आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा

आइतबार, २१ असार २०८३, ०४ : ५०
आइतबार, २१ असार २०८३

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ (राउन्ड अफ १६) अन्तर्गत आइतबार सम्पन्न खेलमा पाराग्वेलाई १–० गोल अन्तरले पराजित गर्दै साबिक उपविजेता फ्रान्स प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

अमेरिकाको फिलाडेल्फियामा आइतबार बिहान भएको प्रतिस्पर्धात्मक खेलमा प्राप्त जितसँगै फ्रान्सले अन्तिम ८ मा आफ्नो स्थान सुरक्षित गरेको हो । आजको खेलमा फ्रान्सको जित र क्वाटरफाइनल यात्राको मुख्य नायक केलियन एम्बाप्पे बने, जसको ७० औँ मिनेटको पेनाल्टी प्रहार नै खेलको निर्णायक गोल साबित भयो ।

आजको खेलको पहिलो हाफ निकै रक्षात्मक र आक्रामक बने पनि दुवै टोलीले खाता खोल्न सकेका थिएनन् र पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ६८औँ मिनेटमा नयाँ मोड आयो, जहाँ डिफेन्सिभ एरियामा भएको फललाई लिएर (भिएआर) भिडियो असिस्टेन्ट रेफ्री रिभ्युपछि रेफ्रीले फ्रान्सको पक्षमा पेनाल्टीको निर्णय गरेका थिए । सोही अवसरलाई सदुपयोग गर्दै ७० औँ मिनेटमा एम्बाप्पेले पेनाल्टी स्पटबाट कुनै गल्ती नगरी बललाई जाली चुमाएर टोलीलाई महत्त्वपूर्ण जित दिलाए ।

आजको खेलमा गरेको यस गोलसँगै एम्बाप्पेले समग्र विश्वकप इतिहासमा आफ्नो कुल व्यक्तिगत गोल संख्या १९ पुर्‍याएका छन् । उनी अब अर्जेन्टिनाका लियोनेल मेस्सीको २० गोलको सर्वकालीन विश्वकप कीर्तिमान बराबरी गर्न मात्र १ गोलले पछि रहेका छन् । यसका साथै, आजको गोलसँगै ७ गोल र २ असिस्ट सहित एम्बाप्पे जारी फिफा विश्वकप २०२६ को ‘गोल्डेन बुट’ को दौडमा पनि शीर्ष स्थानमा उक्लिएका छन् । उनले ७ गोल र कुनै असिस्ट नभएका लियोनेल मेस्सीलाई पछि पार्दै गोल्डेन बुटको आधिकारिक दौडमा पहिलो स्थान पक्का गरेका हुन् ।

यसअघि आजै भएको अन्तिम १६ को पहिलो खेलमा सह–आयोजक क्यानाडालाई ३–० को फराकिलो गोल अन्तरले पराजित गर्दै मोरक्को विश्वकपको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनिसकेको छ । मोरक्कोका लागि अज्जेदिन औनाहीले दुई तथा सुफियान राहिमीले एक गोल गरेका थिए । आजको खेलहरूबाट क्वाटरफाइनल यात्रा सुरक्षित गरेका मोरक्को र फ्रान्सबिचको भिडन्त आगामी शुक्रबार नेपाली समय अनुसार बिहान १ः४५ बजे हुने तय भएको छ । यो महाभिडन्तले विश्वकपको सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लगाउनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप