शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

नौबिसे–नागढुङ्गा सडकको अवस्था दर्दनाक : साँघुरो सडकमा जताततै खाल्डाखुल्डी (भिडियो)

सरकार किन मौन ?
शुक्रबार, १० असोज २०७६, १९ : २०
शुक्रबार, १० असोज २०७६

काठमाडौँ । पृथ्वीराजमार्गस्थित नौबिसे–नागढुङ्गाको दुरी १४ किलोमिटर छ । प्रहरीका अनुसार उक्त सडकमा दैनिक करिब ३० हजारको हाराहारीमा सवारी साधन राजधानी भित्रिने र बाहिरिने गर्छन् ।

पछिल्लो ४ दिनदेखि उक्त ठाउँमा जाम यति भयानक छ कि नौबिसेबाट काठमाडौँ आइपुग्न घण्टौं लाग्ने गरेको छ । दसैँको मुखमा यात्रुहरु घण्टौँसम्म जाममा फसेका छन् । जामको कारण यात्रुदेखि प्रहरीसम्म दिक्क भइसकेका छन् ।

जो कोही पनि त्यहाँ पुग्दा देशमा सरकार छ र भन्दै आफैले आफैलाई प्रश्न गर्छन् ? कारण – सडकमा जताततै खाल्डाखुल्डी, पानी जमेको, हिल्लामे मात्रै देख्न सकिन्छ ।

प्रहरीलाई १४ किलोमिटरको बाटोमा कम्ता सास्ती छैन । नागढुङ्गाबाट खटिएका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काको टोलीले करिव दुईकिलो मिटर सिस्नेखोलासम्म र इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक रुकबहादुर खड्का आफै खत्रीपौवासम्मको बाटो खुलाउन खटिएका छन् । तर जाम एक प्रतिशत घट्दैन ।

सो ठाउँमा जाम नघट्नुको कारण हो, जीर्ण सडक । २ लेनको सडकमा जताततै खाल्डाखुल्डी र पानी जमेको मात्र देख्न सकिन्छ । जीर्ण राजमार्ग र सवारीको चापले गर्दा १५ मिनेटमा पुग्न सकिने ठाउँ पुग्न तीन घण्टा लाग्ने गरेको छ ।

उकालो बाटो, घुमाउरो मोड, ओभरलोडका सवारी र ओभरट्याकका कारण राजधानी छिर्ने मुख्य नाका नौबिसे–नागढुङ्गा सडकमा जाम हुँदा यात्रुहरुले हैरानी व्यहोर्नुपरेको छ ।

उकालो लाग्ने भागतर्फ चक्का बस्ने ठाउँमा २ फिटसम्मका खाडल परेका छन् । साना सवारीलाई त यो सडक अफरोडभन्दा खराब छ । ठूला सवारीहरु लोड बोकेर उकालो लाग्दा कति ठाउँमा चिप्लिएर ब्याक सर्छन् ।

धेरै माल बोकेर आएका सवारीसाधन विभिन्न ठाउँमा अघि बढ्न नसकेर रोकिन्छन् । त्यसकै असरले जाम विकराल बन्दो छ । अब दशैंअघि यो समस्या घट्ने हैन, बढ्ने अवस्था देखिएको नागढुङ्गाका प्रमुख इन्सपेक्टर ज्ञानबहादुर खड्का बताउँछन् ।

उकालोमा सवारी बिग्रँदा वा तान्न नसक्दा गाडी तान्नको लागि नागढुङ्गा प्रहरीले स्टयान्डबाई एउटा र्याकेट पनि राखेको छ । आजै मात्र उक्त र्याकेटले करिब ९ वडा गाडी सुरक्षित स्थानमा स्थानन्तरण गरेको नागढुङ्गाका इन्सपेक्टर खड्काले जानकारी दिए ।

राजधानी भित्रने मुख्य प्रवेशद्धार नाका नौबिसे–नागढुङ्गाका विभिन्न ठाउँमा सडक जीर्ण भएपछि जोखिम मोलेर यात्रुहरु यात्रा गर्न बाध्य भएको खानीखोलाका प्रमुख इन्सपेक्टर रुक बहादुर खड्काले बताए ।

खानीखोलाका इन्सपेक्टर खड्काले जामका कारण यात्रुले दुख नपाउन भने हेतुले प्रहरी कर्मचारी संवेदशील भएर खटिरहेको समेत जानकारी दिए । उनी थप्छन्, ‘सडकको अवस्था जीर्ण भएका बेला पानी पनि परिरहेकाले जाम बढ्दो छ । बाटो सुधारमा ध्यान दिन सकियो भने केहि हदसम्म व्यवस्थापनमा कमी आउँथ्यो ।’

‘नेपालको सबैभन्दा पूरानो राजमार्ग सरकारको बेवास्ताले जीर्ण बन्दै गएको छ,’ धादिङ खत्रीपौवाका स्थानीय सीता तामाङले भनिन्, ‘राजधानी प्रवेश गर्ने सडकमा खाल्डाखुल्डी र बढी मोड भएकाले दुर्घटना बढाएको छ ।’

सडक विभागको बेवास्ताको कारण नौबिसे–नागढुङ्गा सडकको अवस्था जीर्ण बनेको अर्का स्थानीय श्याम तामाङको आरोप छ । उनले भने, ‘खाल्डाखुल्डी परेका ठाउँ त कमसेकम राम्रोसँग पुर्न पर्छ नि । सबै काम गरेको जस्तो गरेर टारेको मात्र छ ।’

आखिर किन मौन छ त सडक विभाग ? किन चासो राख्दैन ? सर्वत्र किन आलोचना मात्र हुन्छ । नौबिसे–नागढुङ्गा वर्षौंनी सधैं यस्तै रहने हो ? यात्रुहरुले सधैं दुःख मात्र खेप्ने हो ? (जताततै खाल्डाखुल्डी, हिलाम्मे, पानी जमेको)


गन्तव्यमा पुग्ने ठेगान हुँदैन

जीर्ण सडकमा घण्टौँ सवारी जाम हुँदा काम विशेषले यात्रामा निस्केकाहरु कतिबेला गन्तव्यमा पुग्ने ठेगान हुँदैन । ‘राजधानी आवतजावत गर्ने भरपर्दो वैकल्पिक राजमार्ग पृथ्वी राजमार्गमा लामो समयदेखि सरकारको ध्यान गएको छैन’, चन्द्रगिरी नगरपालिकाका स्थानीय रोशन दानीले भने, ‘काम विशेषले यात्रा गर्नेहरुलाई हरेक दिनको जामले हैरानी व्यहोर्नुपर्ने हुन्छ ।’

‘साघुँरो सडक, उकालो बाटो, घुमाउरो मोडमा कतिबेला सवारी बिग्रने हो थाहा छैन्’ दानीले भने, ‘खाल्डाखुल्डी र सडकमा जमेको लेदो माटोले झनै दुर्घटनाको खतरा बढाएको छ ।’ कमजोर कालो पत्रे र क्षमता भन्दा बढी भार बोकेर सवारीका साधनहरु राजधानी आउने गरेका कारण सडकको अवस्था बिग्रँदो भएको हो ।

यता नागढुङ्गा–नौबिसे सडकमा जाम भएसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले आजदेखि सो ठाउँमा प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई नै खटाएको छ । नागढुङ्गादेखि सिस्नेखोलासम्म बाटो सारै जीर्ण भएकै कारण महाशाखाले ट्राफिक व्यवस्थापन गर्न भन्दै ट्राफिक प्रहरी निरीक्षक अनिल उप्रेतीको कमाण्डमा ९ जनशक्ति थप गरेको छ ।

यता महानगरीय प्रहरी परिसर काठमाडौँले पनि सो ठाउँको जाम व्यवस्थापनको लागि जनपथतर्फबाट १५ जना प्रहरी जनशक्ति थप गरेको परिसरका प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए । 

पानी परेको समस्यमा ठूलो मालवाहक सवारी साधनको लोड त्यसमाथि पनि बाटोको दैयनिय अवस्थाका कारण प्रहरीलाई समेत जाम खुलाउन हम्मेहम्मे परेको देखिन्छ ।

प्रहरीले उकालोका विभिन्न भागमा सवारी व्यवस्थापन गर्दे लेन मिलाउँदै आएका छन् । तर जाम एक प्रतिशत घट्न सकिरहेको छैन  । कारण हो, जीर्ण सडक र क्षमता भन्दाको दयनिय सडकको अवस्था । धेरै सवारी चल्ने सडकको अवस्था नै कमजोर हुँदा यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप