शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सीकेको सरप्राइज्ड ‘यु–टर्न’ ले मधेसमा तरंग : सीके नबोल्दा कार्यकर्ता उकुसमुकस !

मङ्गलबार, २८ फागुन २०७५, १३ : २१
मङ्गलबार, २८ फागुन २०७५

जनकपुर– अलग मधेसको माग गर्दै गतिविधि सञ्चालन गरेर चर्चामा रहेका ‘स्वतन्त्र मधेस गठबन्धन’का संयोजक डा. सीके राउतले मूलधारको राजनीतिमा आउने घोषणा गरेसँगै मधेसका राजनीतिक दल, नागरिक समाज र सर्वसाधारणले आ–आफ्नै ढङ्गले तर्क र व्याख्या गरिरहेका छन् ।

पृथकतावादी माग राखेर हिँडेका राउत एकाएक प्रधानमन्त्री केपी शर्मा ओलीसँगै बसेर मूलधारको राजनीतिमा अवतरण भएको घोषणा भएपछि मधेसमा जातीय तथा क्षेत्रीय राजनीति गर्नेहरु पनि आश्चर्यमा परेका छन् ।

 धेरेले पृथकतावादी आन्दोलन छाडेर मूलधारमा आउनुलाई स्वागतयोग्य कदमका रूपमा लिए पनि सहमति कार्यान्वयन हुने नहुनेमा भने विश्वस्त हुन सकेका छैनन्, जसलाई सर्वसाधारणदेखि मधेसका बुद्धिजीवीसमेतले सकारात्मक तथा नकारात्मक दुवै अर्थमा टीकाटिप्पणी गरिरहेका छन् ।

कतिपयले भने स्वतन्त्र मधेस गठबन्धन र डा. सीके राउतको गतिविधिबारे कुनै प्रतिकृया दिइसकेका छैनन् । उनीहरु ‘पर्ख र हेर’को स्थितिमा छन् ।

डा. राउतका समर्थक तथा कार्यकर्ताहरुले भने ११ बुँदेलाई सम्झौतालाई आफूअनुकूल व्यख्या गर्दै स्वतन्त्र मधेसका लागि जनमतसङ्ग्रह गर्ने बाटो खुलेको रूपमा बुझेका छन् । 

गठबन्धनका संयोजक डा. राउतले नेता तथा कार्यकर्तालाई सम्झौताबारे जानकारी गराउन नसकेकाले उनी सञ्चारमाध्यममा प्रतिक्रिया दिन तयार भएका छैनन् । उनका समर्थकहरु तत्काल राउतले कुनै प्रतिकृया नदिने बताउँछन् ।

सङ्घीय समाजवादी फोरम नेपाल प्रदेश नम्बर २ का सांसद रामअशीष यादव सरकार–राउतबीच भएको ११ बुँदे सम्झौता सकारात्मक भएको बताउँछन् । तर, उनी सरकारले स्वतन्त्र मधेसको मागलाई मान्यता दिएको हो भने त्यो भएको धारणा राख्छन् । 

‘डा. राउतलाई राजनीतिक मूलधारमा ल्याउनु अति नै सकारात्मक कुरा हो, यससँगै सरकारले अलग मधेसको मागको मान्यतालाई प्रमाणीकरण गरेको हो भने त्यो गलत हो’, सांसद यादवको भनाइ छ ।

तर अधिकारकर्मी रणधीर चौधरीको बुझाइ यादवको भन्दा फरक छ । ‘राउतले विगतदेखि उठाउँदै आएको स्वतन्त्र मधेसको एजेन्डा छाडिसकेका छन् ।

 राउतका नेताकार्यकर्ता जनअभिमत र जनमत सङ्ग्रहको शब्दावलीमा अल्झिएका छन्’, चौधरीको बुझाइ छ । उनले मधेसको राजनीतिले नयाँ डिस्कोर्स लिएसँगै मधेससँग सम्बन्धित एजेन्डालाई एकपछि अर्को दलले थाम्दै आएको समेत बताए । 

उनका अनुसार तत्कालीन माओवादीले सङ्घीयतासहित ‘एक मधेसएक प्रदेश’र स्वयत्ततासहितको आत्मनिर्णयको अधिकारको एजेन्डालाई छाडेपछि मधेसी जनअधिकार फोरम नेपालले त्यही एजेन्डा उठाएको थियो । त्यसैका आडमा फोरमले केही समय सङ्घीयतासहित २२ जिल्लालाई एक मधेस समग्र प्रदेशको एजेन्डा भने पनि अहिले सो पार्टी उक्त एजेन्डाबाट पछि हटेको छ । 

तर तत्कालीन नेकपा माओवादीबाट अलग भएका जयकृष्ण गोइतले अहिलेसम्म पनि एक मधेस प्रदेशदेखि एक मधेस देशको एजेन्डालाई छाडेका छैनन्, जसले गर्दा एकले अर्काको एजेन्डामा निगरानी गर्ने र छोडेपछि सोही एजेन्डा बोकेर आफ्ना गतिविधि सञ्चालन गर्ने परम्पराअनुसार नै राउतले पनि राजनीतिमा स्पेस पाउनै यस्तो नीति अख्यितार गरेको हुनसक्ने अनुमान गर्नेहरु पनि भेटिएका छन् । 

अधिकारकर्मी चौधरीका अनुसार एउटा राजनीतिक दलले राजनीतिमा स्थापित हुन आन्दोलन गर्ने र पछि सत्ता र शक्तिको समीकरणमा पनि यस्ताखाले आन्दोलनले निकै लाभ लिने गरेको विगतको इतिहास रहेकाले सोहीअनुसार डा. राउतले पनि राजनीतिक स्पेस प्राप्तिका लागि यस्तो गर्न पुगेका हुन् । 

मधेसी जनता र संविधान देशले समेत मधेसलाई अलग राष्ट्रको रूपमा हेर्न नचाहेकोले डा. राउतले राष्ट्रिय अखण्डतालाई स्वीकार गरी यु–टर्न हुनु सकारात्मक भएको राजनीतिका जानकारहरु बताउँछन् ।

‘मधेसका जनताले कहिल्यै पनि अलग देशको कल्पना गरेनन्, त्यसैले डा. राउतले राष्ट्रिय अखण्डतालाई स्वीकार गरी आफू परिवर्तन भएको सन्देश दिएका छन्’, बुद्धिजीवी नित्यानन्द मण्डलको भनाइ छ । 

पटक–पटक पक्राउ पर्दै र छुट्दै आएका सीके राउत २१ असोजमा नियमित पेसी बुझन चार वर्षीया छोरीलाई लिएर जिल्ला अदालत रौतहट पुगेका बेला पक्राउपछि जेल परेका थिए । गत बिहीबार उनलाई सर्वोच्च अदालतले रिहाको आदेश दिएको थियो । त्यसको भोलिपल्ट शुक्रबार सरकार र राउतबीच राजनीतिको मूलधारमा आउने सहमति भएको थियो ।

के गर्दैछन् राउत जनकपुरमा ?
हिरासतमुक्त भएलगत्तै सीके राउत आइतबार जनकपुर आएका छन् । उनी जनकपुर आउँदा समर्थकहरुले पुरानै शैलीमा नाराबाजी र खुशीयाली मनाएका थिए । सहमति गरेर जनकपुर आए पनि राउतले औपचारिक रूपमा केही बोलेका छैनन् । धेरैमा उनले के बोल्छन् भन्ने कौतुहलता भए पनि उनी मौन बसेकाले उनीप्रतिको धारणासमेत बनाउन सकेका छैनन् । हाल राउत जनकपुर वडा नम्बर ८ स्थित आफ्नै घरमा आराम गरिरहेको उनका निकटस्थहरुले बताएका छन् । 

‘आइतबार जनकपुर फर्केपछि उहाँले कसैसँग भेटघाट गर्नुभएको छैन, स्वास्थ्यमा सामान्य समस्या भएर घरमा आराममा हुनुहुन्छ’, राउत निकट स्रोतले रातोपाटीलाई भन्यो, ‘जरुरी परे फोन सम्पर्कबाट कुरा गर्नुहुन्छ ।’ राउतले आइतबारपछि कसैसँग भेटघाटसमेत नगर्ने राउतले निकटकाहरुलाई बताएका छन् । ‘अहिले भेटघाट गर्ने निर्देशन पनि छैन,’ स्रोतले भन्यो । 

वरिष्ठ पत्रकार विष्णुमणि खनालले कुनै बेला मधेसलाई अलग्गै देश बनाउनुपर्छ भनेर हिँडेका राउतको राजनीतिक ‘यु–टर्न’ धेरैका लागि सरप्राइज्ड भएको बताए । उनले भने, ‘डा. राउतले सरकारसँग ११ बुँदे सहमति गरेर प्रदेश सरकार र जातीय तथा क्षेत्रीय राजनीति गर्ने दलहरुका लागि समस्या उत्पन्न भएको छ ।’

राउतले सरकारसँग ११ बुँदे सहमति गरेपछि क्षेत्रीय राजनीति गर्दै आएको राजपा नेपाल केन्द्रीय सरकारसँग क्रुद्ध बनेको छ । मूलधारको राजनीतिमा ल्याउने नाममा राउतलाई सरकारले मान्यता दिएको भन्दै राजपा नेपालका प्रमुख सचेतक परमेश्वर साहले सरकार गैरजिम्मेवार रहेको आरोप लगाएका छन् ।

अन्योलमा नेता–कार्यकर्ता
सरकार–सीके राउतबीच भएको ११ बुँदे सहमतिपछि राउतकै नेता कार्यकर्ता पनि के गर्ने भन्नेमा अन्योल देखिन्छन् । सहमति भएका दिन मधेसका विभिन्न जिल्लामा स्वतन्त्र मधेसको नारा लगाएका राउतका कार्यकर्ताले जनअभिमत शब्दलाई जनमतसङ्ग्रह भन्दै खुसियाली मनाएका थिए ।

तर त्यसको सरकार पक्षले खण्डन गरेपछि उनीहरु दोधारमा परेका हुन् । उता राउतले समेत ११ बुँदे सहमतिको मर्म र भावनाबारे आफ्ना नेता कार्यकर्तालाई जानकारी गराउन नसकेकाले मिडियालाई समेत प्रतिकृया दिनबाट पछि हटिरहेका छन् ।

तर एक दुई दिनभित्रै गठबन्धनको केन्द्रीय समिति वैठक बसेर सहमतिबारे ब्रिफिङ गर्ने र त्यसपछि कार्यकर्ताहरुमा परेको अन्योल, गठबन्धनको नाम र जनमत सङ्ग्रह तथा जनअभिमतबारे प्रस्ट्याउने तयारीमा राउत लागेका छन् ।

त्यसो त ११ बुँदे सहमतिपछि डा. सीके राउतले आफ्नो अफिसियल वेबसाइटमा सरकारसँग सहमति भएको भन्दै स्वतन्त्र मधेस गठबन्धन खारेज भएको स्ट्याटस लेखेका थिए । तर सो स्ट्याटस पोस्टसँगै राउतका कार्यकर्ताले कडा प्रतिक्रिया जनाउन थालेपछि केहीबेरमै हटाइएको उनी निकटका एक समर्थकले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप