शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

प्रदेश लोकसेवा आयोग गठनको बाटो तत्काल खोलिन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

बुधबार, १९ मङ्सिर २०७५, १४ : ५९
बुधबार, १९ मङ्सिर २०७५

सुर्खेत– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संघीय सरकार र प्रदेश सरकारबीच देखिएका असमझदारी अन्तरप्रदेश समन्वय परिषदको वैठकले हल गर्ने बताएका छन् । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री, विषयगत मन्त्री र सचिवहरुसँग वुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको भेटघाट कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले नेपालको संघीय व्यवस्था अन्य मुलुकभन्दा नयाँ भएकोले संघीयताको अभ्यासमा केही समस्याहरु देखिएको बताए ।

मन्त्री ज्ञवालीले निर्वाचन अघिनै संरचना र कर्मचारीको व्यवस्थापन गर्न नसक्दा पनि प्रदेश सरकारको कार्यसम्पादनमा प्रभावकारिता नदेखिएको बताए । सरकारले भर्खरै जारी गरेको कर्मचारी समायोजन अध्यादेशले कर्मचारी व्यवस्थापनको समस्या हल गर्ने विश्वास व्यक्त गर्दै मन्त्री ज्ञवालीले प्रदेश लोकसेवा आयोग गठनपछि दिर्घकालीन रुपमा समस्या सामाधान हुने बताए । 

विद्यमान संरचनामा २५ हजार कर्मचारी अपुग रहेको तथा अवकाशका लागि ईच्छुक संख्या १० हजार रहेको बताउँदै मन्त्री ज्ञवालीले समस्या समाधानका लागि केन्द्र सरकारले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । स्थानीय र प्रदेश सरकारले निश्चित तहसम्मका कर्मचारी भर्ना र खटनपटन गर्न पाउनुपर्ने भन्दै उनले संविधानमा रहेको अस्पष्टता हटाएर भएपनि प्रदेश लोकसेवा आयोग गठनको बाटो खोलिने बताए । 

समृद्द नेपाल, सुखी नेपालीको नारा प्रधानमन्त्रीको मात्र नभएर सिंगो नेपालको भएको बताउँदै मन्त्री ज्ञवालीले उक्त नारा कार्यान्वयनका लागि सबै तहका सरकारले अपनत्व लिनुपर्ने बताए ।  मन्त्री ज्ञवालीले कर्णालीको विकास र समृद्धि विना नेपालको समृद्धि असंभव रहेको बताउदै प्रदेश सरकारको मातहतमा क्रियाशील कर्मचारीहरुलाई दत्तचित्तका साथ काम गर्न आग्रह गरे । कर्मचारीको वृत्तिविकासको लागि राजनैतिक नेतृत्व गम्भीर रहेको भन्दै उनले कर्मचारी संयन्त्र पनि सरकारको भिजन कार्यान्वयनमा ईमान्दार रहनुपर्ने धारणा राखे ।

भेटघाटमा वोल्दै मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले संघीय सरकारको समन्वय विना प्रदेश सरकारले अगाडि वढाउन नसक्ने कामका सन्दर्भमा संघीय सरकार गम्भीर वन्नुपर्ने बतए । भौगोलिक विकटता र अल्पविकास कर्णालीका विशिष्ट समस्या रहेको बताउँदै मुख्यमन्त्री शाहीले कर्णालीमा तिव्र विकासको आवश्यकता रहेको समेत बताए । 

भेटघाट कार्यक्रममा प्रदेशसभाका सभामुख राजवहादुर शाही, प्रदेश सरकारका मन्त्रीहरु, प्रमुख सचिव र सचिवहरुको सहभागिता रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप