बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
cover-story
हैदराबाद

राजीव गान्धी इन्टरनेशनल क्रिकेट स्टेडियम

राजीव गान्धी इन्टरनेशनल क्रिकेट स्टेडियम तेलंगनाको हैदराबादमा रहेको छ । त्यसैले यसलाई हैदराबाद क्रिकेट स्टेडियमको नामले पनि चिनिन्छ । यो क्रिकेट स्टेडियमको निर्माण सन् २००३ मा सम्पन्न भएको हो । 

यो स्टेडियममा टेस्ट, एकदिवसीय र टी—२० गरी तीनवटै ढाँचाको प्रतियोगिता आयोजना गरिसकिएको छ । यो रंगशालाको दर्शक क्षमता ५५ हजार रहेको छ । यो क्रिकेट रंगशाला करिब ६१ हजार स्क्वायर मिटर क्षेत्रफलमा फैलिएको छ ।  यो रंगशाला हैदरबाद क्रिकेट एसोसिएसनको घरेलु मैदान हो । यो स्टेडियमलाई इन्डियन प्रिमियर लिग क्लब सुनराइजर्स हैदराबादले पनि घरेलु मैदानको रूपमा प्रयोग गर्छ । यही रंगशालामा सन् २०१७ को इन्डियन प्रिमियर लिगको उद्धाटन र फाइनल खेल खेलाइएको थियो । 

सन् २०१९ को इन्डियन प्रिमियर लिगको फाइनल खेल पनि यही स्टेडियममा खेलाइएको थियो । यो रंगशालाको नाम भारतका पूर्वप्रधानमन्त्री राजीव गान्धीको नामबाट राखिएको हो । यो रंगशाला तयार हुनुअघि हैदराबाद क्रिकेट एसोसिएसनले बसिरबाघमा रहेको लालबहादुर शास्त्री रंगशालालाई आफ्नो घरेलु मैदानको रूपमा प्रयोग गर्थ्यो ।  यो क्रिकेट स्टेडियम ६५ करोड भारतीय रुपैयाँमा निर्माण गरिएको हो । यो रंगशालामा सन् २०१० को नोभेम्बर १२ देखि पहिलो टेस्ट खेलिएको थियो । उक्त टेस्ट भारत र न्युजिल्यान्डबीच खेलिएको थियो । तर, सन् २०१८ को अक्टोबर १२ देखि यो स्टेडियममा टेस्ट क्रिकेट आयोजना भएको छैन । अन्तिम टेस्ट भारत र वेस्ट इन्डिजबीच खेलिएको थियो । 

यसैगरी यो स्टेडियममा सन् २००५ को नोभेम्बर १६ मा पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाइएको थियो । उक्त खेल भारत र दक्षिण अफ्रिकाबिच खेलाइएको थियो । पहिलो टी—२० खेल भने सन् २०१७ को अक्टोबर ३ मा भारत र अस्ट्रेलियाबिच खेलिएको थियो । अन्तिम टी—२० पनि सन् २०२२ को सेप्टेम्बर २५ मा भारत र अस्ट्रेलियाबिच नै खेलाइएको थियो ।  यो स्टेडियमका पिचलाई ब्याट्सम्यानहरूका लागि उपयुक्त मानिन्छ । त्यसैले यो स्टेडियमको पिचमा तुलनात्मक रूपमा बढी रन बन्ने गरेको छ । यो स्टेडियममा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अस्ट्रेलियाले चार विकेट गुमाएर सर्वाधिक तीन सय ५० रन बनाएको छ । 

यो स्टेडियममा बनेको सबैभन्दा कम योगफल भने इङ्ल्यान्डको नाममा छ । इङ्ल्यान्ड यो स्टेडियममा एक सय ७४ रन बनाउँदै अलआउट भएको छ । यही स्टेडियममा भारतले सन् २०१९ मा पाँच सयौँ एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा जित हात पारेको थियो । 

यो स्टेडियममा सर्वाधिक रन बनाउने खेलाडी भारतका युवराज सिंह हुन् । उनले सन् २००५ देखि सन् २००९ को बिचमा यो स्टेडियममा तीन पाली खेल्दै दुई सय ३३ रन बनाएका छन् । सचिन तेन्दुलकरले तीन पालीमा दुई सय २० रन बनाएका छन् ।  यो रंगशालामा भारतका ओपनर ब्याट्सम्यान शुभमन गिलले दुई सय आठ रन बनाएका छन् । उनले सन् २०२३ को जनवरी २८ मा न्युजिल्यान्डविरुद्ध उक्त रन बनाएका हुन् । यसक्रममा उनले एक सय ४९ बलको सामना गरी नौ छक्का र १९ वटा चौका प्रहार गरेका थिए । 

यो स्टेडियममा उत्कृष्ट बलिङ प्रदर्शन गर्ने खेलाडी भने भारतका मोहम्मद सिराज हुन् । उनले यो स्टेडियममा एक पालीमा १० ओभर बलिङ गर्दै ४६ रन खर्चिएर चार विकेट लिएका छन् । उनले सन् २०२३ को जनवरी १८ मा न्युजिल्यान्डविरुद्ध यो सफलता हात पारेका थिए ।

खेल तालिका