दशैँ अगाडि नै सरकारले दिने सामाजिक सुरक्षाभत्ता अझै वितरण भएन
जिल्लाका वृद्धवृद्धा, बालबालिका, अपाङ्गता भएका व्यक्तिहरु सरकारले दिने सामाजिक सुरक्षाभत्ता पाउनबाट वञ्चित भएका छन । सात गाउँपालिका रहेको हुम्लामा दशैँ अगाडि नै सरकारले दिने सामाजिक सुरक्षाभत्ता वितरण अहिलेसम्म हुनसकिरहेको छैन । जिल्लाको चङ्खेली गाउँपालिकाबाहेक अन्य छ पालिकाले सामाजिक सुरक्षाभत्ता वितरण गर्न ढिलाइ गरेका छन् ।
भत्ताबाट आएको रकमले न्यानो र नयाँ कपडा किनौँला, केही मिठोमसिनो खाउँला भन्ने सोच राखेका वृद्धवृद्धालाई गाउँपालिकाले भत्ता साउनमै उपलब्ध गराउनुपर्नेमा अहिलेसम्म वितरण नगर्दा निकै खल्लो लागेको सिमकोट गाउँपालिका–२ निवासी मैना बोहराले गुनासो गरे । आफूले पाएको भत्ताले जाडोमा न्यायो कपडा किन्ने सोच गरे पनि आशा मात्रै हुने उहाँले गुनासो गर्नुभयो । यस्तै सिमकोट गाउँपालिका–५ निवासी अदनसिंह रावत साउनदेखि पहिलो चौमासिकतर्फको भत्ता वितरण नगरेको गुनासो गरे ।
छ गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण नगर्दा पाँच वर्षमुनिका बालबालिका, ६० वर्षमाथिका वृद्धवृद्धा, एकल तथा विधवा र अशक्त अपाङ्गता भएका व्यक्तिले भत्ता नपाएको गुनासो गरेका छन् । गाउँपालिकाका वडा नं १ देखि ८ सम्मका व्यक्तिहरुलाई सामाजिक सुरक्षा भत्ता लेखापाल नभएकाले वितरण गर्न ढिलाइ भएको सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले जानकारी दिए ।
आठवटै वडाका वडाध्यक्षले रकम निकासाका लागि चासो नदिँदा अहिलेसम्म सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकिएको उनको भनाइ थियो । वडाध्यक्षहरुले आफ्नो वडामा रहेका वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति, एकल महिला, बालबालिकाको विवरण पालिकामा नबुझाउँदा ढिलाइ भएको उनले जानकारी दिए । उनका अनुसार गाउँपालिकामा लेखापाल आएपछि रकम निकासा गरी अबको एक÷दुई दिनभित्र रकम वितरण गरिने छ ।
यस्तै जिल्लाको अदानचुली गाउँपालिकाले कर्मचारीको अभावले चौमासिकतर्फको भत्ता वितरण गर्न नसकिएको बताएको छ । अदानचुली गाउँपालिकामा रहेका छ वडामा एक मात्रै सचिव रहेको हुँदा काम गर्न समस्या भएकाले वितरणमा ढिलाइ भएको पालिका अध्यक्ष दल फडेराले जानकारी दिए । भत्ता रकम आए पनि रकम निकासा गर्नका लागि कर्मचारी समायोजनले गर्दा लेखापालको सरुवा भएको हुँदा र रकम निकासा नभएको उनको भनाइ थियो ।
खार्पुनाथ गाउँपालिकामा पनि सुरक्षाभत्ता वितरण हुन सकेको छैन । पालिकाले रकम निकासा गरे पनि उपनिर्वाचनलगायत विभिन्न कारण देखाउँदै वितरण गर्न नसकिएको गाउँपालिकाका अध्यक्ष कर्ण रावलले जानकारी दिए । त्यस्तै सर्केगाड गाउँपालिकाले पहिलो किस्ताको प्रथम चौमासिक वितरण गरे पनि दोस्रो चौमासिक भत्ता वितरण गर्न सकेको छैन ।
यस्तै ताँजाकोट गाउँपालिकाले पनि सुरक्षाभत्ता वितरण गर्न ढिलाइ गरेको छ । नाम्खा गाउँपालिकामा पनि अब केही दिनमा रकम निकासा गरी वितरण गर्ने अध्यक्ष विष्णु लामाले जानकारी दिए । जिल्लाको चङ्खेली गाउँपालिकाले अहिलेसम्मको सबै सामाजिक सुरक्षाभत्ता वितरण गरेको उपाध्यक्ष विमला शाहीले जानकारी दिए ।
भत्ताको रकमबाट लत्ताकपडालगायतका विभिन्न खर्च चलाउँदै आएका वृद्धवृद्धा लामो समयसम्म भत्ता नपाउँदा निकै समस्यामा परेका छन् । कर्मचारी समायोजनका कारण र सामाजिक सुरक्षाभत्ता पाउने व्यक्तिको रेकर्ड नहुँदा रकम निकासामा ढिलाइ भएको हो । दुर्गम क्षेत्रका अधिकांश ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाभत्ताकै भरमा जीवन निर्वाह गर्नुपर्ने बाध्यता छ ।
सरकारले ६० वर्ष उमेरका ज्येष्ठ नागरिकलाई मासिक रु एक हजार, ७० वर्षभन्दामाथिका ज्येष्ठ नागरिक र पूर्ण अपाङ्गता भएका व्यक्तिलाई रु २ हजार, आंशिक अपाङ्गता भएका व्यक्तिलाई रु ६००, एकल महिलालाई रु एक हजार, बालबालिकालाई रु २०० उपलब्ध गराउने प्रावधान बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत पाटनको कार्यसम्पादन : लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट, २ वर्ष नाघेका मुद्दा शून्य
-
अमेरिकामा पाकिस्तानको नयाँ कूटनीतिक पहल
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाले आत्महत्या गर्छु भनेपछि....
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण