बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
cover-story
धर्मशाला

हिमाञ्चल प्रदेश क्रिकेट एसोसिएसन (एचपीसीए) स्टेडियम

‘हिमाञ्चल प्रदेश क्रिकेट एसोसिएसन स्टेडियम’ हिमाञ्चल प्रदेशको धर्मशालामा रहेको छ । यो स्टेडियमलाई छोटकरीमा एचपीसीए भनिन्छ । प्राकृतिक रूपमा मनोरम दृश्यहरूका कारण यो विश्वकै सुन्दर क्रिकेट स्टेडियमका सूचिमा पर्छ । 

दलाई लामा धर्मशालामै निर्वासित जीवन बिताइरहेकाले पनि यो ठाउँ विश्वभर चर्चित छ । रणजी ट्रफीमा यो हिमाञ्चल प्रदेश क्रिकेट एसोसिएसनको घरेलु मैदान पनि हो । इन्डियन प्रिमियर लिग (आईपीएल) क्लब किङ्स—११ पञ्जाबले यो रंगशालालाई आफ्नो घरेलु मैदानका रूपमा प्रयोग गर्छ । त्यसैले आईपीएलका थुप्रै खेल यो स्टेडियममा खेलिएको छ ।

यो क्रिकेट स्टेडियम समुद्र सतहभन्दा एक हजार चार सय ५७ मिटर उचाइमा रहेको छ । यो स्टेडियमको चारैतिर अल्गा हिमालहरू रहेका छन् । त्यसैले पनि यो स्टेडियमलाई विश्वकै मनोरम स्थलमा रहेको क्रिकेट मैदान भनिएको हो ।  यो क्रिकेट स्टेडियमबाट काङ्ग्रा विमानस्थल केवल आठ किलोमिटरको दूरीमा रहेको छ । डेभ ह्वाटमोर भारतको नेशलन क्रिकेट एकेडेमीको निर्देशक हुँदा उनले नै यो मनोरम स्टेडियममा पनि अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सकिने सुझाव दिएका थिए ।

यो स्टेडियममा सबैभन्दा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने राष्ट्र पाकिस्तान हो । सन् २००५ मा पाकिस्तानले भारतको ‘ए’ टोलीसँग अभ्यास खेल खेलेको थियो । यो स्टेडियमको निर्माण कार्य सन् २००३ मा सम्पन्न भएको हो । यो रंगशालामा आगामी विश्वकपको पाँचवटा खेल खेलाइने भएको छ । 

एचपीसीए स्टेडियमको दर्शक क्षमता केवल २३ हजार रहेको छ । यो स्टेडियममा सन् २०१३ को जनवरी २७ तारिखमा भारत र इङ्ल्यान्डबिच पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिएको थियो । उक्त खेलमा इङ्ल्यान्ड सात विकेटले विजयी भएको थियो । 

सन् २०२० को मार्च १२ पछि भने यो रंगशालामा एकदिवसीय प्रतियोगिता खेलिएको छैन । अन्तिम एकदिवसीय भारत र दक्षिण अफ्रिकाबिच खेलिएको थियो । यो स्टेडियममा सन् २०१७ को मार्च २५ देखि २९ सम्म भारत र अस्ट्रेलियाबीच पहिलो टेस्ट खेलिएको थियो ।  त्यसपछि यो स्टेडियममा टेस्ट क्रिकेट खेलिएको छैन । सन् २०१५ को नोभेम्बरमा यो स्टेडियमलाई भारतको ‘टेस्ट भेन्यू’ का रूपमा समावेश गरिएको थियो । त्यतिबेला एचपीसीएका अतिरिक्त अन्य पाँचवटा रंगशालालाई पनि भारतको ‘टेस्ट भेन्यू’ मा समावेश गरिएको थियो । 

यसैगरी एचपीसीए स्टेडियममा सन् २०१५ को अक्टोबर २ मा पहिलो पटक टी—२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिएको थियो । त्यो खेल भारत र दक्षिण अफ्रिकाबिच भएको थियो । त्यसपछि सन् २०२२ को फेब्रुअरी २७ मा भारत र श्रीलङ्काबिच अन्तिम टी—२० खेल खेलिएको थियो ।  यो स्टेडियमका एकदिवसीय क्रिकेटको एकै पालीमा सबैभन्दा बढी रन बनाउने खेलाडी भारतका विराट कोहली हुन् । कोहलीले सन् २०१४ को अक्टोबर १७ मा वेस्ट इन्डिजविरुद्ध एक सय २७ रन बनाएका थिए ।

भारतविरुद्धको सोही खेलमा वेस्ट इन्डिजका मार्लोन सामुएल्सले पनि एक सय १२ रन बनाएका थिए । इङ्ल्यान्डका ईयान बेललले पनि सन् २०१३ को जनवरी २७ मा भारतविरुद्ध अविजित एक सय १३ रन बनाएका थिए ।

खेल तालिका