बलात्कारविरुद्ध अभियानमा लाग्दा घरको ढोका बन्द
बलात्कारीलाई फाँसी दिनुपर्छ भन्दै आएकी सामाजिक अभिन्यता सावित्री सुवेदीले बुवाको हातबाट टीका नलगाएको धेरै भयो । ‘तीन वर्षअघि ठूलोबुवाको हातको टीका लगाएकी थिएँ,’ सामाजिक अभियन्ता सुवेदीले सुनाइन्, ‘संविधानसभाका लागि दोस्रोपटक भएको निर्वाचनपछि बुवाको हातको टीका थापेकी छैन ।’
किन ?
‘बाआमाले घर नआइज भन्नुहुन्छ,’ उनले दुःखेसो पोखिन्, ‘घर गए बाआमा रिसाउनुहुन्छ । नआइज भन्दाभन्दै घर पुगे गाली खानुपर्छ । त्यसैले घर जान्न । सालिन्दा आउने बडादसैं मेरा लागि कहिल्यै नआइदिए हुन्थ्यो ।’ तर, आइहाल्छ । ‘मन न हो । जति नै कठोर बनाउन खोजे पनि नसकिँदोरहेछ सर,’ उनले रातोपाटीसँग भनिन्, ‘दसैंभरि घरपरिवार र साथीभाइलाई मिस गरें ।’
बाआमाले घर जान रोक लगाएपछि उनले दसैं नमनाएको धेरै भयो । ‘दसैंमा समेत घर नजाँदा यसका आफन्त छैनन् क्या हो भनेर कुरा काट्लान भनेर ध्यानमा जान्छु,’ उनले नढाँटी वास्तविकता बताइन्, ‘त्यति भएपछि ए, ध्यानमा गएकी रहिछिन् भन्ने सन्देश जान्छ ।’
वीरगन्जमा महिनैपिच्छे ध्यान हुन्छ । घर बारा भए पनि पर्सामा रहेको धम्म तराई विपश्यना केन्द्र त्यति टाढा छैन । घर र ध्यानकेन्द्र त्यति टाढा नभए पनि घर जाने ढोका ढप्किएपछि उनी दसैंमा समेत घर जाँदिनन् । सालिन्दा बडादसैंमा ११ दिनसम्म ध्यानमा बसेर समय सदुपयोग गर्छिन् । ध्यानमा रहँदा मोबाइल चलाउन पाइँदैन । कसैसँग बोल्न पाइँदैन । बिहान साढे चार बजेबाट बेलुका साढे ९ सम्म ध्यानमा बस्दाको आनन्द अरूसँग तुलना गर्न सकिँदैन ।
यसपटकको दसैं टिचिङ हस्पिटलमै बितेको उनले जानकारी गराइन् । कञ्चनपुरका दिलिपसिंह विष्टलाई टिचिङको मेन्टल वार्डमा राखेर उपचार गर्नुपर्ने भएपछि उनी ध्यानमा जान सकिनन् । विष्टलाई उपचारपछि सुधारगृहमा राख्न पाउँदा उनी त्यत्तिकै खुसी देखिन्थिन् । उनलाई सुधारगृहमा राख्नसाथ सोमबार इलामतिर लागिन् । भनिन्, ‘इलाममा एउटी बहिनीलाई यौन दुव्र्यवहार गरेको रहेछ ।’
इलाम हिँड्नु अघिल्लो दिन उनले आफ्नो व्यथा रातोपाटीलाई सुनाइन्, ‘गाउँघरमा बलात्कार हुँदा म बोलिहाल्थें । बलात्कारीमध्ये कतिपय कतै न कतैबाट साइनो लागिहाल्थ्यो । बाआमाले भन्नुहुन्थ्यो– भोलि मलामी चाहिन्छ । विरोध गर्नुहुन्न । तर, म चुपचाप बस्न सक्दिनथें । बाआमाले तँ छोरी होस् । भोलि बिहे गरेर जानुपर्छ । गाउँलेको विरोध गर्नुहुँदैन । उनीहरूलाई पिरोल्नुहुँदैन भनेर सम्झाउनुहुन्थ्यो ।’ उनले हुँदैहुँदैन भन्थिन् । त्यही विषयमा सधैं ‘डिबेट’ हुन्थ्यो ।
संवत् २०७० सालमा गाउँमा बलात्कार भयो । आमाले उनलाई नबोल भनिन् । ‘मैले बोलें । पत्रकार बोलाएँ । पत्रकार सम्मेलन गरें । त्यसपछि बलात्कारीलाई कारबाही भयो,’ उनले हाकाहाकी भनिन्, ‘त्यसपछि बाआमाले मेरो घरमा नआइज भन्न थाल्नुभयो ।’ उनका लागि घरको ढोका ढप्कियो । त्यसपछि घर गएकी थिइनन् । ०७० सालबाट घर नगए पनि ०७५ लागेपछि जानुपर्ने बाध्यता आइलाग्यो । नागरिकता हराएपछि पुनः बनाउन उनी घर गएकी थिइन् ।
‘अरूसँग संघर्ष गर्न सकिँदोरहेछ,’ उनले थपिन्, ‘परिवारका सदस्यसँग गाह्रो हुँदोरहेछ । कतिपयले भन्लान् घरभित्रै सम्झाउन नसक्नेले बाहिरकालाई कसरी कन्भिन्स गर्लिन् । अरूलाई भन्दा बाआमालाई सम्झाउन गाह्रो हुँदोरहेछ । मैले सकिनँ । बाआमाको मान्यता भनेको छोरीले घरबार गरेपछि मात्रै सुरक्षित हुन्छे भन्ने हो । म त्यसको विपरीत भइदिएँ ।’
तर, मैले योगमायाको इतिहास पढेकी छु । गौतमबुद्धले राजकाजै त्यागेको बुझेकी छु । जसले इतिहास रचे, उसले व्यक्तिगत स्वार्थ त्यागेर समाजका लागि लडेका थिए । ‘समाज परिवर्तन गर्नकै लागि हो भने मैले पनि सबै–सबै त्याग्नुपर्छ,’ बलात्कारविरुद्ध सामाजिक अभियानमा लागेकी २८ वर्षीया सावित्री सुवेदीले गर्व गरिन्, ‘जन्म दिने बाआमाभन्दा देश ठूलो हो भन्ने भाव ममा हुनुपर्छ । देश रहे त हामी रहने हौं । बाआमाभन्दा टाढा रहे पनि नेपाली हुन पाएकी छु । राष्ट्रिय झन्डामुनि बस्न पाएकी छु । त्योभन्दा ठूलो अरू के चाहियो र ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु
-
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग प्रभावित, तीन स्थानमा पूर्ण अवरोध
-
दीर्घकालीन कर्जामा ब्याज पुँजीकरणको बाटो खुल्यो, आम्दानी नै नभई ब्याज तिर्नुपर्ने व्यवस्था अन्त्य
-
काभ्रेका १३ पालिकाले ल्याए बजेट, कसको कति ?
-
मेक्सिको र दक्षिण अफ्रिकाको जित, समूह ‘ए’ बाट नकआउट चरणमा प्रवेश
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण