मन्त्रीको राजीनामा होल्ड हुनु र मुख्यमन्त्री बानियाँले भेट नदिनु होइन संयोग मात्र
सारांश
- बागमती प्रदेश सरकारबाट नेकपा एमालेका ६ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।
- मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भेट नदिएपछि एमालेका मन्त्रीहरूको राजीनामा सचिवालयमा दर्ता गरिएको हो ।
- एमालेका मन्त्रीहरूले सरकारको समर्थन फिर्ता लिएसँगै बागमती प्रदेशमा नयाँ राजनीतिक समीकरणको बाटो खुलेको छ ।
हेटौँडा । बागमती प्रदेश सरकारबाट नेकपा एमालेका ६ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । पटक–पटक राजीनामा दिने भाखा सार्दै आएको एमालेले बुधबार भने मुख्यमन्त्री कार्यालयमा राजीनामापत्र दर्ता गराएको छ ।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भेट नदिएपछि एमालेका मन्त्रीहरूको राजीनामा सचिवालयमा दर्ता गरेर प्रमुख सचिव बाबुराम अधिकारीसमक्ष पेस गरिएको हो । कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री मधुसुदन पौडेलले मुख्यमन्त्री बानियाँको सचिवालयमा राजीनामा पत्र दर्ता गराएका हुन् । प्रदेश सरकारमा सहभागी एमालेका ६ जना मन्त्रीको सामूहिक राजीनामा मन्त्री पौडेलले सचिवालयमा दर्ता गराएर प्रमुख सचिव अधिकारीसमक्ष पेस गरेका थिए ।
उनीहरूले मुख्यमन्त्री बानियाँलाई भेटेर राजीनामा बुझाउन खोजे पनि उनले भेट नदिएपछि मुख्यमन्त्री कार्यालयमै राजीनामापत्र बुझाएर फर्केका थिए । बानियाँ भने बुधबार बीपी स्मृति दिवसको कार्यक्रममा सहभागी हुन चितवन पुगेका थिए । उनी फर्किन समय लाग्ने भएपछि एमालेका मन्त्रीहरूले सचिवालयमा राजीनामा दर्ता गराएका हुन् । राजीनामा दिने एमालेका मन्त्रीहरूमा कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री मधुसूदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री बिन्दु श्रेष्ठ र विनाविभागीय मन्त्रीहरू किरण थापा मगर, भरतबहादुर केसी र जयराम थापा छन् । २०८२ साउन २० गते संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम गठित वर्तमान सरकारमा एमालेका तर्फबाट उनीहरू सबै सहभागी थिए ।
राजीनामा दर्ता गर्नुअघि एमालेका मन्त्रीहरूले प्रदेश प्रमुखसमक्ष सरकारको समर्थनसमेत फिर्ता लिएको पत्र बुझाएका थिए । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई पत्र बुझाउँदै एमालेका मन्त्रीहरूले सरकारको समर्थन फिर्ता लिएका हुन् । एमालेका मन्त्रीहरूले सरकार छाडेसँगै बागमती प्रदेशमा नयाँ राजनीतिक समीकरणको बाटो खुलेको छ ।
बुधबार एमालेका मन्त्रीहरूको राजीनामा औपचारिकता पाउनुअघि नै बाहिरियो । बुधबार बिहानै संसदीय दलको सचिवालयबाटै बाहिरिएको उक्त पत्र अपराह्न साढे बजे मात्र मुख्यमन्त्री बानियाँको सचिवालयमा दर्ता भएको थियो । त्यसो त एमालेका मन्त्रीहरूको राजीनामा पटक पटक तोकिँदै अनि रोकिँदै आएको थियो ।
असार ३२ गते नै राजीनामा गर्ने तयारी गरेका एमालेका मन्त्रीहरूलाई केन्द्रको निर्देशन भन्दै रोकिएको थियो भने त्यसलगत्तै उनीहरू काठमाडौँ होमिएका थिए । त्यसअघि नै एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया काठमाडौँमा रहेर सत्ता गठबन्धन र मुख्यमन्त्री बन्ने खेलमा सक्रिय थिए ।
एमालेका मन्त्रीहरूको राजीनामा साउन २ गते शनिबार पनि रोकिएको थियो । दलका नेता थपलियाले तत्काल राजीनामा दिन निर्देशन दिएका थिए । सोहीअनुसार मन्त्रीहरूले शनिबार नै मुख्यमन्त्री बानियाँलाई राजीनामा बुझाउने तयारी पनि गरेस तर अन्तिम समयमा पुनः रोकियो । एमालेका मन्त्रीहरूले असार ३ गते आइतबारको संसदीय दलको बैठकको निर्णयअनुसार अघि बढ्ने गरी राजीनामा होल्ड गरे ।
काठमाडौँको कोटेश्वरमा बसेको एमालेको संसदीय दलको बैठकले तत्काल सरकारबाट नबाहिरिने निर्णय गर्यो । तर, एकाएक मङ्गलवार दिउँसो भने एमालेका मन्त्रीहरू पुनः राजीनामा दिने तयारीमा पुगे । ललितपुरस्थित प्रदेश सुशासन केन्द्रमै मुख्यमन्त्री बानियाँसमक्ष राजीनामा बुझाउने गरी भएको तयारी पुनः रोकियो र बुधबार बिहान हेटौँडामा बुझाउने तयारी भयो । अन्ततः मुख्यमन्त्री बानियाँले भेट नदिएपछि सचिवालयमा राजीनामा दर्ता भयो ।
पाँच दिनसम्म पटक पटक रोकिएको राजीनामा, मुख्यमन्त्री बानियाँले भेट नदिनु र मन्त्रीहरूले सचिवालयमा राजीनामा दर्ता गर्नु संयोग मात्र होइन । यसको प्रमुख कारण एमालेभित्रको आन्तरिक विवाद हो । एमाले स्रोतका अनुसार ६ मन्त्रीमध्ये अधिकांश हालकै गठबन्धनमा रहेर अघि बढ्ने पक्षमा थिए । त्यसैले पनि मन्त्रीहरूले पटक पटक राजीनामा बुझाउन ढिलाइ गर्दै आएका थिए ।
बुधबार पनि राजीनामाबारे छलफल भइरहेकै बखत एकाएक संसदीय दलको सचिवालयबाट राजीनामापत्र बाहिरिएको एमालेका एक मन्त्रीको दाबी छ । उनका अनुसार एमाले दलका नेता आफू मुख्यमन्त्री बन्न नपाउने आशङ्कामा राजीनामापत्र बाहिर ल्याएका हुन् ।
एमाले दलका नेता थपलियाले आफूलाई आगामी मुख्यमन्त्रीका रूपमा चर्चा गराउँदै आएको ती मन्त्रीको भनाइ छ । प्रक्रियाअनुसार राजीनामापत्र मुख्यमन्त्रीलाई बुझाएपछि मात्र प्रदेश प्रमुखको कार्यालयमा समर्थन फिर्ताको पत्र पेस गर्नुपर्ने उनले बताए । तर, सो प्रक्रियाविपरीत मुख्यमन्त्रीलाई राजीनामा बुझाउनुपूर्व नै दलका नेताले समर्थन फिर्ताको पत्र बुझाउन मन्त्रीहरूलाई दबाब दिएका थिए ।
बुधबार पत्रकार सम्मेलनमार्फत राजीनामा दिने जानकारी दिने क्रममा एमालेका मन्त्रीलाई फोनमार्फत दलका नेता थपलियाले समर्थन फिर्ताको निर्देशन दिएका थिए ।
मुख्यमन्त्री बानियाँले दिउँसो २ बजे भेटेर राजीनामा बुझ्ने तयारी गरिरहेको अवस्थामा प्रक्रिया नै मिचेर समर्थन फिर्ता लिएपछि राजीनामा बुझ्न मुख्यमन्त्री नआएका सचिवालयका एक सदस्यले बताए । २ बजेको समय प्रदान गरिएको अवस्थामा हतार गरेर १२ बजे नै समर्थन फिर्ताको पत्र बुझाएपछि मुख्यमन्त्री चितवनमै रहेको उनको भनाइ छ ।
उक्त विषयमा एमालेका मन्त्री मधुसुदन पौडेलले पार्टीभित्र कुनै पनि किसिमको आन्तरिक विवाद वा समस्या नरहेको बताए । मन्त्रीहरूले राजीनामा दिने तयारी गरिरहँदा पार्टीभित्र दुई धार रहेको कुराको खण्डन गर्दै उनले पार्टीको निर्देशन र सामूहिक निर्णयअनुसार नै आफूहरूले राजीनामा दिन लागेको स्पष्ट पारे ।
मन्त्री पौडेलले आफूहरूले विधिवत् रूपमा हस्ताक्षर गरेर राजीनामा तयार पारेको तर औपचारिक रूपमा बुझाउनुअघि नै कसरी बाहिरियो भन्नेबारे आफूलाई जानकारी नभएको बताए । कुनै पनि विषयमा निष्कर्षमा पुग्न र पार्टी केन्द्रसँग आवश्यक परामर्श गर्न केही समय लाग्नु स्वाभाविक भएकाले असार ३२ गते तयारी गरिएको राजीनामा रोकिएको उनको भनाइ छ ।
एमालेले काठमाडौँमा पार्टी नेतृत्व र संसदीय दलका नेताहरूसँग छलफल गरेरै आएको र सबै मन्त्रीहरू एकमत रहेको उनले बताए । मुख्यमन्त्रीसँग एक वर्षसम्म सौहार्दपूर्ण रूपमा सहकार्य गरेकाले प्रत्यक्ष भेटेरै राजीनामा बुझाउन चाहेकाले केही समय पर्खिएको उनको भनाइ छ । मन्त्री पौडेलले एमालेभित्र कुनै असमझदारी नरहेको र अहिलेको परिस्थिति राजनीतिक समीकरणमा आएको फेरबदलका कारण मात्र सिर्जना भएको बताए ।
उनका अनुसार नयाँ सरकार गठन र नेतृत्वबारे एमालेको स्पष्ट दाबी रहनेछ । नयाँ सरकारको नेतृत्व एमालेले पाउने सम्भावना ५०/५० रहेको र यसमा पार्टीको बलियो दाबी रहने उनले बताए । नयाँ समीकरणअनुसार सरकार गठनका लागि आवश्यक बहुमत जुटाउन एमालेले राप्रपालगायत अन्य दलहरूसँग पनि सहयोगको अपेक्षा राखेको उनको भनाइ छ । आफ्नो सहकार्यलाई साथ दिने राप्रपा र अन्य सबै दलहरूसँग सहयोग मागेर अघि बढ्ने उनले बताए ।
एमालेबाट सरकारको नेतृत्व गठबन्धनका दलहरूबिचको आपसी सहमति र निष्कर्षका आधारमा तय हुने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण