बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
cover-story
पुणे

महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियम

महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियम महाराष्ट्रको पुणेमा रहेको छ । यो अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमले छोटो समयमै विभिन्न प्रतियोगिता आयोजना गरिसकेको छ । यो क्रिकेट स्टेडियमको सञ्चालन तथा ब्यवस्थापन महाराष्ट्र क्रिकेट एसोसिएसनले गर्छ ।

यो महाराष्ट्र क्रिकेट टोलीको घरेलु मैदान हो । महाराष्ट्र क्रिकेट एसोसिएसनको मुख्यालय पनि यही स्टेडियम परिसरमा रहेको छ । यो अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको इतिहास धेरै लामो छैन । यो रंगशाला सन् २०१२ देखि प्रयोगमा आएको हो ।  यो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला ३७ हजार चार सय ६ दर्शक क्षमताको छ । यो रंगशालाको निर्माण कार्य अझै पूरा भइसकेको छैन । अहिले पनि उक्त स्टेडियमको ७५ प्रतिशत सिटमा छानो हाल्ने काम बाँकी रहेको छ । तर, रंगशालामा फ्लड लाइट जडानको काम भने पुरा भइसकेको छ ।

सन् २०१२ मा सरद पवारले यो रंगशालाको उद्घाटन गरेका थिए । त्यतिबेला उनी भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अध्यक्ष थिए ।  सन् २०१२ को अप्रिलमा यो रंगशालामा इन्डियन प्रिमियर लिगअन्तर्गत किङ्स–११ पञ्जाब र पुणे वारियर्सबिचको खेल खेलाइएको थियो । सन् २०१२ को डिसेम्बरमा यो रंगशालामा भारत र इङ्ल्यान्डबिच पहिलो टी—२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाइएको थियो ।  यसैगरी सन् २०१७ को फेब्रुअरीमा यो स्टेडियममा भारत र अस्ट्रेलियाबिच पहिलो टेस्ट क्रिकेट खेलिएको थियो । यो रंगशालामा आगामी आईसीसी एकदिवसीय विश्वकपको पाँचवटा खेल खेलाउने कार्यक्रम रहेको छ । भारत र बंगलादेशबीचको खेल पनि यही रंगशालामा खेलाइने छ ।  सन् २०१५ मा भारतका थप ६ वटा रंगशालालाई एकैपटक ‘टेस्ट भेन्यू’ का रूपमा मान्यता प्रदान गरिएको थियो । त्यसमा यो रंगशाला पनि परेको थियो । यो रंगशाला एक अर्ब ५० करोड भारतीय रुपैयाँको लागतमा निर्माण गरिएको हो । 

महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियम एक लाख ४० हजार स्क्वायर मिटर क्षेत्रफलमा फैलिएको छ । यो रंगशालामा सन् २०१९ को अक्टोबरदेखि टेस्ट क्रिकेट खेलाइएको छैन । अन्तिम टेस्ट भारत र दक्षिण अफ्रिकाबिच खेलिएको थियो । यसैगरी यो स्टेडियममा सन् २०१३ को अक्टोबर १३ मा भारत र अस्ट्रेलियाबिच पहिलो एकदिवसीय खेल खेलिएको थियो । त्यसपछि सन् २०२१ को मार्च २८ मा भारत र इङ्ल्यान्डबीच अन्तिम पटक एकदिवसीय खेल खेलिएको थियो । 

यो स्टेडियममा एकदिवसीय खेलको एकै पालीमा सर्वाधिक रन बनाउने खेलाडी इङ्ल्यान्डका जोनी बेयस्ट्रो हुन् । उनले सन् २०२१ को मार्च २६ तारिखमा खेलिएको भारतविरुद्धको खेलमा एक सय २४ रन बनाएका थिए । सोही खेलमा भारतका केएल राहुलले पनि एक सय आठ रन बनाएका थिए । यसैगरी विराट कोहलीले सन् २०१७ को जनवरी १५ मा इङ्ल्यान्डविरुद्ध एक सय २२ रन बनाएका थिए । सोही खेलमा भारतका केदार जादबले एक सय २० रन बनाएका थिए । सन् २०१८ को अक्टोबर २७ मा वेस्ट इन्डिजविरुद्ध खेलिएको एकदिवसीय खेलमा भारतका विराट कोहलीले एक सय सात रन बनाएका थिए ।

खेल तालिका