केन्द्रीय संस्करण
काठमाडौँ–कैलाश कोरा

अद्भूत कैलाश : छुने मख्ख, हेर्ने पनि मख्ख !

person explore access_timeअसोज ८, २०७५ chat_bubble_outline0
अशोक सिलवाल

रातोपाटी

उत्तरतिर हिमाल हेरेर हुर्केको म, देरापुकबाट एक टङ्कारले दक्षिणतिर हिमाल हेर्दै थिएँ । 

हो, बिहान सखारैदेखि मेरो आँखाभरी कैलाश थियो । अनि बादलसँग मिलेर छिनछिनमा अनेक आकृति र स्वरूप बनाउन व्यस्त थियो कैलाशको नर्थ फेस । उसको बहुरूपी अनुहारले मेरो मन नाचिरहेको थियो । आत्मा आनन्दित थियो ।

आइटेनरीअनुसार देरापुकमै हाम्रो दोस्रो बास पनि हुने थियो । त्यो दिन इच्छुक यात्रीहरू कैलाश टच गर्न जाने र थकाइ मार्न चाहनेलाई त्यहीँ बस्ने छुट थियो । तर यात्राको सुरुदेखि नै शिथिल यात्रीहरू समेत बरु मरे मरियोस्, कैलाश टच गरेरै छाड्ने हो भन्ने दृढ मनस्थितिमा थिएँ । 

उनीहरूको कैलाशप्रतिको दृढ सङ्कल्प मिसिएको आस्था र अठोट ईष्र्यालाग्दो थियो, तैपनि म भने जाऊँ कि नजाऊँको दोधारमा परेँ । 

एकजना रुममेट यात्री रातभर सुतेको थिएन । म पनि त्यति सजिलै निदाउन कहाँ सकेको थिएँ र ! मैले रातभर ऊ खोकिरहेको सुनेको थिएँ । छिनछिनमा कोल्टे फेरेको पनि थाहा पाएको थिएँ । ऊ साँच्चै सिकिस्त नै थियो । बिहानी पखसम्म पनि ऊ बिसञ्चोले बाउँडिएजस्तो देखिन्थ्यो ।

‘तिमी त कैलाश टच गर्न जाँदैनौ होला नि ?’, मैले सोधेको थिएँ ।

‘साह्रै गाह्रो भइरहेको छ । सायद म जाँदिनँ’, त्यति भनेर फ्रेस हुन ऊ कोठाबाट बाहिर निक्ल्यो । त्यहाँ पनि मानसरोवरमा झैँ ओपन ट्वाइलेटको विकल्प थिएन । एक छिनपछि कोठामा आएर उसले भटाभट कपडा मात्र लगाएन, जुत्तामा खुट्टा पनि हुल्यो । तुना तानतुन गर्न थाल्यो र दिनभरका लागि आवश्यक खजाना भरेर ब्याग बोक्यो । 

‘आराम गर्नुको सट्टा के गरेको तिमीले ?’, सिरकले छातीलाई गतिलो गरी ढाक्दै मैले ओछ्यानबाटै भनेको थिएँ ।

ऊ केही बोलेन । सायद कैलाश टच गर्न जाँदा शरीरलाई आवश्यक एक–एक उर्जा ऊ आफूभित्र साँच्न चाहन्थ्यो । त्यसैले ऊ मसँग नबोलेको पो हो कि ? 
जे होस् ऊ कैलाश टच गर्न जान कस्सिसकेको थियो । 

त्यसरी अशक्त यात्रीहरू समेत कैलाश छुन लालयित थिए र जादुको छडीले छोएझैँ तङ्ग्रिदै थिए । के त्यहाँ जादुको छडी थियो ? कि कैलाशको कमाल ? के थियो त्यहाँ र त्यो सब सम्भव भइरहेको थियो ? 
खासमा यात्रीहरूको मनमा कैलाशप्रति अटल आस्था थियो । त्यसैले दिइरहेको थियो उनीहरूलाई असाधारण ऊर्जा ।

मलाई भनियो वा मैले सुनेँ, ‘देरापुकबाट कैलाश नर्थ बेसको दूरी १० किलोमिटर छ । जान १० किलोमिटर, आउन १० किलोमिटर । गर्दाभन्दा २० किलोमिटर । बाटो ठाडै नभए पनि हल्का उकालो छ ।’ 

‘कस्तो अनौठो ! कस्सिएर ढुङ्गा हान्ने हो भने कैलाशको टुप्पैमा पुग्लाजस्तो नजिकै देखिन्छ । तर यहाँबाट कैलाशको बेस पुग्न नै १० किलोमिटर हिँड्नुपर्ने रहेछ’, त्यस्तो सोच्दै म अवाक भइरहेको थिएँ । 

अर्को दिन कैलाश कोरा कन्टिन्यु गरेर डोल्माला हुँदै जुटुलपुक पुग्नु थियो । डोल्माला कैलाश परिक्रमाको सबैभन्दा उच्चविन्दु हो । केही यात्रीका मनमा संशय थियो, के हामी त्यो पार गर्न सक्छौँ ? मलाई पनि त्यो एउटा परीक्षा छँदै थियो । 

सोचेँ, ‘आज २० किलोमिटर हिँड्दा शरीर थप थकित भएर भोलि डोल्माला निकै चुनौतीपूर्ण हुनेछ । त्यसैले आँखै सामुन्नेको कैलाश हेरेर यही होटलको आँगनमा दिनभर बस्छु र यतिका दिनसम्मको यात्रा डायरी पनि लेख्छु ।’

मनमा अर्को विश्वप्रसिद्ध भनाइ पनि आयो, ‘ब्युटी इज टु सी, नट टु टच ।’

‘बादल र सूर्यका दिनभरका खेलमा बदलिइरहने कैलाशका अनेक भाव र रङहरूलाई दिनभर होटलको आँगनमा बसेर हेरिरहन्छु’, अन्ततः मैले नजाने निश्चय गरेँ र दिनभर दक्षिणतिर हिमाल, कलात्मक कैलाश पर्वत हेरेर रमाइरहेँ । 

हाम्रो समूहका केही यात्री पनि त्यहीँ बसेका थिए । त्यसमध्ये एउटा मलेसियन जोडी दिनभर कैलाशलाई आँखामा राखेर पूजाआजामै व्यस्त रह्यो । पारदर्शी शिवलिङ्गलाई कैलाशकै दिशामा थपना गरेर जोडीले एकसाथ कैलाश र शिवलिङ्गको आराधना गरिरह्यो । छेउछाउमा पुतलीहरू आफ्नै सुरमा निस्फिक्री खेलिरहेका थिए ।

अघिल्लो दिनको मुसलधारे वर्षाले भिजाएको मेरा लुगाफाटा दायाँबायाँका ढुङ्गाका बारमा सुकिरहेका थिए । मैले ती मेरा लुगाफाटा आउने गरी कैलाशको फोटो खिचेँ । 

ससाना पहाडका फेदैभरी फैलिएका रङबिरङका टेन्टहरू, छेउछाउका याक र घोडाहरू समेटिने गरी कैलाशको फोटो खिचेँ । 

कैलाश टच गर्न नगएका यात्रीहरूले नमस्कार गरिरहेको नमस्कार मुद्राका हातहरू आउने गरेर पनि कैलाशको फोटो खिचेँ । कैलाशका अनेक रूप र रङसँग थुप्रै आफ्नै सेल्फीसमेत खिचेँ । 

दुइटा दियोमा बलिरहेका बत्तीसित खिचेको कैलाशको फोटो सबभन्दा राम्रो आयो । त्यो फोटो निकै जीवन्त थियो । म दङ्ग परेँ । म दङ्ग परेको देखेर कैलाश पनि दङ्ग परे कि ! तर म किचेन ब्वाइसँगको एक छिनको संवादपछि खिस्रिक्क परेँ ।

‘दाइ ! तपाईं किन कैलाश टच गर्न नजानु भएको ?’, चिसोमा तातो कालो चिया हातमा थमाउँदै उसले सोध्यो ।

‘आज त्यता गएर भोलि डोल्मालाका लागि थाक्न चाहन्न, त्यसैले नगएको’, मैले चियाको सुरुप तान्दै भनेँ ।

‘त्यति जाबो बाटो हिँडेर तपाईं के थाक्नु हुन्थ्यो । हिजो मैले तपाईंको हिँडाइ नदेखेको हो र !’, दार्चेनबाट देरापुकसम्मको मेरो स्पिडको प्रशंसा गर्दै उसले भन्यो । 

‘कि त स्वास्थ्यले धोका दिएका केही यात्रीले झैँ यात्रा सुरु गरेको आधा घन्टामै दार्चेन फर्किनुपथ्र्यो । होइन भने हामीलाई हिजो त हिँड्नु नै थियो । हामीसँग त्योभन्दा अर्को अप्सन थिएन । तर आज त विकल्प छ नि । जता गए पनि बेलुका फर्किने यहीँ हो । ‘ऊ सुन्दै छ र म भन्दै छु, ‘अर्को कुरा, मलाई यहीँ बस्न मन लाग्यो आज । तिमीले त्यति जाबो बाटो भन्यौ तर जाँदा १० किलोमिटर र आउँदा त्यति नै गरी २० किलोमिटर छ रे । यो उचाइमा २० किलोमिटर पनि जाबो हुन्छ ?’, मैले अन्तिममा प्रतिप्रश्न पनि गरेँ ।

‘ह्या ! दाइ, तपाईं पनि कस्तो कुरा गर्नु हुन्छ ? कैलाश बेस यहाँबाट १० किलोमिटर टाढा छ भनेर कसले भन्यो ?’, उसले सोध्यो ।

‘होइन र ?’, म प्रस्ट हुन खोजेँ ।

‘जम्मा चार किलोमिटर हो यहाँबाट’, उसले भन्यो ।

हत्तेरिका ! १० दुना २० किलोमिटर त हौवा मात्रै पो रहेछ ! म निकै बेरसम्म खिस्स परिरहेको थिएँ । तर कैलाश दिनभर देख्न–हेर्न पाएको खुशी थियो ममा । त्यसैले एकै छिनमा चित्त बुझाएँ, ‘जे हुन्छ, राम्रैका लागि हुन्छ । जे भयो, त्यो पनि राम्रैको लागि भयो ।’

असाध्यै राम्रो रह्यो दिन । दिनभर पानी पनि परेन । 

मलेसियन जोडीमध्ये बुढो मछेउ आयो । उसले भन्यो, ‘कैलाशलाई छोयो भने चाँडै बुढो होइन्छ रे, आयु घट्छ रे ।’ उसले कतै पढेको थियो रे, ‘यहाँको १२ घन्टा बराबर पृथ्वीको दुई साता हुन्छ ।’ मैले उत्सुकतापूर्वक उसको कुरा सुनेँ ।

‘म बुढोलाई अझ धेरै बुढो हुनु छैन’, उसले हाँस्दै थप्यो ।

‘ए बुढा बा ! मलाई पनि बुढो हुने रहर छैन । त्यसैले त कैलाश छुन नगएको । भरे हाम्रा सहयात्रीहरू कैलाश छोएर आउँदा उनीहरूलाई हामीले चिन्ने छैनौँ । अनुहारमा चाउरी परेका यात्रीहरू खुइयखुइय गर्दै लौरो टेकेर कुप्रँदै आउलान्’, मैले मजाक गरेँ । मलेसियन बुढो मजैले हाँस्यो । 

मलेसियन र म मजाक गरिरहेकै बखत केही यात्री आइपुगे । तर उनीहरू बिहान जस्तो गएका थिए, उस्तै पो रहेछन् ! 

यात्रीका मुहारमा मुस्कान भने थिएन । उनीहरूको अनुहार देख्दा बुढा र म दुवैले कैलाश छुन नसकी फर्केछन् भन्ने लख काट्यौँ । यात्रीहरू सीधै हामीतिर आए । 

केही नभनी उनीहरूले हामीलाई गर्लम्म अँगालो हाले । निकै बेरसम्म अँगालोबाट हामीलाई फुत्कन दिएनन् । उनीहरू हाम्रो अँगालोमा रोइरहेका थिए । जीवनको एउटा महान सपना पूरा गरेर फर्केका थिए उनीहरू । कैलाश पर्वतको पाउलाई ढोगेर आएका थिए उनीहरू  हामीले उनीहरूलाई बधाई दियौँ । त्यसपछि त उनीहरू झन् डाको छाडेर रोए । मेरो पनि आँखा आँशुले भरियो । 

‘धेरै खुशीमा रुनु अनि धेरै दुखमा पनि रुनु । जब तिमी रुन्छौ, त्यति बेला तिमी कोमल हुन्छौ । करुण हुन्छौ । हार्दिक हुन्छौ । असल हुन्छौ ।’ मनमनै म आँशुको आख्यान कोर्दै थिएँ ।     

एकपछि अर्को गरी यात्रीहरू त्यसरी नै आए । एकले अर्कोलाई अँगालो हाले । हालिरहे । रोए । राइरहे । होटलको आँगन यात्रीहरूको आँशुले आनन्दको आँगन भएको थियो । 

बिहान बिसञ्चोले बाउँडिएकाहरू समेत चङ्गा भएर फर्किएको देख्दा कैलाश पर्वत ऊर्जाको एउटा विशेष केन्द्र रहेको विश्वास बलियो भयो । कोही कोही कैलाशसँगै टाँसिएको ख्रबास (हिउँ र चट्टानी पहाडबीचको गहिरो खाल्डो) नाघ्न नसकेर फर्केका थिए तर उनीहरू पनि कैलाशलाई केही मिटर परबाट हेरेर फर्केको खुशीयालीमा थिए । कम्तीमा प्रयास त गरियो भन्ने आत्मसन्तुष्टिले ओतप्रोत थिए उनीहरू ।

यात्रीका अनुहारमा खुशी र सन्तुष्टि फक्रिरहेको थियो । उनीहरूको अनुहारको तेजले साँझसमेत उज्यालिएको थियो । सायद, परबाट प्रसन्न कैलाशले पनि आशिष दिइरहेको थियो, ‘तथास्तु !’

यो पनि पढ्नुहोस्

दार्चेनदेखि देरापुकसम्मको आकाश र धर्तीका लीला

मनोरम मानसरोवरमा भेटिइन् मनमोहिनी

सागामा कल्याणीलाई हाइले हान्यो

केरुङमा 'राष्ट्रपति सी' सँग सेल्फी

सीमानामा देश दुख्दा

पासपोर्ट हराउँदाको पिरलो

ल्हासासँग मोहनी थियो तर बोलाई डोल्मालाले

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.