आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तीन वर्षपछि कृष्णमन्दिर खुल्दा यस्तो देखियो पाटनमा श्रीकृष्ण जन्माष्ठमी

आइतबार, १७ भदौ २०७५, १३ : ०७
आइतबार, १७ भदौ २०७५

ललितपुर । पाटनको प्रसिद्ध कृष्ण मन्दिरमा आज बिहानैबाट भक्तजनको घुइँचो लागेको छ । श्रीकृष्ण जन्माष्ठमीका अवसरमा काठमाडौँ उपत्यकाका अधिकांश स्थान र उपत्यका नजिकका जिल्लाबाट दर्शनार्थी यहाँ आउन थालेका छन् । 

विसं २०७२ को भूकम्पपछि यो वर्ष मात्रै दर्शनार्थीले मन्दिरभित्र गएर माथिल्लो तलामा रहेको कृष्णको मन्दिरमा दर्शन गर्न पाएका हुन् । भूकम्पबाट क्षति पुगेपछि तीन वर्षसम्म मन्दिरमा पूजारीले पूजा गर्नेबाहेक सर्वसाधारणले भित्र गएर दर्शन गर्न नपाएको पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताए ।

उनले भने, “हामीले कृष्णाष्ठमीमा खुल्ला गर्नका लागि केही दिन पहिले मात्रै निर्माण सम्पन्न गरेका थियौँ ।’ 

कृष्णाष्ठमीका दिनमा वर्षेनी राष्ट्रप्रमुख दर्शनका लागि यहाँ आउने गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी आज दिउँसो २ः३० बजे यहाँ आउने कार्यक्रम तय भएको छ । मन्दिरमा दर्शनका लागि आउने विशिष्ठ पाहुना र दर्शनार्थीको भीडलाई हेरेर सुरक्षा व्यवस्था मजबुत बनाइएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए। 

बिहान २/३ बजेबाट नै दशनार्थी मन्दिर आइपुगेका थिए । 

नेपाल प्रहरीसँगै नेपाल स्काउट र विभिन्न सङ्घ–संस्थाका स्वयंसेवक दशनार्थीको सहयोगका लागि खटिएका छन् । दर्शनार्थीलाई स्वास्थ्य समस्या आउँदा तत्काल उपचारका लागि स्वास्थ्य संस्था यस क्षेत्रमा खटिएका छन् । 

विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा रहेका स्मारकमध्ये कृष्ण मन्दिरलाई महत्वपूर्ण मानिन्छ । ढुङ्गै–ढुङ्गाले बनेको कृष्ण मन्दिरलाई शिखर शैलीको उत्कृष्ट नमूनाका रूपमा मानिन्छ । मन्दिरमा २१ गजुर रहेका छन् । 

१७औँ शताब्दीमा पाटनका राजा सिद्धिनरसिंह मल्लले यो मन्दिरको निर्माण गर्न लगाएका थिए । उनले कृष्ण मन्दिर बनाउनेसँगै कृष्ण लीलामा आधारित नाच सञ्चालन गरेका थिए । 

जसलाई कात्तिक नाच पनि भनिन्छ । कृष्ण मन्दिर तीन तला रहेको छ । बीचको तलामा कृष्णको मूर्ति रहेको छ । मूर्तिको वरिपरि बिष्णुका १० अवतार मूर्ति छन् ।

मन्दिरका थामहरुमा विभिन्न देवी–देवताको मूर्ति कुँदिएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप