बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
cover-story
लखनउ

बीआरएसएबीभी एकना क्रिकेट स्टेडियम

भारत रत्न श्री अटल विहारी बाजपेयी एकना क्रिकेट स्टेडियम (बीआरएसएबीभी) लाई सामान्य रूपमा एकना क्रिकेट स्टेडियमका नामले चिनिन्छ । यो अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम लखनउमा रहेको छ ।

यो क्रिकेट स्टेडियम ५० हजार दर्शक क्षमताको छ । यो भारतको पाँचौँ ठुलो (दर्शक क्षमताका आधारमा) अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम हो ।

सुरुमा यसको नाम ‘एकना क्रिकेट स्टेडियम’ राखिएको थियो । ‘एकना’ संस्कृत शब्द हो । यसको अर्थ ‘एक’ वा ‘एकता’ भन्ने बुझिन्छ । त्यसपछि यसको नाम परिवर्तन गरेर भारतका पूर्वप्रधानमन्त्री अटल विहारी बाजपेयीको नाममा राखिएको हो । भारतमा भएका क्रिकेट रंगशालामध्ये यो स्टेडियमको बाउन्ड्री केही लामो छ । यो उत्तर प्रदेश क्रिकेट टिमको घरेलु मैदान पनि हो । यसका अतिरिक्त बीआरएसएबीभी एकना क्रिकेट स्टेडियम इन्डियन प्रिमियर लिग क्लब लखनउ सुपर जाइन्ट्सको घरेलु मैदान पनि हो । सन् २०१९ मा अफगानिस्तानको राष्ट्रिय टोलीले पनि यसयलाई घरेलु मैदानको रूपमा प्रयोग गरेको थियो । भारतका अन्य क्रिकेट स्टेडियमको तुलनामा यसको इतिहास खासै लामो छैन । सन् २०१४ मा यो रंगशाला बनाउन सुरु गरिएको थियो । त्यसपछि यो स्टेडियमको निर्माण कार्य सन् २०१७ मा आएर सम्पन्न भएको थियो । 

यो क्रिकेट स्टेडियम निजी—सार्वजनिक साझेदारी कार्यक्रमअन्तर्गत एकना स्पोर्ट्ज र लखनउ विकास प्राधिकरणले निर्माण गरेको हो । यो स्टेडियम निर्माण गर्न उत्तर प्रदेश राज्य सरकारले सन् २०५२ सम्मका लागि लिजमा जग्गा उपलब्ध गराएको थियो । बीआरएसएबीभी एकना स्टेडियम बनाउन तीन अर्ब ६० करोड भारतीय रुपैयाँ खर्च भएको थियो । यो स्टेडियममा सबैभन्दा पहिले सन् २०१७÷१८ मा दुलिप ट्रफीको फाइनल खेल खेलाइएको थियो । सन् २०१९ को नोभेम्बरमा यो रंगशालामा वेस्ट इन्डिज र अफगानिस्तानबिच पहिलो टेस्ट खेलिएको थियो । त्यसयता यो स्टेडियममा टेस्ट क्रिकेट खेलिएको छैन ।

सन् २०१९ को नोभेम्बर ६ मा अफगानिस्तान र वेस्ट इन्डिजबिच पहिलो एकदिवसीय खेल खेलिएको थियो । यो स्टेडियममा सन् २०२२ को अक्टोबर ६ मा भारत र दक्षिण अफ्रिकाबिच अन्तिम एकदिवसीय खेल खेलिएको थियो । यसैगरी यो स्टेडियममा सन् २०१८ को नोभेम्बर ६ मा भारत र वेस्ट इन्डिजबिच पहिलो अन्तर्राष्ट्रिय टी—२० प्रतियोगिता खेलिएको थियो । त्यतिबेला यो स्टेडियम अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने भारतको ५२औं रंगशाला बनेको थियो ।

त्यो स्टेडियममा टी—२० क्रिकेट प्रतियोगितामा पहिलो शतक प्रहार गर्ने पहिलो खेलाडी भारतका रोहित शर्मा हुन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भने त्यो रंगशालामा शतक प्रहार गर्ने पहिलो खेलाडी वेस्ट इन्डिजका होप साई हुन् । सन् २०१९ को नोभेम्बर ११ मा उनले अफगानिस्तानविरुद्ध अविजित एक सय नौ रन बनाएका थिए । यो रंगशालामा आगामी विश्वकपको पाँचवटा खेल खेलाइने छ ।

खेल तालिका