विदेशीलाई खुसी पार्न गलत कुरा स्वीकार गर्ने प्रवृत्ति रोकौँ : पूर्वप्रधानमन्त्री नेपाल
सारांश
- पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वामपन्थी दलहरू मुलुकको राजनीतिमा देखिएका विकृति विसङ्गतिबाट अछुतो रहन नसकेको बताएका छन्।
- उनले शासन सत्तामा पुगेपछि विदेशी शक्तिसामु झुक्ने वामपन्थी दलहरूको नीति अनुपयुक्त रहेको र विदेशीलाई खुसी पार्न राष्ट्रहित विपरीतका विषय स्वीकार गरिएको टिप्पणी गरे।
- नेपालले वामपन्थीहरूले विगतको भूमिकाको आत्मसमीक्षा गरी नीति, गतिविधि, व्यवहार र जनसम्पर्कका कमजोरीहरू सच्याएर अघि बढ्नुपर्नेमा जोड दिए।
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले मुलुकको राजनीतिमा देखिएका विकृति विसङ्गतिबाट वामपन्थी दलहरू समेत अछुतो रहन नसकेको बताएका छन्।
शुक्रबार पुष्पलाल स्मृति दिवसको सन्दर्भमा काठमाडौँमा आयोजित ‘वर्तमान राजनैतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन्। वामपन्थी शक्तिहरूले आफ्नै विगतको भूमिका, नीति र व्यवहारको गम्भीर आत्मसमीक्षा नगरीकन कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउन नसकिने उनको भनाइ छ। उनले मुलुकको राजनीति बिग्रनुमा अरूलाई दोषारोपण गरेर मात्र नपुग्ने भन्दै आफूहरूले अपनाएका नीति, गतिविधि, व्यवहार र जनसम्पर्कका कमजोरीहरूको समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याए।
सहसंयोजक नेपालले शासन सत्तामा पुगेपछि विदेशी शक्तिसामु झुक्नैपर्ने वामपन्थी दलहरूको नीति अनुपयुक्त रहेको टिप्पणी गरे। विदेशीलाई खुसी पार्नकै लागि राष्ट्रहित विपरीतका विषय समेत स्वीकार गरिएको उनको तर्क छ।
कार्यक्रममा बोल्दै नेपालले भने, ‘नेपालको राजनीतिमा रहेका विकृति विसंगतिहरूबाट वामपन्थीहरू पनि मुक्त छैनन्।’ वामपन्थीहरूले पनि विगतमा खेलेको भूमिकाको आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै उनले थपे, ‘कहाँ हामी चुक्यौँ ? अरूलाई आरोप मात्र लगाएर पुग्दैन। हाम्रा सोचहरूमा, नीतिहरूमा, गतिविधिहरूमा, व्यवहारहरूमा, जीवनशैलीहरूमा, जनसम्पर्कहरूमा कहाँ–कहाँ त्रुटिहरू रहे, यी सबै कुरामा पनि आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता छ।’
खुला मनले बसेर छलफल गर्न आग्रह गर्दै उनले विभिन्न कालखण्डमा अँगालेका नीतिहरूको समीक्षा गर्न जरुरी रहेको बताए। ‘शासन सत्तामा जाने बित्तिकै विदेशीका सामु झुक्नै पर्छ भन्ने हुँदैन,’ उनले भने, ‘दृढताका साथ आफ्नो आवाज बुलन्द गर्न सकिन्छ। आवाज बुलन्द गर्ने बित्तिकै युद्ध नै भइहाल्दैन। आफ्नो देशको हितको कुरा राख्ने बित्तिकै सम्बन्ध टुटिहाल्ने अवस्था हुँदैन।’
अन्तर्राष्ट्रिय सम्बन्ध प्रभावकारी बनाउन संसारका धेरै अनुभवहरूबाट सिकेर अगाडि बढ्न सकिने भए पनि अनावश्यक रूपमा विदेशीहरूलाई खुसी पार्ने काममा लाग्दा कतिपय गलत कुराहरू स्वीकार गर्न पुगिएको उनले बताए। विदेशीहरूको स्वार्थ बुझेर सतर्क हुनुपर्नेमा जोड दिँदै उनले भने, ‘यस अर्थमा धेरै अतिवादी हुने कुरा पनि होइन। अर्कोतर्फ घुँडा टेक्ने र आत्मसमर्पणवादी पनि बन्ने होइन।’
सही नीति र दृष्टिकोण बोकेर देश र जनताको हितलाई केन्द्रबिन्दुमा राखेर अगाडि बढ्न सके मात्रै वास्तवमा कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउन सकिने उनको भनाइ छ। उनले अतिवाद र आत्मसमर्पणवादी दुवै प्रवृत्ति त्यागेर अघि बढ्नुपर्ने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण