सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
‘सिन्धुलीगढी घुमेर हेर्दा सुन्तलीमै
कत्तिमा राम्रो दरबार मार्यो नि मायाले मार्यो...’
यो सिन्धुली जिल्लालाई देश–विदेशमा चिनाउने लोकगायक कृष्णविक्रम थापाले वि.सं. २०३६ मा रेडियो नेपालमा गाएको चर्चित गीत हो। एक हप्ताअघि सिन्धुलीगढीको किल्ला र त्यहाँ नवनिर्मित युद्ध सङ्ग्रहालयको भ्रमण तथा अवलोकनमा गएका बेला त्यहाँस्थित सुरक्षा गार्डको मोबाइलमा पनि यही गीत बजिरहेको थियो।
गीतको सुरसँगै सिन्धुलीगढीमा निर्मित रानी दरबारको पनि अवलोकन गर्न मन लाग्यो। केही वर्षपहिला खण्डहर अवस्थामा रहेको रानी दरबार अहिले त चिटिक्क बेहुलीजस्तै सिँगारिएको रहेछ।
बागमती प्रदेश सरकार, स्थानीय सरकार र नेपाली सेनाको सहयोगमा सिन्धुलीगढी क्षेत्रको पुनर्निर्माण भएसँगै अहिले बिपी राजमार्ग हुँदै पूर्वी नेपालको यात्रा गर्ने अधिकांश आन्तरिक तथा बाह्य पर्यटक ऐतिहासिक सिन्धुलीगढीको अवलोकन गर्न जाने गरेको सुन्दा गर्वले छाती चौडा भयो।
अहिले सिन्धुलीगढीमा स्वर्गीय गायक कृष्णविक्रम थापाको पूर्ण कदको सालिक पनि निर्माण भएको रहेछ। बिपी राजमार्ग निर्माण हुनुपूर्व हामी जिल्ला सदरमुकाम सिन्धुलीमाढीबाट पुर्ख्यौली घर जलकन्या चपौली ओहोरदोहोर गर्दा ऐतिहासिक गढी हुँदै हिँड्थ्यौँ। वनमा फुलेका लालीगुराँस, ऐँसेलु र काफल खाएको पनि अहिले यहाँ आएपछि स्मरण भयो।

गीतको माध्यमबाट जिल्लालाई देश–विदेशमा चिनाउन सफल सिन्धुलीका लोकगायक स्वर्गीय कृष्णविक्रम थापालाई ढिलै भए पनि कमलामाई नगरपालिकाले सालिक बनाएर सम्मान गरेकोमा नगरपालिकालाई धन्यवाद दिनैपर्छ। स्वर्गीय गायक थापाको सालिक बनाउन यहाँका बुद्धिजीवी र नागरिक समाजले पटकपटक सुझाव दिएका थिए। कमलामाई नगरपालिकाका तत्कालीन प्रमुख खड्गबहादुर खत्रीले थापाको सालिक बनाउने वाचा पूरा गर्न पाँच वर्ष लागेछ।
कमलामाई नगरपालिकाले थापाको पूर्ण कदको सालिक बनाउन ठेक्काको सूचना प्रकाशित गरेपछि अनुमानित १२ लाख ५० हजार रुपैयाँ लागतमा उक्त सालिक बनेको वडा नं. ३ का अध्यक्ष खड्गप्रसाद चौलागाईं बताउँछन्।
सिन्धुली जिल्लाको तत्कालीन रतनचुरा गाविस (हाल गोलन्जोर गाउँपालिका) मा जन्मिनुभएका लोकगायक कृष्णविक्रमको निधन भने काठमाडौँमा आजभन्दा करिब १५ वर्षअघि वीर अस्पतालमा उपचारका क्रममा भएको थियो। जीवनको पछिल्लो समयमा उनी झाडापखालाबाट पीडित थिए। थापा जन्मेको रतनचुरा तत्कालीन समयमा सिन्धुली जिल्लाको विकट गाउँ भनेर चिनिन्थ्यो। जिल्लाकै पिछडिएको ठाउँमा जन्मेर पनि थापाले लोकगीतको माध्यमबाट सिन्धुलीलाई चिनाउन कुनै कसर बाँकी राखेनन्। यो कुरा स्थानीयहरू अहिले पनि सगर्व सुनाउँछन्।
स्वर्गीय गायक थापाले गाएको ‘सुन्तलीमै’ गीतको माध्यमबाट सिन्धुली जिल्ला र ऐतिहासिक सिन्धुलीगढीलाई नेपाल र विश्वभर चिनाउन सहयोग पुगेको कुरा धेरैलाई थाहै छ। उनले ‘तोरी लाहुरे’, ‘खैँजडी भजन’, ‘नेपाल रिमझिम’ जस्ता थुप्रै चर्चित साङ्गीतिक एल्बमहरू पनि बजारमा ल्याएका थिए। जानकारहरूका अनुसार जिल्लालाई सबैसामु चिनाउन अतुलनीय योगदान गरेका थापाको जीवन भने सादगीमै बित्यो।
सिन्धुलीलाई मात्रै होइन, नेपाली लोकगीतलाई समेत उकास्न थापाले गरेको योगदान स्मरणयोग्य छ। सिन्धुलीगढीमा स्वर्गीय थापाको पूर्ण कदको सालिक बनेपछि ‘सुन्तलीमै’ र कृष्णविक्रम थापालाई स्थानीयले सधैँभरि सम्झिरहनेछन्।

नेपाल एकीकरणको समयमा काठमाडौँका तत्कालीन राजा जयप्रकाश मल्लको सहयोगार्थ गोर्खाली फौजमाथि हमला गर्न इस्ट इन्डिया कम्पनीका कप्तान किनलकको नेतृत्वमा २४०० बन्दुकधारी अङ्ग्रेज फौज आएको थियो। पटना–जनकपुर–सिन्धुली हुँदै काठमाडौँ जाने क्रममा वि.सं. १८२४ आश्विन १५ गते उनीहरूमाथि सिकारी वंशु गुरुङ र काजी श्रीहर्ष पन्त नेतृत्वको फौजले सिन्धुलीको सदरमुकाम ढुङ्ग्रेबासतर्फबाट तथा काजी वंशराज पाण्डे र खजान्ची वीरभद्र उपाध्याय नेतृत्वको फौजले पौवागढीतर्फबाट चेपुवामा पारी आक्रमण गरेका थिए।
उक्त लडाइँमा कालीबक्स, श्रीनाथ, गोरख कम्पनी (हाल पुरानो गोरख गण) का वीर गोर्खाली सेनाले खुकुरी, खुँडा, धनु, घुँयेत्रो, सिस्नो, अरिङ्गालजस्ता हतियार तथा प्राकृतिक चिजबिजको प्रयोग गरेका थिए। २४०० मध्ये १६०० अङ्ग्रेज फौज हताहत भएको उक्त युद्धमा गोर्खाली फौजले करिब ४०० देखि ५०० वटा बन्दुक र केही तोपसमेत हात पार्न सफल भएको थियो।
गोर्खाली फौजले अङ्ग्रेज फौजलाई पराजित गरेको सिन्धुलीगढी लडाइँका बारेमा धेरै कलाकारहरूले गीतसङ्गीत सिर्जना गरेका छन्।
ऐतिहासिक सिन्धुलीगढी अहिले देशकै प्रमुख भ्रमणस्थलहरूको सूचीमा छ। यहाँ शैक्षिक भ्रमण, वनभोज, शोध तथा अनुसन्धान गर्न एवं प्राकृतिक दृश्य अवलोकन गर्न आउनेहरूको भिड नै लाग्ने गरेको छ। यहाँबाट हिउँदयाममा दोलखा जिल्लाको गौरीशङ्कर हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ भने वर्षाको समयमा भुइँकुहिरोले यस क्षेत्रलाई ढपक्कै ढाक्ने गर्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण