बाजुरामा पहिरोको जोखिम बढ्यो : १६ घरधुरी प्रभावित, ३ उच्च जोखिममा
सारांश
- अविरल वर्षाले बाजुराको बडिमालिका नगरपालिका-९ सेलागाडमा नदी थुनिँदा १६ घरधुरी प्रभावित भएका छन्।
- उच्च जोखिममा रहेका ३ घरमा २२ जना र जोखिममा रहेका १३ घरमा ८३ जना बसोबास गरिरहेका छन्।
- बाढी-पहिरोको जोखिम रहेका बस्तीमा प्रहरीले जनचेतना कार्यक्रम सञ्चालन गरी सतर्क रहन आग्रह गरेको छ।
धनगढी । अविरल वर्षासँगै बाजुरामा बाढी–पहिरोका घटना बढ्न थालेका छन्। बडिमालिका नगरपालिका–९ सेलागाडमा नदी थुनिएर बस्तीमा पानी पसेपछि १६ घरधुरी प्रभावित भएका छन् भने जिल्लाका विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक नरेश शाहीका अनुसार शुक्रबार बिहान करिब ४ः३५ बजे सेलागाड क्षेत्रमा वर्षाका कारण माथिबाट आएको बाढी–पहिरोले बस्तीमा पानी पसेको थियो। सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको टोली घटनास्थल पुगेको थियो।
प्रहरीका अनुसार बिहान ५ः३० बजेसम्म प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारिनुका साथै घरभित्र रहेका लत्ताकपडा, भाँडाकुँडा, अन्नपात तथा अन्य सरसामान सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।
प्रभावित १६ घरधुरीमध्ये ३ घरधुरी उच्च जोखिममा रहेका छन् भने १३ घरधुरी जोखिममा छन्। उच्च जोखिममा रहेका तीन घरमा २२ जना बसोबास गर्दै आएका छन्। जोखिममा रहेका अन्य १३ घरधुरीमा ८३ जना सदस्य रहेका प्रहरीले जनाएको छ।
घटनाका क्रममा स्थानीय प्रेम थापाकी ३० वर्षीय श्रीमती आत्तिएर बेहोस भएकी थिइन्। उनलाई तत्काल प्रहरी टोलीले जिल्ला अस्पताल बाजुरा पुर्याएर उपचार गराएको थियो। उपचारपछि उनी डिस्चार्ज भइसकेकी छन्। घटनामा अन्य कुनै मानवीय वा चौपायाको क्षति भएको छैन।
सूचना अधिकारी प्रहरी निरीक्षक नरेश शाहीका अनुसार घरहरू प्रत्यक्ष रूपमा पहिरोले बगाउने अवस्था भने नरहेको बताए। उनका अनुसार नदी थुनिएर पानी बस्तीमा पसेका कारण क्षति भएको हो। अहिले प्रभावित परिवारका सरसामान सुरक्षित स्थानमा सारिएको छ भने तीन घर उच्च जोखिममा रहेकाले निरन्तर निगरानी भइरहेको छ।
यही पहिरोका कारण बडिमालिका नगरपालिका–८ राप्कास्थित टोट्के सिँचाइ नहरमा पनि क्षति पुगेको छ। करिब २३० मिटर प्लास्टिक पाइप र २५ मिटर पक्की नहर बगाएको प्रहरीले जनाएको छ।
यता, बिहान करिब ५ः३५ बजे साँफेबगर–मार्तडी सडकखण्ड अन्तर्गत बडिमालिका नगरपालिका–६ जडाङ्गा क्षेत्रमा माथिबाट पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो। प्रहरी निरीक्षक सागर शमशेर जबराको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर सडक डिभिजन कार्यालयको जेसीबीको सहयोगमा पहिरो पन्छाउने काम सुरु गरेको थियो। प्रहरीले मार्तडीसम्मको सडक क्रमशः खुलाउँदै लगिएको र सवारी साधन लामो समय जाममा नपरेको जनाएको छ।
प्रहरीका अनुसार मनसुन सक्रिय भएसँगै बाजुराका विभिन्न सडकमा दैनिकजसो पहिरो खस्ने क्रम जारी छ। विशेष गरी मार्तडी–साँफेबगर सडकखण्डका चारदेखि पाँच स्थानमा पहिरो खस्ने गरेको छ। जोखिम भएका स्थानमा प्रहरी परिचालन गरी सडक खुलाउने, आवश्यक परे सवारी आवागमन केही समय रोक्ने तथा सुरक्षित भएपछि मात्रै सञ्चालन गर्न दिने व्यवस्था गरिएको छ।
प्रहरीले बाढी–पहिरोको उच्च जोखिम रहेका बस्तीहरूमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै नागरिकलाई सुरक्षित स्थानमा बस्न, जोखिमपूर्ण क्षेत्रमा नजान र विपद्का बेला सतर्क रहन आग्रह गरेको छ।
रातभर लगातार वर्षा भए पनि शुक्रबार बिहानदेखि मौसममा केही सुधार देखिएको छ। थप वर्षा हुन सक्ने सम्भावना रहेकाले नदी आसपास र पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सतर्कता अपनाउन स्थानीयलाई अनुरोध गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण