शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सेयर लगानीकर्तालाई अर्थमन्त्री सचिवालयको अपिल : अफवाहको पछि नलाग्नुस्

शुक्रबार, ०१ साउन २०८३, ११ : ४८
शुक्रबार, ०१ साउन २०८३

सारांश

  • नयाँ आर्थिक वर्षको सुरुवातसँगै सेयर बजारमा पुँजीगत लाभकर बढेको छ ।
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयले लगानीकर्तालाई बजारमा चलाइएका भ्रामक हल्ला र अफवाहको पछि नलाग्न आग्रह गरेको छ ।
  • सचिवालयले अर्थतन्त्रका सूचकहरू राम्रा र तीव्र सुधारोन्मुख रहेको दाबी गर्दै लगानीमैत्री वातावरण बनेको जिकिर गरेको छ ।

काठमाडौँ । नयाँ आर्थिक वर्ष २०८३/८४ को सुरुवातसँगै आजदेखि सेयर बजारमा पुँजीगत लाभकर बढेको छ । निरन्तर घट्दै गएको सेयर बजारमा कर बढेको अवस्थामा निराशा र आक्रोश बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको सचिवालयले लगानीकर्तालाई आश्वस्त पार्ने प्रयास गरेको छ ।

सेयर बजारका लगानीकर्तालाई सम्बोधन गर्दै सचिवालयले बजारमा चलाइएका भ्रामक हल्ला र अफवाहको पछि नलाग्न आग्रह गरेको छ । सरकार बनेयता सेयर बजार नकारात्मक बनेको र सम्पत्तिको आकार घट्दा लगानीकर्तामा देखिएको आक्रोशलाई सरकारले स्वाभाविक रूपमा लिएको विज्ञप्तिमा उल्लेख छ ।

सचिवालयले अर्थतन्त्रका सूचकहरू राम्रा र तीव्र सुधारोन्मुख रहेको दाबी गरेको छ । प्रशस्त तरलता, घटेको ब्याजदर, ठूलो आम्दानी हुनेलाई आयकर छुट र राजस्व विवादमा परेकालाई ऐतिहासिक छुट सुविधामार्फत सरकारले लगानीमैत्री वातावरण बनाएको जिकिर समेत गरेको छ ।

विज्ञप्तिमा सेयर बजारमा नियमनकारी निकाय कब्जा गरेर सन् १९९१ मा बम्बै स्टक एक्सचेन्जमा हर्षद मेहताले जस्तै वितण्डा मच्चाउनेहरू अहिले अनुसन्धानको फन्दामा परेको बनाइएको छ ।

‘ठिकलाई बेठिक छ भन्ने भाष्य निर्माण गरेर गलत गरिरहेकाहरू असामान्य अवस्था सिर्जना गर्न लागिपरेका छन् । फलानो र ढिस्कानोलाई पक्राउ गरिँदैछ भन्ने जस्ता प्रायोजित हल्ला फैलाइएको छ, तर सरकारले त्यसरी काम गरिरहेको छैन । तपाईँहरू ढुक्क हुनुस्,’ विज्ञप्तिमा भनिएको छ । 

क्लब हाउस, ह्वाट्सएप ग्रुप, म्यासेन्जर ग्रुप, टाई–सुट लगाएका झिल्के सङ्घका नेता र इमानदारी बेचेका मिडियाहरू आधिकारिक सूचनाका स्रोत नभएको भन्दै उनीहरूको भ्रममा नपर्न लगानीकर्तालाई सचेत हुन आग्रह समेत गरेको छ ।

स्थिर सरकार, विज्ञ अर्थमन्त्री र नियमनकारी निकायमा इमानदार एवं पारदर्शी व्यक्तिहरूको चयनले बजार सुधारको योजनाबद्ध काम अघि बढेको भन्दै सरकारले लगानीकर्तालाई अफवाहको पछि नलागी प्रशस्त अध्ययन गरेर मात्र दोस्रो बजारमा लगानी गर्न अर्थमन्त्रीको सचिवालयको आग्रह छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप