शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

प्रचण्डको व्यङ्ग्य, ‘चुनावमा जमानत जफत भएका युवालाई अहिल्यै नेतृत्व चाहियो’

‘विदेशी षड्यन्त्र अन्तर्गत मेरो र माधव नेपालको घर जलाइयो, भदौको घटना इन्डो-प्यासिफिक रणनीतिको हिस्सा’
शनिबार, २० असार २०८३, १९ : २५
शनिबार, २० असार २०८३

सारांश

  • नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारका गलत कामविरुद्ध केही महिनाभित्रै सडक आन्दोलनमा जाने चेतावनी दिएका छन्।
  • प्रचण्डले हालै सम्पन्न निर्वाचन प्रक्रियामाथि गम्भीर प्रश्न उठाउँदै सामाजिक सञ्जाल र अल्गोरिदमको म्यानिपुलेसनमार्फत जनतामा भ्रम सिर्जना गरिएको आरोप लगाए।
  • चुनावमा जमानत जफत भएका युवाहरूले अहिले नेतृत्व छाड्न दबाब दिइरहेको भन्दै प्रचण्डले विधि र प्रक्रियामार्फत नेतृत्व हस्तान्तरण गर्न तयार रहेको तर अपमानित गरेर हटाउन खोज्ने प्रवृत्ति गलत भएको बताए।

रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारका गलत कामविरुद्ध केही महिनाभित्रै सडक आन्दोलनमा जाने चेतावनी दिएका छन्। 

शनिबार रुपन्देहीको बुटवलमा आयोजित नेकपा लुम्बिनी प्रदेश समितिको प्रथम एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सरकारले जतिसुकै गलत काम गर्दा पनि अहिले कोही बोल्न नसकेको भन्दै आफूहरू चुप लागेर नबस्ने बताए। उनले पार्टी अहिले 'बोल्ने बेला आउला' भनेर पर्खिरहेको बताउँदै आवश्यक पर्दा राम्रोसँग लड्ने स्पष्ट पारे।

केही समयअघि काठमाडौँमा भएका प्रदर्शन र आगजनीका घटनालाई प्रचण्डले भूराजनीतिक षड्यन्त्रको संज्ञा दिएका छन्। भदौ २३ र २४ गतेका प्रदर्शनहरू सुशासन वा राम्रो उद्देश्यका लागि नभई नेपालको भूराजनीतिमाथि हस्तक्षेप गर्ने ठुलो डिजाइन अन्तर्गत भएको उनको दाबी छ।

 भारत र चीनलाई नियन्त्रण गर्न नेपालमा अखडा बनाउने इन्डो-प्यासिफिक रणनीति अन्तर्गत नै आफ्नो र माधव कुमार नेपालको घर, पार्टी कार्यालय र सिंहदरबार जलाउने प्रयास भएको उनले बताए। आफूहरूले भ्रष्टाचार र दलालहरूविरुद्ध उभिएकै कारण यस्तो आक्रमणको सिकार हुनुपरेको प्रचण्डको भनाइ छ।

प्रचण्डले हालै सम्पन्न निर्वाचनलाई सामान्य मान्न नसकिने भन्दै निर्वाचन प्रक्रियामाथि गम्भीर प्रश्न उठाए। उनले उम्मेदवार नै नचिनेका र पृष्ठभूमि नै थाहा नभएकाहरूले चुनाव जितेको भन्दै यसमा 'दाल मे कुछ काला है' भन्दै शङ्का व्यक्त गरे। 

उदाहरण दिँदै उनले धनुषामा निर्वाचन आयोगले उम्मेदवारी खारेज गरिसकेको व्यक्तिले मातृका यादवको भन्दा तीन/चार गुणा बढी भोट पाएको अनौठो घटना सुनाए। सामाजिक सञ्जाल र अल्गोरिदमको म्यानिपुलेसनमार्फत जनतामा ठुलो भ्रम सिर्जना गरिएको र सत्य कुरा सुन्ने अवस्था नै नरहेको उनले गुनासो गरे।

आफू नेतृत्वको अघिल्लो सरकार ढल्नुको पछाडि भ्रष्टाचार विरोधी अभियान मुख्य कारण रहेको प्रचण्डले दाबी गरे। आफू प्रधानमन्त्री, वर्षमान पुन अर्थमन्त्री र नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा नेपालको इतिहासमै नभएको सुशासनको अभियान चलाइएको उनको भनाइ छ। ठुला राजनीतिक दलका नेता, कर्मचारी र दलाल पुँजीपतिहरू पक्राउ पर्न थालेपछि आत्तिएर कांग्रेस र एमाले मिलेको उनले बताए। आफ्नो भविष्य बर्बाद हुने डरले ती दुई दल रातारात मिलेर सरकार ढालेको प्रचण्डले आरोप लगाए।

पार्टीभित्रैबाट नेतृत्व पुस्तान्तरणको माग उठिरहेको सन्दर्भमा प्रचण्डले असन्तुष्टि व्यक्त गरे। उनले केही समय अगाडि मात्र केन्द्रीय समितिमा ल्याइएका र चुनावमा जमानत जफत भएका युवाहरूले अहिले नेतृत्व छाड्न दबाब दिइरहेको भन्दै आश्चर्य प्रकट गरे। आफू विधि र प्रक्रियामार्फत नेतृत्व हस्तान्तरण गर्न तयार रहेको तर बाहिर-बाहिर अपमानित गरेर नेतृत्वबाट हटाउन खोज्ने प्रवृत्ति गलत भएको उनले बताए।

नेतृत्व इतिहास र संघर्षले निर्माण गर्ने कुरा भएको बताउँदै उनले आफूलाई चुनौती दिएर बाहिरिएका मोहन वैद्य किरण, बाबुराम भट्टराई, नेत्रविक्रम चन्द विप्लव र जनार्दन शर्माको अवस्था अहिले कस्तो छ भन्दै व्यङ्ग्य गरे। बुढापाकालाई अपमान गर्नेहरूलाई डोकोमा राखेर भीरबाट खसाल्न खोज्ने कथा स्मरण गराउँदै प्रचण्डले अपमानित नगर्न चेतावनी दिए।

 उनले अहिल्यै पार्टी वा राजनीति नछाड्ने तर आगामी महाधिवेशनपछि आफ्नो रूप र भूमिका बदलेर भिन्न तरिकाले अगाडि बढ्ने योजना रहेको स्पष्ट पारे। उनले नेता तथा कार्यकर्तालाई अहिले अन्य पार्टीसँगको एकताको हल्लाको पछि नलागी महाधिवेशनको तयारीमा जुट्न निर्देशन दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप