दिनभर विराटनगरको अनुगमन सकेर धरान लागे गृहमन्त्री गुरुङ
विराटनगर । गृहमन्त्री सुधन गुरुङ शनिबार बिहान विराटनगर आइपुगेका छन्। शुक्रबार नै उनी कोशी प्रदेशको छड्के अनुगमनमा निस्किएको चर्चा चले पनि शनिबार बिहान मात्रै उनी हवाई मार्ग हुँदै विराटनगर ओर्लिएका हुन्।
टोपी, कालो चस्मा र सेतो टी–सर्टमा सजिएका गृहमन्त्री गुरुङले दिनभर विराटनगरका विभिन्न सरकारी निकाय र सीमा नाकाको निरीक्षण गरे। दिनभरको व्यस्तता पछि उनी शनिबार साँझ नै सुनसरीको धरान प्रस्थान गरेका छन्।
विमानस्थलबाट गृहमन्त्री गुरुङ सिधै जिल्ला प्रशासन कार्यालय मोरङको नवनिर्मित भवन निरीक्षणका लागि पुगेका थिए। सो क्रममा प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जिल्लाको समग्र वस्तुस्थितिबारे उनलाई जानकारी गराएका थिए। भवनको अवलोकन गर्दै गृहमन्त्री गुरुङले प्रशासनको स्वामित्वमा पर्याप्त जग्गा रहेकाले एउटै परिसरबाट एकीकृत सेवा प्रवाह गर्न सके सेवाग्राहीलाई सहज हुने बताए।
विगतका आन्दोलनका क्रममा जलेका संरचना र हाल निजी क्षेत्रको सहयोगमा भइरहेको अस्थायी सेवा प्रवाहको निरीक्षण गर्दै उनले सेवाग्राहीले झन्झटमुक्त सेवा पाउने गरी कार्यस्थल व्यवस्थापन मिलाउन निर्देशन दिए। ‘एकद्वार प्रणालीबाट प्रवेश गरेका सेवाग्राहीले आफ्नो काम नसकिँदासम्म चारतिर धाउन नपरोस्,’ उनले भने।

जिल्ला प्रशासन कार्यालय बाहिर रहेको हनुमान मन्दिरमा पूजापाठ र शुभचिन्तकहरूसँग तस्बिर खिचाएपछि उनी कोशी प्रदेश प्रहरी कार्यालय रानी पुगेका थिए। त्यहाँ खाजासहितको सुरक्षा ब्रिफिङ लिएपछि उनले नेपाल–भारत सीमा नाका रानी र एकीकृत जाँचचौकी (आईसीपी) को निरीक्षण गरे। साथै, उनले आईसीपी नजिकै रहेको पुरातात्विक स्थल विराट राजाको दरबार क्षेत्रको समेत अवलोकन गरे।
आईसीपी परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री गुरुङले खुला सीमा नाकाबाट भइरहेको अवैध कारोबार रोक्न तीन तहकै सरकारले मिलेर काम गर्नुपर्नेमा जोड दिए। खुला सीमाका कारण जनशक्ति व्यवस्थापन र बस्ने संरचनाको अभाव रहेको उल्लेख गर्दै उनले भने, ‘सुरक्षा सबैलाई चाहिने भएकाले स्थानीय, प्रदेश र संघीय सरकार मिलेर सीमा क्षेत्रमा खटिने सुरक्षाकर्मीको व्यवस्थित आवासको प्रबन्ध मिलाउन जरुरी छ।’
सीमाबाट हुने अवैध कारोबार रोक्न अन्तर–सरकारी र अन्तर–मन्त्रालय समन्वय आवश्यक रहेको उनको भनाइ थियो। अवैध कारोबार रोकिँदा भन्सार महसुल र राजस्व बढेर राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने उनले बताए। सीमा क्षेत्रमा सीसीटीभी र निगरानी प्रविधिको अभाव औँल्याउँदै गृहमन्त्री गुरुङले आगामी साउनदेखि नयाँ बजेट कार्यान्वयनमा आएसँगै गृह मन्त्रालयले यसलाई प्राथमिकतामा राखेर सुधार गर्दै लैजाने प्रतिबद्धता जनाए।
सरकारले तस्करी र गुण्डागर्दीको अन्त्य चाहेको स्पष्ट पार्दै उनले सुशासनका हरेक पक्षमा सकारात्मक छाप देखिनुपर्ने बताए। मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोइरालाका अनुसार मोरङका विभिन्न कार्यालयहरूको अनुगमन, निरीक्षण र आवश्यक निर्देशनपछि गृहमन्त्री गुरुङ सुनसरीतर्फ प्रस्थान गरेका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडा–मोरक्को भिडन्त: पहिलो हाफमै आधा दर्जन पहेँलो कार्डको वर्षा
-
पहिलो हाफमा क्यानडा र मोरक्कोले खोल्न सकेनन् खाता
-
झापामा ७ लाख ६१ हजार मेट्रिकटन खाद्यान्न उत्पादन
-
अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध
-
क्वाटरफाइनल प्रवेशका लागि क्यानडा र मोरक्को आमनेसामने
-
पोर्चुगलको जङ्गलमा डढेलो, नियन्त्रणका लागि सयौँ अग्नि नियन्त्रक सक्रिय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण