संसारकै सबैभन्दा जटिल घडी, १० मिलियन डलरभन्दा बढी मूल्य पर्ने अनुमान
सारांश
- विश्वकै सबैभन्दा जटिल घडीमा ६३ वटा अतिरिक्त सुविधाहरू रहेका छन् ।
- १८ क्यारेट सेतो सुनको कभरमा सजाइएको बर्कले ग्रान्ड कम्प्लिकेसन घडीमा २,८७० वटा मेकानिकल पार्टपुर्जाहरू जोडिएका छन् ।
- यस घडीको मूल्य १० मिलियन डलरभन्दा बढी पर्ने अनुमान गरिएको छ ।
जुरिच । घडी निर्माणको इतिहासमा ‘कम्प्लिकेसन’ भन्नाले समय देखाउने बाहेकका अन्य अतिरिक्त सुविधाहरूलाई बुझाउँछ । कतिपय घडीहरूमा मिति देखाउने प्रणाली, अलार्म वा स्टपवाच जस्ता अतिरिक्त सुविधाहरू जडान गरिएका हुन्छन् ।
हाल विश्वकै सबैभन्दा जटिल घडीमा ६३ वटा फरक-फरक यस्ता अतिरिक्त सुविधाहरू रहेका छन्, जसलाई घडी निर्माणको क्षेत्रमा एउटा अद्भुत चमत्कार मानिन्छ ।
सन् २०१५ मा स्विट्जरल्यान्डको प्रतिष्ठित घडी उत्पादक कम्पनी भ्याचेरोन कन्सटान्टिनका कालिगढहरूले ‘रेफरेन्स ५७२६०’ नामको एउटा अनौठो गोजी घडी सार्वजनिक गरे । यो घडी एक जना अज्ञात निजी सङ्कलकको विशेष मागअनुसार तयार पारिएको थियो, जसमा हिब्रू पात्रो र एकैसाथ धेरै घटनाहरूको समय रेकर्ड गर्न मिल्ने विशेष क्रोनोग्राफ जस्ता मागहरू राखिएका थिए । यो घडी बनाउन आठ वर्ष लागेको थियो र यही घडी पछि गएर अझ जटिल घडी ‘बर्कले ग्रान्ड कम्प्लिकेसन’ को आधार बन्यो ।
करिब २ इन्च व्यास भएको र १८ क्यारेटको सेतो सुन (ह्वाइट गोल्ड) को कभरमा सजाइएको बर्कले ग्रान्ड कम्प्लिकेसन घडीको तौल २ पाउन्ड (९६० ग्राम) छ । यसअघि विश्वकै सबैभन्दा जटिल मानिएको पाटेक फिलिपको ‘क्यालिबर ८९’ मा ३३ वटा कम्पलिकेसन थिए । तर बर्कले ग्रान्ड कम्प्लिकेसनमा त्योभन्दा लगभग दोब्बर संख्यामा अतिरिक्त सुविधाहरू रहेका छन् ।
- आठ वर्षको मिहिनेत र आधा काम सकिएपछि पत्ता लागेको रहस्य
यस ऐतिहासिक परियोजनाका विषयमा एटलियर क्याबिनोटियर्स विभागका प्रमुख डोमिनिक बर्नाजले फोर्ब्ससँग कुरा गर्दै भने, ‘यसअघिको सबैभन्दा जटिल घडीमा ३३ कम्पिलकेसन भएकाले हामीले ३६ वटाको लक्ष्य राखेका थियौँ ।’
उनले अगाडि थपे, ‘हामीले सँगै काम गर्ने क्रममा मैले टोलीलाई यो गर्न सक्छौँ भनी सोध्दा उनीहरू हाँस्दै टाउको हल्लाउँथे ।’
परियोजना निरन्तर विकसित भइरहेकाले आधा काम सकिएपछि मात्र यसमा कति कम्पिलकेसन हुन्छन् भन्ने आफूहरूलाई थाहा भएको उनले बताए । उनका अनुसार हरेक कम्पिलकेसन आफैँमा विशेष उपलब्धि भए पनि ती सबैलाई एउटै घडीमा समायोजन गर्नु नै सबैभन्दा ठूलो चुनौती थियो ।

- फुटबल जत्रो आकार हुनुपर्ने घडीलाई गोजीमा अटाउँदा
सैद्धान्तिक रूपमा धेरै घडी निर्माताहरूले योभन्दा दोब्बर कम्पिलकेसन भएको घडी बनाउन त सक्लान्, तर त्यसको आकार फुटबल जत्रो हुन सक्छ । यस घडीको विशेषता के हो भने एटलियर क्याबिनोटियर्सका कालिगढहरूले ६३ वटै सुविधाहरूलाई अत्यन्तै सानो कभरभित्र अटाएका छन् र तिनलाई बाहिर सहजै देखिने गरी व्यवस्थापन पनि गरेका छन् । दुवैतर्फबाट हेर्न मिल्ने यो गोजी घडीभित्र २,८७० वटा साना मेकानिकल पार्टपुर्जाहरू जोडिएका छन् ।
विश्वकै सबैभन्दा जटिल मानिएको यस घडीको मूल्य आधिकारिक रूपमा गोप्य राखिए पनि विशेषज्ञहरूले यसको मूल्य १० मिलियन डलर (करिब १ अर्ब ३० करोड रुपैयाँभन्दा बढी) भन्दा बढी पर्ने अनुमान गरेका छन् । एक मात्र विशिष्ट सङ्कलनयोग्य वस्तु भएकाले समयसँगै यसको मूल्य अझ बढ्ने अपेक्षा गरिएको छ ।
स्वस घडी निर्माताहरू सयौँ वर्षदेखि एकअर्कालाई उछिन्न प्रतिस्पर्धा गरिरहेकाले भविष्यमा योभन्दा पनि जटिल घडी बन्न सक्ने सम्भावना छ । तर हालका लागि भने भ्याचेरोन कन्सटान्टिनले आफ्नो पुरानो डिजाइनमा लगातार सुधार गर्दै यस क्षेत्रमा आफ्नो बलियो पकड कायम राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भौतिक पूर्वाधारमन्त्री लम्साल कर्णाली राजमार्ग र करिडोरको अनुगमनमा
-
करिब एक महिना बन्दपछि खुलेको चिडियाखानामा चहलपहल, तस्बिरमा हेर्नुहोस्
-
सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण