बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
cover-story
कोलकाता

इडेन गार्डेन्स

पश्चिम बंगालको कोलकातामा रहेको छ, इडेन गार्डेन्स अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम । यो भारतको सबैभन्दा चर्चित क्रिकेट रंगशाला हो । यो रंगशालामा थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिताहरु आयोजना भइसकेका छन् ।  यो भारतको सबैभन्दा पुरानो क्रिकेट स्टेडियम पनि हो ।

यो क्रिकेट स्टेडियमको निर्माण सन् १८६४ मा भएको हो । यसका अतिरिक्त यो भारतको दोस्रो ठुलो क्रिकेट स्टेडियम पनि हो । यो क्रिकेट स्टेडियम हाल ६८ हजार दर्शक क्षमताको रहेको छ ।  यसैगरी इडेन गार्डेन्स विश्वकै तेस्रो ठुलो क्रिकेट स्टेडियम (दर्शक क्षमताका आधारमा) पनि हो । भारतीय राष्ट्रिय क्रिकेट टोलीको मुख्य घरेलु मैदान पनि इडेन गार्डेन्सलाई नै मानिन्छ । यो क्रिकेट मैदानले ‘भारतीय क्रिकेटको मक्का’ को उपनाम पनि पाएको छ ।  क्रिकेटमात्र होइन, भारतीय खेलकुदकै इतिहासमा यो सबैभन्दा पहिलो व्यवस्थित रंगशाला पनि हो ।

इडेन गार्डेन्समा यसअघि पनि एकदिवसीय विश्वकप, टी—२० विश्वकप, एसिया कपजस्ता ठुला अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना भइसकेका छन् ।  सन् १९८७ मा भारतले एकदिवसीय विश्वकप आयोजना गर्दा फाइनल खेल यही रंगशालामा खेलाइएको थियो । त्यतिबेला यो रंगशाला एकदिवसीय विश्वकपको फाइनल खेलाउने विश्वकै दोस्रो क्रिकेट रंगशाला पनि बनेको थियो । किनभने त्यसअघि पुरुष एकदिवसीय विश्वकपको पहिलो, दोस्रो र तेस्रो संस्करण लगातार इङ्ल्यान्डले आयोजना गरेको थियो । 

यसैगरी सन् २०१६ मा यही स्टेडियममा आईसीसी टी—२० विश्वकपको फाइनल खेल पनि खेलाइएको थियो । त्यतिबेला टी—२० विश्वकपको फाइनलमा क्यारेबियन टोली वेस्ट इन्डिजले इङ्ल्यान्डलाई चार विकेटले हराएर उपाधिमाथि कब्जा जमाएको थियो ।  इडेन गार्डेन्स स्टेडियममा सर्वाधिक दर्शकको कीर्तिमान सन् १९९६ मा बनेको थियो । सन् १९९६ मा भएको एकदिवसीय विश्वकपको भारत र श्रीलङ्काबिच खेलिएको सेमिफाइनल खेल हेर्न एक लाख १० हजार पाँच सय ८४ दर्शक रंगशालामा उपस्थित भएका थिए । सन् १८६४ मा यो स्टेडियमको निर्माण सम्पन्न हुँदासम्म पनि नामको बारेमा भने टुङ्गो लागेको थिएन । पछि इडेन गार्डेन पार्कको नामबाट यो स्टेडियमको पनि नामकरण गरिएको बताइन्छ । यो स्टेडियममा पहिलो फुटबल खेल पनि खेलाइन्थ्यो । 

सन् १९८२ मा यही स्टेडियममा नेहरु कपको पहिलो संस्करण आयोजना गरिएका थियो । त्यसपछि सन् १९८४ को जनवरी १४ मा नेहरु कप फुटबल प्रतियोगिताअन्तर्गत नै भारत र उरुग्वेबिचको खेल पनि यही स्टेडियममा खेलाइएको थियो ।  सन् १९८० मा यो स्टेडियममा एक अप्रिय घटना पनि भएको थियो । सन् १९८० को अगस्त १६ तारिखमा यो स्टेडियममा कलकत्ता फुटबल लिगअन्तर्गत मोहन बगान र पश्चिम बङ्गालबिच खेल भएको थियो । सोही खेलका क्रममा दुवै टोलीका समर्थकबिच भिडन्त हुँदा १६ जना समर्थकको मृत्यु भएको थियो । बङ्गाल क्रिकेट एसोसिएसनको मुख्यालय यही स्टेडियम परिसरमा रहेको छ । यो स्टेडियम बङ्गाल क्रिकेट टोलीको घरेलु मैदान हो । यसका अतिरिक्त इन्डियन प्रिमियर लिग क्लब कोलकाता नाइट राइडर्सको घरेलु मैदान पनि यही हो ।  यो क्रिकेट स्टेडियममा आईसीसी महिला विश्वकपका खेलहरू पनि आयोजना भएका छन् ।

यो स्टेडियममा सन् २०१९ को नोभेम्बर २२ देखि २६ सम्म पहिलो पटक दिवा—रात्रि टेस्ट प्रतियोगिता पनि आयोजना गरिएको थियो । त्यो दिवा—रात्रि टेस्टमा भारतले बंगलादेशलाई एक पाली र ४६ रनको फराकिलो अन्तरले हराएको थियो ।  यो स्टेडियममा खेलिएको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि टोलीले बनाएको सर्वाधिक योगफल पाँच विकेट गुमाएर चार सय चार रन हो । सन् २०१४ मा खेलिएको श्रीलङ्काविरुद्घको खेलमा भारतले उक्त रन बनाएको थियो । एकदिवसीय क्रिकेटमा बनेको सबैभन्दा सानो योगफल भने आठ विकेट गुमाएर एक सय २८ रन हो । सन् १९९६ मा सम्पन्न भारत र श्रीलङ्काबिचको खेलमा उक्त रन बनेको थियो ।

इडेन गार्डेन स्टेडियममा एकदिवसीय क्रिकेटको एकै पालीमा सर्वाधिक रन बनाउने खेलाडी रोहित शर्मा हुन् । उनले सन् २०१४ मा श्रीलंकाविरुद्घको खेलमा दुई सय ६४ रन बनाएका थिए । यो स्टेडियममा एकदिवसीय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी भने भारतका सचिन तेन्दुल्कर हुन् । उनले यो स्टेडियममा खेलिएको एकदिवसीय खेलमा कुल चार सय ९६ रन बनाएका छन् । यो रंगशालामा आगामी विश्वकपको सेमिफाइनलसहित पाँचवटा खेल खेलाइने छ ।

खेल तालिका