सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
सारांश
- जनकपुरधाम-९ रामानन्द चोक, साकेतनगर सडकखण्डमा ढल निर्माणपछि सडकको बीचमै करिब २ फिट गहिरो खाल्डो ह्वाङ्ग देखिएको छ, जसले पैदलयात्री र सवारीसाधनलाई दुर्घटनाको जोखिममा पारेको छ ।
- ठेकेदारले नालाको च्याम्बरमाथिको ढक्कन नराखी काम अलपत्र छाडेकाले दैनिकजसो दुर्घटनाको जोखिम बढेको छ, जसले गर्दा विद्यालय र अस्पताल जाने बाटो प्रयोग गर्ने सयौं विद्यार्थी र सर्वसाधारण सास्तीमा परेका छन् ।
- स्थानीयवासी, वडाध्यक्ष र पसलेहरूले बजेट सक्न हतारमा काम गराइएको, ठेकदार र कार्यालयको सेटिङमा काम भएको र साइट इन्जिनियरको लापरबाहीले जनताले दुःख पाएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
जनकपुरधाम । जनकपुरधाम–९ रामानन्द चोक, साकेतनगरको सडकखण्डमा ढल निर्माण भए पनि सडकको बिचमै भ्वाङ देखिन्छ । उक्त भ्वाङ मुनि नाला छ । त्यसैले उक्त सडक प्रयोग गर्ने पैदल यात्रीदेखि विभिन्न सवारी साधन दुर्घटनाको जोमिममा परेको भन्दै स्थानीयले आक्रोश पोखेका छन् ।
नालाको च्याम्बरमाथिको ढक्कन हाल्न ठेकदारले आलटाल गर्दा दिनहुँ दुर्घटनाको जोखिम बढाएको छ । रामानन्द चोक देखि सङ्कटमोचन मन्दिर, देवी चोक हुँदै रेल्वे स्टेशन पुग्न यो बाटो भएर दिनहुंँ सयौँको सङ्ख्यामा जिप, ई–रिक्सा, मोटरसाइकलको आवतजावत हुने गर्छ ।
अहिले सडकको बिच भागमै १ मिटर लामो, आधा मिटर चौडा र करिब २ फिट गहिरो खाल्डो ह्वाङ्ग देखिन्छ । यसरी सडकको बिच भागमा नालामाथिको ढक्कन नहुँदा पैदल यात्रुदेखि सवारी साधन समेतलाई अप्ठ्यारो हुने गरेको छ नै, दुर्घटनाको जोखिम पनि बढेको छ । यो सडक भएर मोटरसाइकल जेनतेन वारपार गरे पनि ईरिक्सा र जिप, कार वारपार गर्न निकै सकस हुने गरेको छ ।
स्थानीय अनिल झाले भने, ‘सरकारले आर्थिक वर्षको अन्त्यमा बजेट सक्नका लागि हतारमा विकास निर्माण गराउँदाको परिणाम हो यो । ठेकदारले काम गरेको रकम बुझिसक्यो । अब उसलाई के मतलब भयो ? सास्ती त जनताले भोग्ने हो ।’

उनले ठेकदार र पूर्वाधार विकास कार्यालयको सेटिङमा विकास निर्माणको काम हुँदा जनताले दुःख पाउने बताए । ठेकदार र कार्यालयका साइट इन्जिनियर ज्योति साहसँग यसबारे बुझ्न खोज्दा उनी फोन सम्पर्कमै नआएको झाको भनाइ छ ।
यो सडकखण्डमै माद्यमिक विद्यालय पनि छ, जसको मुख्य द्वार नै यही सडक खण्डमा पर्छ भने अस्पतालको मुख्यद्वार पनि यही सडकखण्डतर्फ सोझिएकोे छ । सयौँको संख्यामा विद्यार्थीहरू पनि यही सडक भएर विद्यालय आउनेजाने गर्छन् ।
स्थानीय संजीव कर्णले भने, ‘एक हप्ता अघि वर्षा भइरहेको बेला पानीले ढाकिएको उक्त खण्डमा मोटरसाइकल दुर्घटना भएको थियो । राति बत्ती थिएन, एक्कासि मोटरसाइकल पल्टियो तर चालक सडकतिर उछिट्ट्एिका कारण बाँच्न सफल भए ।’

वडाध्यक्ष परमेश्वर साहले ठेकदारलाई आफूले फोन गर्दा नउठाएको गुनासो गर्दै भने, ‘यो विकास निर्माणको नाममा सरासर जनताको साथ ठुलो खेलवाड भएको छ । सम्बन्धित कार्यालयको बदमासी हो ।’ यसलाई नसच्याउने हो भने जनताको दबाब आफूले पनि थेग्न नसक्ने उनले बताए ।
यही सडक खण्डमा किराना पसल सञ्चालन गर्ने तपेश्वर साहले स्थानीय एकजुट नहुँदाको परिणामका रूपमा यसलाई टिप्पणी गरे । उनले भने, ‘एक त पक्की सडक उप्काएर ढल निकासको नाममा ग्राभेल हालेर सडकको अवस्था यस्तो गरिदियो । त्यसमा पनि मुख्य सडकको बिच भागको च्याम्बरसँगै दायाँबायाँ ढक्कन नहाल्दै ठेकदारलाई निकासा दिनु भनेको लापरवाहीको नमुना हो ।’
मधेस सरकारले पूर्वाधार मन्त्रालय मार्फत यो सडकको पक्की भाग उप्काउने र अन्डर ग्राउण्ड ह्युम पाइप राखेर ढल निकासी तथा सडक साइड चेम्बर निर्माणका लागि गत जेठमा टेन्डर आह्वान गरेको थियो । ई–बिडिङ मार्फत आह्वान गरिएको यो कामको ठेक्का स्थानीय मानवी कन्स्ट्रक्सनले हात पारेको थियो । आर्थिक वर्ष सम्पन्न हुन एक साता अघिबाट काम थालेको यो कन्ट्रक्सनले १०/१२ दिनमै काम सम्पन्न गरेको थियो ।

कन्ट्रक्सनका म्यानेजर विपिन महरासँग यो विषयमा जिज्ञासा लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । ठेक्का लगाउने पूर्वाधार विकास कार्यालयका साइट इन्जिनियर ज्योति साह पनि सम्पर्कमा आउन चाहँदिनन् ।
स्थानीय अनिल झाले भने, ‘साइट इन्जिनियर फिल्डमा नआइ कार्यालयमै बसेर मूल्याङ्कन गरिदिन्छन् । सोही आधारमा बजेट निकासा गरिन्छ, जबकि काम पूरा भएको हुँदैन ।’
पूर्वाधार मन्त्रालयले यो सडकको ढल निकासीका लागि १६७ मिटर लम्बाइको कामका लागि ३० लाख बजेट छुट्ट्याएको थियो । सोही ठेक्का मार्फत काम आधाअधुरा काम गरेर ठेकदार पन्छिएको अवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण