आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

तीन दलको गठबन्धनमा बाधक को ?

नेता भन्छन्– अब अविश्वासको प्रस्ताव दर्ता हुन्छ !
बिहीबार, ०२ वैशाख २०७८, १० : ४२
बिहीबार, ०२ वैशाख २०७८

काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन गरेदेखि नै तीन दल (नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी) पार्टीले गठबन्धन बनाउन प्रयास गरे । तर, त्यो गठबन्धनको प्रयास अहिलेसम्म सफल भएको छैन । प्रयास भने अझै जारी छ । यो प्रयास सकारात्मक दिशामा अघि बढेको नेताहरुले दाबी गरेका छन् ।

मंगलबार तीन दलका शीर्ष नेताहरुबीच छुट्टाछुट्टै छलफल भएका छन् । सुरुमा जनता समाजवादी पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र डा.बाबुराम भट्टराईसँग काँग्रेसका सभापति शेरबहादुर देउवाले छलफल गरे । साँझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटघाट भयो ।

मंगलबारको भेटघाट सकारात्मक दिशामा अघि बढेको नेताहरुले दाबी गरेका छन् । तर, नयाँ सत्ता समीकरणको प्रयासमा रहेका तीन दलबीच अझैसम्म गठबन्धन बन्न सकेको छैन ।

प्रधानमन्त्री ओलीको विकल्पमा बहुमत पुर्‍याउन काँग्रेस, माओवादी र जसपा मिल्नुपर्ने गणितीय बाध्यता छ । तीन दल नमिलेसम्म ओलीको बहिर्गमन सम्भव छैन । त्यसकै लागि तीन दलका नेताहरुले प्रयास गरिरहेको देखिन्छ ।

मंगलबार जसपाका नेताहरूसँगको भेटमा काँग्रेस सभापति देउवाले पार्टीभित्र सहमति बनाउन अध्यक्षद्वय उपेन्द्र यादव र डा.बाबुराम भट्टराईलाई आग्रह गरेका थिए ।

 


आखिर, तीन दलबीच गठबन्धन नबन्नुमा बाधक चाहिँ को हो ?

काँग्रेसका नेता बालकृष्ण खाण भन्छन्, काँग्रेस संघीय लोकतान्त्रिक मूल्य मान्यता तथा संविधानअनुसार अगाडि बढ्न प्रतिवद्ध छ । तर, माओवादी र जसपाले आ–आफ्नो पार्टीमा त्यो अनुसारको निर्णय गर्नुपर्ने हुन्छ ।’

उनी अगाडि भन्छन्, ‘पुस ५ गतेको केपी ओलीको कदम विरुद्ध काँग्रेसले विरोध गरेकै हो, माओवादी र जसपा नेपाललाई साथ दिएकै हो, अझै एक भएर अगाडि बढ्ने आवश्यकता छ, त्यसका लागि छलफल भइरहेको छ ।’

उता, माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल जसपा अनिर्णित भएका कारण गठबन्धन निर्माणमा समस्या रहेको बताउँछन् । पौडेलले रातोपाटीसँग भने, ‘हामी माओवादी केन्द्र र काँग्रेस स्पष्ट छौं, निर्णय गरेर अगाडि बढ्ने अवस्थामा पुगेका छौं । तर, जसपाले अझै पनि निर्णय नगरेका कारण गठबन्धनमा ढिलाइ भएको हो ।’

तीन दलका बीचमा सहमति नभएसम्म माओवादी केन्द्रले समर्थन फिर्ता नलिने पक्षमा रहेको बताउँदै पौडेलले सरकारबाट समर्थन फिर्ता लिन कुनै समस्या नरहेको बताए ।

समर्थन फिर्ता लिइसकेपछि बहुमत पुर्याउन सकिएन भने ठूलो दलको हैसियतमा पुनः केपी शर्मा अ‍ोली नै प्रधानमन्त्री हुने भएकाले माओवादी केन्द्र समर्थन फिर्ता लिनु पूर्व तीन दलबीच सहमति बनाउने प्रयासमा लागेको बताए ।

माओवादी केन्द्रका नेता पौडेलको भनाइलाई जसपा नेपालकी कार्यकारिणी सदस्य रेणु यादवले काल्पनिक भनेकी छिन् । उनी भन्छिन्, ‘सरकारबाट समर्थन फिर्ता लिएपछि यो धारा लागु हुन्छ र त्यो धारा लागु हुन्छ भन्नु काल्पनिक कुरा हो । पहिला समर्थन फिर्ता लिनुपर्छ । समर्थन फिर्ता लिएपछि जे अवस्था आउँछ, त्यसलाई सामना गर्दै अगाडि बढ्नुपर्छ । जसपालाई दोष देखाएर मात्र हुँदैन ।’

यादव भन्छिन्, ‘ओली नेतृत्वको सरकार माओवादी केन्द्रको समर्थनमा टिकेको छ तर यता सोही पार्टीले अर्को सरकार बनाउने कुरा पनि गरिरहेको छ यो जतिको बिडम्बना अरु के हुनसक्छ ?

दुई ठूला पार्टी माओवादी केन्द्र र काँग्रेस सहमति गरेर आएपछि जसपाले पार्टीमा निर्णय गरेर अगाडि बढ्ने यादवको धारणा छ । उनले रातोपाटीसँग भनिन्, ‘माओवादी केन्द्रले पहिला सरकारबाट समर्थन फिर्ता लिएर राजनीति निकासको एउटा बाटो खोल्दिनुपर्छ अनि मात्र अरु दल केही निर्णय गर्न बाध्य हुन्छन् ।’

यसैबीच मंगलबार साँझ काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डको भेटपछि तीन दलीय गठबन्धनले सकारात्मक मोड लिएको नेताहरुले दाबी गरेका छन् । सम्भवतः त्यसैलाई संकेत गर्दै माओवादी नेता वर्षमान पुनले बुधबार रोल्पाको एक कार्यक्रममा भने, अबको केही दिनमै केपी ओलीवरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुन्छ, गण्डकी र लुम्बिनीका मुख्यमन्त्री पनि फेरिन्छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप