बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

औद्योगिक क्षेत्र विश्वविद्यालय हो र म विद्यार्थी : मन्त्री भट्ट

आइतबार, १५ मङ्सिर २०७६, १७ : ३५
आइतबार, १५ मङ्सिर २०७६

काठमाडौं । उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले औद्योगिक क्षेत्र विश्वविद्यालय र आफू त्यसको विद्यार्थी भएको बताएका छन् । 

आइतबार राजधानीमा नेपाल उद्योग परिसंघद्वारा आयोजित नवनियुक्त मन्त्रीको स्वागत कार्यक्रममा बोल्दै मन्त्री भट्टले यस्तो बताएका हुन् । 

कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री भट्टले उद्योग क्षेत्रमा आफू नयाँ भएकाले त्यति ज्ञान नभएको तर सिक्दै र प्रयोग गर्दै जाने बताए । 

‘मेरा लागि औद्योगिक क्षेत्र विल्कुल नयाँ क्षेत्र हो । यो क्षेत्रमा मलाई त्यति ज्ञान छैन तर तपाईँहरुको सहकार्यमा सिक्दै र प्रयोग गर्दै जानेछु ।’ मन्त्री भट्टले भने, ‘यो मानेमा तपार्इँहरु विश्वविद्यालय र म त्यसको विद्यार्थी हुँ ।’
यसै अबसरमा मन्त्री भट्टले आफू सफल भएमात्र औद्योगिक क्षेत्र सफल हुने भन्दै आफूलाई सहयोग गर्न उद्योग व्यवसायी तथा सरोकार निकायलाई आग्रह गरेका छन् ।

 उद्योग क्षेत्रमा भए गरेका समस्या समाधानका लागि आफू हरपल तयार भएको भन्दै उनले समस्या र समस्या समाधानका उपायसहित आउन व्यवसायीहरुलाई आग्रह गरेका छन् । ती समस्या सुल्झाउन आफूले सक्दो सहयोग गर्ने पनि उनले प्रतिवद्धता जनाए । 

यता, उद्योग क्षेत्रमा व्यवसायीहरुलाई उद्योग, फर्म तथा कारखानाको दर्ता, नवीकरणलगायत प्रक्रियामा नै झमेला हुने गरेको भन्दै मन्त्री भट्टले त्यस्तो समस्या तत्काल समाधान गर्न र रजिष्ट्रार कार्यालयलाई व्यवस्थित गर्न सचिवलाई निर्देशन गरेको बताएका छन् । 

‘उद्योग क्षेत्रको सुरुवात कम्पनी दर्तामा नै समस्या हुने गरेको गुनासाहरु आउने गरेका छन् । यस्तो समस्या समाधानका लागि ठोस कदम चाल्न मैले सचिवलाई निर्देशन गरिसकेको छु,’मन्त्री भट्टले भने, ‘अब कम्पनी रजिष्ट्रेसन कार्यालयमा टोकन सिष्टम हुनेछ । सेवाग्राहीहरुलाई बस्ने र कुर्ने सिटहरु राखिने छ । अनि सेवाग्राहीले फाइल बोकेर कोठा–कोठा धाउनु पर्ने समस्यालाई समाधान गर्दै एकै स्थानबाट सबै काम पूरा हुने कार्याप्रणालीको विकास हुँदैछ ।’

यता, उद्योग परिसंघको तर्फबाट अध्यक्ष सतिश कुमार मोरले उद्योग, व्यवसायमा व्यवसायीहरुले अनावश्यक दुृःख भोग्नु परिरहेको भन्दै उद्योग क्षेत्रमा राज्यले नीतिगत रुपमै सुधार गर्नु पर्ने औँल्याए । 

केही समय अघिसम्म राज्यको अर्थतन्त्र जीडीपीमा १२–१३ प्रतिशत योगदान रहेकोमा अहिले ५ प्रतिशतमा झरेको बताउँदै उद्योग क्षेत्रको भविष्य सुधारमा लाग्नुपर्ने उनको भनाई रहको थियो ।
‘सम्वृद्ध नेपाल सुखी नेपाली’को परिकल्पनामा सरकारलाई सक्दो सहयोगी गर्न उद्योग व्यवसायीहरु तयार भएको बताउँदै उनले त्यसको उचित वातावरण तयार गरिदिन मन्त्री भट्टलाई आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप