बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
cover-story
अहमदाबाद

नरेन्द्र मोदी स्टेडियम

यो रङ्गशालाको नाम भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको नामबाट राखिएको हो । यसअघि यो रङ्गशालाको नाम ‘सरदार पटेल स्टेडियम’ रहेको थियो । यो रङ्गशाला गुजरातको अहमदाबादमा रहेको छ । 

विश्वकै सबैभन्दा ठुलो क्रिकेट रङ्गशालामा पर्छ, नरेन्द्र मोदी स्टेडियम । पछिल्लो समय यो रङ्गशालाको दर्शक क्षमता बढाएर एक लाख ३४ हजार पुर्‍याइएको छ । यो क्रिकेट रङ्गशाला गुजरात क्रिकेट एसोसिएसनको अधीनमा रहेको छ । 

यो रङ्गशालामा निरन्तर घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगिताहरू आयोजना हुने गरेका छन् । अहिले नरेन्द्र मोदी स्टेडियम रहेको स्थानमा सन् १९८२ देखि सन् २०१५ सम्म सरदार पटेल स्टेडियम थियो । पुरानो रंगशालालाई भत्काएर अहिलेको नरेन्द्र मोदी स्टेडियम बनाइएको हो ।  पाँच वर्षमा निर्माण सम्पन्न भएको यो क्रिकेट रङ्गशाला बनाउन आठ अर्ब भारतीय रुपैयाँ खर्च गरिएको थियो । यो क्रिकेट रङ्गशालामा चारवटा ड्रेसिङ रूप रहेका छन् । रङ्गशालामा ११ वटा सेन्टर पिच र दुईवटा अभ्यास ग्राउन्ड रहेका छन् । 

दर्शक क्षमताको हिसाबले यो विश्वकै दोस्रो ठुलो रङ्गशाला हो । योभन्दा ठुलो रङ्गशाला उत्तर कोरियामा रहेको छ । उत्तर कोरियाको ‘रनग्राडो फर्स्ट अफ मे स्टेडियम’ को दर्शक क्षमता एक लाख ५० हजार रहेको छ ।  यसअघि पुरानो सरदार पटेल स्टेडियममा सन् १९८७, सन् १९९६ र सन् २०११ को एकदिवसीय विश्वकपका केही खेल पनि खेलाइएको थियो । सन् २०२१ को फेब्रुअरी २४ मा यो रङ्गशालाको नाम परिवर्तन गरेर नरेन्द्र मोदी स्टेडियम राखिएको हो । 

आफ्ना पूर्वअध्यक्ष नरेन्द्र मोदीप्रति सम्मान व्यक्त गर्दै रङ्गशालाको नयाँ नामकरण गरिएको गुजरात क्रिकेट एसोसिएसनले जनाएको छ । सन् २००९ देखि सन् २०१४ सम्म नरेन्द्र मोदी गुजरात क्रिकेट एसोसिएसनका अध्यक्ष थिए । नयाँ रङ्गशालाको उद्घाटन सन् २०२१ मा तत्कालीन भारतीय राष्ट्रपति रामनाथ कोविन्दले गरेका थिए ।

सन् २०२० मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणमा आउँदा यही रङ्गशालामा ‘नमस्ते ट्रम्प’ नाम दिएर विशेष कार्यक्रम आयोजना गरिएको थियो । सन् २०२२ को सेप्टेम्बर २९ मा यही रङ्गशालामा भारतको ३६औँ राष्ट्रिय खेलकुदको उद्घाटन समारोह पनि आयोजना गरिएको थियो । 

सन् २०२१ को फेब्रुअरीमा यो रङ्गशालामा भारत र इङ्ल्यान्डबिच पहिलो दिवा—रात्रि खेल खेलाइएको थियो । सन् २०२३ को एकदिवसीय विश्वकपको उद्घाटन र फाइनल खेल पनि यही रङ्गशालामा खेलाइने भएको छ । विश्वकपका क्रममा यो रङ्गशाला पाँचवटा खेल खेलाइने कार्यक्रम रहेको छ ।

खेल तालिका