बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

कविता : एउटा खतरनाक प्रहसन

शनिबार, ०६ असोज २०७५, ११ : ५८
शनिबार, ०६ असोज २०७५

दीपक पराजुली 
 

उहिल्यै अस्वीकृत भएर इतिहासको गर्तमा भासिएका 
र यो दृश्यमान जगतको अस्तित्वबाट अलप भइसकेका पात्रहरु,
जो आजको मितिका माग होइनन्
र, भोलिको उज्याला आश पनि होइनन् 
असलमा, 
जो कुनै पनि कोणबाट सम्झन लायक नभएर 
आम स्मृतिबाट बिलाइसकेका थिए,
किनभने,
जसलाई नसम्झि नहुने त्यस्तो कुनै तात्विक कारण छैन
त्यस्तो कुनै तथ्यगत विवरण वा कुनै उल्लेख्य उदाहरण समेत छैन 
यदि उनीहरुलाई जबर्जस्ती सम्झिन खोजियो भने पनि
तपाईँ हाम्रो स्मृतिमा,
बिग्रेको टेलिभिजनको पर्दामा देखिने किरिङमिरिङ बाहेक केही आउँदैन ।
हो, तिनै विस्मृत पात्रहरुलाई छानीछानी
जब एकाएक कुनै समाचारजस्तो विज्ञापन
वा भनौँ विज्ञापनजस्तो समाचारले
नियोजित उत्खनन गर्छ– बिनाप्रसंग, बिनाकारण
बलजफ्ती तानेर÷खिँचेर सतहमा ल्याइदिन्छ 
र उभ्याइदिन्छ समकालको सबैभन्दा उँचो सदनमा
त्यसपछि,
त्यही सदनबाट एकदिन मञ्चित हुनेछ
एउटा यस्तो डरलाग्दो र उत्तिकै खतरनाक प्रहसन
जहाँ सर्वसाधारण भनिने तपाईँ हामीजस्ता कोही कसैलाई पनि थाहै नदिइ
एक वचन सोध्दा पनि नसोधि थमाइनेछ 
तिनै अग्लो सदनमा उभ्याइएका विस्मरणीय पात्रहरुको हातमा
तपाईँ हाम्रै भविष्यको भाष्य लेख्ने कलम ।
Twitter : @deepak_para
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप