शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

शुक्रबार, ०१ साउन २०८३, १४ : ४२
शुक्रबार, ०१ साउन २०८३

चितवन ।  जिल्लाका विभिन्न अस्पतालमा आएका बिरामीमध्ये ८९३ जनामा स्क्रब टाइफस सङ्क्रमण देखिएको छ । गत आर्थिक वर्षमा जिल्लाका अस्पतालमा आएका बिरामीमध्ये ११ हजार ४१९ जनाको परीक्षणका क्रममा उनीहरुमा स्क्रब टाइफसको सङ्क्रमण देखिएको हो ।

जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार सङ्क्रमितमध्ये ६२१ जना चितवनका रहेका छन् । जिल्लामा भेटिएका सङ्क्रमितमध्ये रत्ननगर नगरपालिकाका २४६ जना, खैरहनी नगरपालिका ११७ जना, भरतपुर महानगरपालिकाका ९० जनामा यो रोगको सङ्क्रमण देखिएको हो ।

यस्तै, राप्ती नगरपालिकाका ८२ जना, कालिका नगरपालिकाका ६९ जना, माडी नगरपालिकाका सात जना र इच्छाकामना गाउँपालिकाका १० जनामा यो रोगको सङ्क्रमण देखिएको केसीले बताए । 

आव २०८१/८२ मा सात हजार ९५ जनाको परीक्षण गर्दा एक हजार ५५ जनामा यो रोगको सङ्क्रमण देखिएको थियो । चालु आवमा उक्त रोगको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको थियो ।

स्क्रब टाइफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्दछ । स्क्रब टाइफसमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुनु, खोकी, वान्ता, पेट दुखाइ र पखालाले सताउनु, श्वास फेर्न समस्या हुनु धेरै टाउको दुख्नु जोर्नी र मांसपेशी दुख्नु, बिमिरा देखिनु, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने गर्दछ ।

यस रोगबाट बच्न खेत, झाडी वा वनजङ्गलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने र शरीरको खुला भागमा कीटनाशक मलमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमको अन्न भण्डारण गर्नुपर्ने केसीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप