मनको भैलो
आइतबार, १० कात्तिक २०७६, ११ : १०
-साकारबाबु सुवेदी
उही सत्य त हो नि जीवन पर्व
हरेक साल हारै हारको नतिजा पछि,
आज तिहार जित्दै छन् मनहरूले ।
निष्पक्ष थापिएका निधारहरू
ईन्द्रधनुष समेट्न हतारोमै छन्
छेपारोझैँ रङ बदल्न नसक्ने तनहरूले ।
त्यही सानो आकारको लक्ष्मी न हुन्
मेरो मानो उठाउने भैलोको कथाहरू झैँ
थैलो बुझाउन असफल धनहरूले ।
सापेक्ष गोबरहरुले लिपिएको न छ
छिप्पिएको बैँसले पोतिएका पिँढीहरूमा,
हरित बन्न नसकेका मेरा आँगनहरुले ।
उही रक्त मिश्रित चिप्लो बाटो न हो जीवन
लड्ने अनि उठ्ने कमिलाको कहानीझैँ
दह्रो पाइला टेक्न नसकेका हरिभजनहरुले ।
परोक्ष दानवीर नै त हुन् अभावहरू
याचक फेर्ने बलि राजाका कथारूझैँ
व्यथा अपुग लाग्न नसकेका जीवनहरूले ।
त्यही पुरानो ल्याम्पपोस्टकै त हो प्रकाश
समय जुरेन अन्तर मनका जुनकिरीहरूलाई,
झिलिमिली बन्न नसकेका लगनहरूले ।
भैँसेपाटी, ललितपुर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण