इंग्ल्यान्डलाई हराएपछि अर्जेन्टिनी खेलाडीले प्रदर्शन गरे फकल्याण्ड्स दाबी गर्ने ब्यानर
सारांश
- विश्वकपको सेमिफाइनलमा इंग्ल्यान्डलाई हराएपछि अर्जेन्टिनी खेलाडीले 'माल्भिनास अर्जेन्टिनाकै हो' लेखिएको ब्यानर प्रदर्शन गरेका छन् ।
- यो सन्देश १९८२ को फकल्यान्ड्स (माल्भिनास) द्वीपसमूहसम्बन्धी युद्धसँग जोडिएको राजनीतिक विवादलाई संकेत गर्दछ ।
- अर्जेन्टिनाका खेलाडीले माल्भिनासका वीरहरूको सम्झनामा गीत गाएको र डे पाउलले यो फुटबल प्रतियोगिता भएको र माल्भिनासको विषय अर्को मञ्चमा छलफल हुनुपर्ने बताएका छन् ।
विश्वकपको साबिक विजेता अर्जेन्टिनाका खेलाडीहरूले इंग्ल्यान्डमाथिको सेमिफाइनल जितपछि ‘लास माल्भिनास सन अर्जेन्टिनाज’ अर्थात् (माल्भिनास अर्जेन्टिनाकै हो) लेखिएको ब्यानर प्रदर्शन गरेका छन् । उक्त सन्देश सन् १९८२ को फकल्यान्ड्स (अर्जेन्टिनामा माल्भिनास भनिने) द्वीपसमूहसम्बन्धी युद्धसँग जोडिएको राजनीतिक विवादलाई संकेत गर्ने खालको हो ।
अटलान्टामा भएको सेमिफाइनलमा अर्जेन्टिना खेल सकिन पाँच मिनेट बाँकी रहँदा १–० ले पछि परेको थियो । तर टोलीले अन्तिम समयमा लगातार दुई गोल गर्दै २–१ को रोमाञ्चक जित निकाल्यो र लगातार दोस्रो पटक विश्वकप फाइनलमा स्थान सुरक्षित गर्यो । अब अर्जेन्टिनाले आइतबार न्यु जर्सीमा स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
ब्यानरमा उल्लेख गरिएको माल्भिनास÷फकल्यान्ड्स द्वीपसमूह लामो समयदेखि अर्जेन्टिना र बेलायतबीच विवादको विषय रहँदै आएको छ । बेलायतले यसलाई फकल्यान्ड्स आइल्याण्ड्स भने पनि अर्जेन्टिनाले इस्लास माल्भिनास भन्ने गरेको छ । यही विवादका कारण ४४ वर्षअघि ७४ दिनसम्म चलेको युद्धमा ९०० भन्दा बढी मानिसको ज्यान गएको थियो, जसमा ६४९ अर्जेन्टिनी र २५५ बेलायती नागरिक तथा सैनिक थिए ।
अर्जेन्टिनाका डिफेन्डर लिसान्ड्रो मार्टिनेज र मिडफिल्डर जियोभानी लो सेल्सोले मुस्कुराउँदै उक्त ब्यानर समातेका थिए र रंगशालामा रहेका समर्थकतर्फ देखाएका थिए । उक्त ब्यानर उनीहरूसम्म कसरी पुग्यो भन्ने स्पष्ट भएको छैन ।
विश्वकपमा राजनीतिक सन्देश देखिएको यो पहिलो घटना भने होइन । गत महिना लस एन्जलसमा इरानको खेलका क्रममा इरानी–अमेरिकी समर्थकहरूले तेहरान सरकारविरुद्धको विरोधको प्रतीक मानिने क्रान्तिपूर्वको इरानी झण्डा प्रदर्शन गरेका थिए । यद्यपि ती खेलहरू कुनै अवाञ्छित घटनाबिना सम्पन्न भएका थिए ।
स्विट्जरल्यान्डलाई क्वार्टरफाइनलमा हराएर इंग्ल्यान्डसँगको भेट पक्का गरेपछि केही अर्जेन्टिनी खेलाडीहरूले ‘माल्भिनासका लागि, डिएगो (म्याराडोना) का लागि र लियो (मेस्सी) को अन्तिम विश्वकपका लागि’ भन्दै गीत गाएको आवाज पनि सुनिएको थियो ।
अर्जेन्टिनाका मिडफिल्डर रोड्रिगो डे पाउलले भने, ‘हामी बुझ्छौं कि यो केवल फुटबल खेल मात्र होइन, यसले धेरै सम्झनाहरू पनि ताजा गराउँछ । हामी माल्भिनासका वीरहरूको सम्झनामा गीत गाउँछौं । तर हामीले यो पनि बुझ्नुपर्छ कि यो फुटबल प्रतियोगिता हो, माल्भिनासको विषय अर्को मञ्चमा छलफल हुनुपर्छ । त्यहाँ जे भयो त्यो दुःखद घटना थियो र हामी सधैं ज्यान गुमाउनेहरूलाई सम्झन्छौँ । तर हाम्रो उद्देश्य यो खेल जितेर फाइनलमा पुग्नु थियो ।’
फिफाको रंगशाला आचारसंहिताले राजनीतिक, आपत्तिजनक वा विभेदपूर्ण प्रकृतिका ब्यानर, झण्डा, पर्चा, पोसाक वा अन्य सामग्री रंगशालाभित्र प्रदर्शन गर्न निषेध गरेको छ । यस घटनाबारे प्रतिक्रिया मागिए पनि फिफाले तत्काल कुनै टिप्पणी गरेको छैन ।
उता अर्जेन्टिनाकी सुरक्षा मन्त्री आलेहान्द्रा मोन्टेओलिभाले मंगलबार अमेरिकामा सुरक्षा व्यवस्थाबारे विशेष छलफल भएको जानकारी दिँदै फाइनलका लागि १,६०० सुरक्षाकर्मी परिचालन गरिने बताइन् ।
उनले स्थानीय रेडियोसँग भनिन्, ‘हामी उत्सव शान्तिपूर्ण होस् भन्ने चाहन्छौँ । राजनीतिक वा जातीय प्रकृतिका कुनै पनि उत्तेजक सन्देश भएका सामग्री रंगशालाभित्र लैजान निषेध गरिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण