिएको प्रदूषण जाँचमा ४० वटा सवारी साधनमध्ये १९ वटा फेल भएका छन् ।
- यातायात व्यवस्था कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त टोलीले अत्यधिक धुवाँ फाल्ने गुनासोपछि यो जाँच गरेको हो ।
- प्रदूषण जाँचमा फेल भएका गाडीहरूलाई जरिवाना नगरिए पनि मर्मत गरेर पुनः परीक्षण नहुन्जेलसम्मका लागि कागजात नियन्त्रणमा लिइएको छ ।
पोखरा । पोखरामा गुड्ने सवारी साधनमा गरिएको प्रदूषण जाँचमा अत्यधिक संख्यामा गाडी फेल भएका छन् । पोखराको न्युरोडमा शनिबार गरिएको आकस्मिक प्रदूषण परीक्षणमा ४० वटा जाँच गरिएकोमा १९ वटाको मापदण्ड फेल भएको हो ।
अत्यधिक धुवाँ फाल्ने गरेको गुनासोपछि छड्के रूपमा जाँच गरिएको हो । ‘धेरै नै गुनासो आएपछि हामीले पनि परीक्षणका लागि आग्रह गर्यौँ । मेसिन रहेछ, अहिले मेसिन आएर जाँच गर्न थालिएको हो,’ कास्की ट्राफिक प्रहरीका प्रमुख इन्स्पेक्टर सुजित कुमार देवकोटाले भने, ‘अब नियमित जाँच गर्ने र गलत भेटिए कारबाही तुरुन्तै हुनुपर्छ भन्ने मान्यता हाम्रो पनि हो ।’
यातायात व्यवस्था कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त टोलीले प्रदूषण जाँच गरेका हुन् । नगर क्षेत्रभित्र चल्ने बसहरूले धुवाँको मुस्लो फाल्ने गरेको गुनासो सामाजिक सञ्जालबाट पनि धेरै नै हुने गरेको थियो । सबै सवारीलाई मर्मत गर्नका लागि सचेत गराइएको यातायात व्यवस्था कार्यालय कास्कीले जनाएको छ ।
कार्यालयका अनुसार सवारी प्रदूषण मापन गर्ने मेसिन जेनजी आन्दोलनमा जलेपछि नापजाँच रोकिएको थियो । १५ दिनअघि मात्रै मेसिन ल्याइएको कार्यालय प्रमुख ढाका प्रसाद शर्माले जानकारी दिए ।
प्रदूषण मापनमा फेल भएपनि गाडीहरूलाई जरिवाना भने गरिएको छैन । ‘कार्यालयका तर्फबाट नियमित रूपमा परीक्षण गर्न नसकिएको अवस्थामा एकै पटक जरिवाना गर्दा सर्वसाधारणमा नकारात्मक सन्देश जाने भएकाले हामीले हिजो कसैलाई जरिवाना गरेनौँ,’ उनले भने, ‘तर, मर्मत गरेर पुनः परीक्षणमा उत्तीर्ण नहुन्जेलका लागि उहाँहरूको कागजात भने नियन्त्रणमा लिएका छौँ ।’
सवारी चालक तथा व्यवसायीहरूले इन्धनको कमजोरीका कारण प्रदूषण बढेको दाबी गरेपनि कार्यालयले भने यसको मुख्य कारण नियमित मर्मत सम्भारको अभाव रहेको बताएको छ । नियमित मर्मत गरिएका पुराना गाडीहरू उत्तीर्ण भएको र मर्मत नगरिएका नयाँ मोडलका गाडीहरू समेत परीक्षणमा असफल भएकाले समस्या इन्धनमा नभई सवारीको अवस्थामा रहेको शर्माले सुनाए ।
‘तेल त मापदण्डमा रहेर बेच्ने हो । त्यसमा खराबी छ भनेर हामीले भन्न सक्दैनौँ,’ उनले थपे, ‘नियमित मर्मत गर्नेहरूको पुरानो गाडी पनि परीक्षणमा उत्तीर्ण भएको छ । नियमित सर्भिसिङ नगर्नेहरूको नयाँ गाडी पनि फेल भएको छ ।’
अब नियमित रूपमा ठाउँठाउँमा चेकजाँच गरिने उनले सुनाए । कार्यालयमा भने दैनिक प्रदूषण मापनको काम भैरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानद्वारा होर्मुज जलमार्ग बन्द भएको घोषणा, अमेरिका भन्छ, ‘खुला छ’
-
बैंककको बारमा आगलागी : २७ जनाको मृत्यु, ६० भन्दा बढी घाइते
-
लुम्बिनीमा धान रोपाइँ ५९.९४ प्रतिशत
-
ढिलासुस्तीले खोटाङका दुई सडक कालोपत्रे योजना अधुरै
-
इटहरी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा कटुवाल विजयी
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण