शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओखलढुंगामा सडक निर्माणमा ढिलाइ भएपछि पूर्वसांसद खतिवडाको टोली पुग्यो सरकारी अड्डामा

सोमबार, २३ मङ्सिर २०७६, १९ : ४०
सोमबार, २३ मङ्सिर २०७६

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले ओखलढुंगामा सडक निर्माणमा ढिलाई भएको भन्दै भौतिक योजना तथा पूर्वाधार मन्त्री बसन्त नेम्वाङलाई ज्ञापन पत्र बुझाएका छन् ।

खतिवडाले काँग्रेस ओखलढुंगाका जिल्ला सभापति प्रदीपकुमार सुनुवारसहित दुई दर्जन बढी नेताका साथ सोमबार सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री नेम्वाङलाई भेटेर सडक र पुलहरू यथाशीघ्र सम्पन्न गर्न दवाव दिएका हुन् ।

कम्युनिस्ट सरकार बनेपछि ओखलढुंगामा नयाँ कार्यक्रमहरू नगएको भन्दै काँग्रेसका पालामा शुरु भएका कामहरूपनि  सुस्तगतिमा अगाडि बढेको मन्त्रीसामु गुनासो गरेका थिए ।

‘ओखलढुंगामा वर्षातको समयमा नाकाबन्दी हुने अवस्था रहेको छ । यो सरकार बनेपछि नयाँ कार्यक्रम र योजना त गएका छैनन् । काँग्रेसको सरकारका पालामा शुरु भएका सडक र पुलहरू पनि अगाडि बढ्न सकेका छैनन्’, उनले भने, ‘ती आयोजनाहरू समयमा पूरा होस् भनेर दवाव दिन मन्त्रीलाई ज्ञापन पत्र बुझाएका हौँ ।’

मन्त्री नेम्वाङले आफू भरखरै मन्त्री बनेर आएको बताउँदै ओखलढुंगाको समस्या समाधान गर्न मातहतलाई निर्देशन दिने बताए ।

नेम्वाङले बजेट अभाव भएमा अर्थमन्त्रालयसँग माग गरेर भएपनि सडक र पुलहरू सम्पन्न गर्ने आश्वासन दिए । यस्तै खतिवडाको टोलीले अर्थमन्त्री डा.युवराज खतिवडालाई पनि भेटेर ओखलढुंगाका सडक र पुल निर्माणमा बजेट अभाव हुन नदिन आग्रह गरेको छ ।

अर्थमन्त्री डा.खतिवडाले पनि सकारात्मक जवाफ दिएका छन् ।  खतिवडासहितका ओखलढुंगाका स्थानीयले ललितपुरको पुल्चोकस्थित सडक विभागका महानिर्देशक केशवकुमार शर्मालाई पनि भेटेर पुल र सडकहरूको काम छिटो पूरा गर्न दवाव दिएको छन् ।

महानिर्देशक शर्माले पनि ओखलढुंगाका सडक र पुलको काम पूरा गर्नका लागि बजेट अभाव रहेको भन्दै प्रदेश सरकार र स्थानीय तहसँग क्षेत्राधिकारलाई लिएर विवाद हुँदा काम गर्न समस्या भएको बताए ।

उनले सडक र पुलको काम सम्पन्न गर्न देखिएका समस्यालाई नीतिगत रुपमा समाधान गरेर काम अगाडि बढाउने आश्वासन दिएको नेपाली कांग्रेसका युवा नेता खतिवडाले बताए ।

नेपाली कांग्रेसको पालामा ओखलढुंगा जिल्लामा २०७० र त्योभन्दा अगाडि शुरु गरेको बाटाघाटा, पुलका कामहरू हाल बन्द जस्तै भएको भन्दै खतिवडासहितका ओखलढुंगेलीहरूले तुरुन्त ती कामहरू सम्पन्न गर्न दवाव दिएका हुन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप