प्रम ओलीलाई बालबालिकाका प्रश्नैप्रश्न : ‘बाल्यकालमा प्रधानमन्त्री बन्ने कल्पना गर्नुभएको थियो ?’
काठमाडौँ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकाहरुले सोधेका प्रश्नको उत्तर दिएका छन् । बालबालिकालाई प्रधानमन्त्रीसँग अन्तर्क्रिया गर्ने चाँजोपाँजो मिलाएको थियो नेपाल स्काउटले ।
राजधानीको कमलादीमास्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘नयाँ वर्ष नयाँ पाइला, बालबालिकासँग प्रधानमन्त्री’ नामक उक्त कार्यक्रममा बालबालिकाले प्रधानमन्त्री ओलीलाई विभिन्न प्रश्न गरेका थिए । काठमाडौं
उपत्यकामा रहेका विभिन्न स्कुलबाट आएका बिद्यार्थीहरु आफ्ना अगाडि मञ्चमा बसेका प्रधानमन्त्रीले दिएको उत्तर सुनेर उत्साहित देखिन्थे ।
बालबालिकाहरुले प्रधानमन्त्री ओलीलाई बाल्यकालको स्वाभाव, लक्ष्य, राति देख्ने सपना, बालबालिकाका लागि गरेका काम लगायत विभिन्न विषयमा प्रश्न गरे ।
कार्यक्रमको सुरुमा उनलाई बिनम्र श्रेष्ठले बाल्यकालमा हजुरको लक्ष्य के थियो ? यो देशको प्रधानममन्त्री बन्छु भनेर कल्पना गर्नुभएको थियो कि थिएन ? भनेर प्रश्न गरेका थिए । सो प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले कुनै विकास नभएको दुर्गम गाउँमा जन्मिएको स्मरण गर्दै त्यतिबेला देशमा कुनै राजमार्ग बाटो, विकास केही नभएको बताए ।
उनले भने–‘गाउँको एउटा साधारण किसान परिवारको बालकले यो देशको प्रधानमन्त्री हुन्छु जस्तो सपना देख्नु, परिकल्पना गर्नु सम्भव कुरा पनि थिएन। मैले बाल्यकालमा भेटेका मान्छेहरुमध्ये मेरा गुरुहरु सबैभन्दा ठूला मान्छे थिए । मलाइ पनि गुरुहरु जस्तै पढेलेखेको एउटा मास्टर बन्ने इच्छा थियो । अलि पछाडि मैले मेरा गुरुहरु भन्दा पनि विद्वानहरु भेट्न थालेपछि अलिक विद्वान मान्छे बन्ने रहन लाग्यो ।’
उनले पछि समाजका बेठीक कुराहरु देखेपछि त्यसलाई परिवर्तनका लागि आन्दोलनमा लानुपर्ने थाहा पाएर निरङ्कुशतन्त्र र तानाशाही व्यवस्थामा विरुद्ध मर्न परे पनि मर्छु, जेल जानुपरे जान्छु भन्ने भावनाका साथ देशमा सामाजिक न्याय, समानता, जनतालाई अधिकारसम्पन्न बनाउने जस्ता उपलब्धी हासिल गर्छु भनेर लागि परेको बताए ।
उनले भने, ‘मेरो उद्देश्य देशमा सकारात्मक परिवर्तन ल्याउने, लोकतन्त्र ल्याउने, निरङ्कुशतन्त्र ढाल्ने थियो । त्यसका निम्ति दुःख ब्यहोर्नुपरे पनि व्यहोरौँला, जीवन दिनु परे दिउँला भनेर लागे । प्रधानमन्त्री बन्ने कल्पना पनि थिएन। त्यसका लागि लाग्दा गिरफ्तार हुने र जेल जाने गर्नुपर्या । जेलमा भएका बेला अहिले मार्छ कि भरे मार्छ, अहिले मर्छु कि भरे मर्छु, जस्तो स्थितिमा प्रधानमन्त्री हुन्छु भन्ने विपरित सपना देख्नु भनेको मुर्खतापूर्ण कुरा हुन्थ्यो ।’
उनले त्यतिबेलाको अवस्थामा प्रधामन्त्री बन्ने कल्पनाको कुरा पनि टाढा भएकोले अहिलेको स्थिति भए छुट्टै हुने बताए । उनले आफू योजना बनाएर, कल्पना गरेर भन्दा पनि परिस्थितिले प्रधानमन्त्री भएको उल्लेख गरे ।
बालबालिकाको अर्को प्रश्न प्रधानमन्त्री बन्न इच्छा राख्नेहरुलाई के सुझाव दिनुहुन्छ भन्ने थियो । जवाफका प्रधानमन्त्री ओलीले आफूले जे कुरामा सफलता पाउन मन लागेको छ त्यसमा इमान्दार हुन सुझाव दिए । उनले अहिले देशमा ठूलो परिवर्तन आएकाले, देशको परिस्थिति राम्रो भएकोेले आफ्ना सपनाहरु पूरा गर्न सकिने अवस्था रहेको बताए ।
उनले भने, ‘हिजो परिस्थिति बेग्लै थियो। आज भिन्न परिस्थिति भएकाले आजका युवाहरुले प्रधानमन्त्री हुन्छु भनेर सोच्न सक्छन् । र, आफ्ना उद्देश्यहरु कसैले डाक्टर बन्ने, कसैले इन्जिनियर बन्ने हुन्छन् । त्यतिबेला मेरो समयमा, मेरो गाउँमा डाक्टर इन्जिनियर बन्छु भन्ने कुनै अवस्था थिएन। त्यतिबेला न डाक्टरीको पढाइ न इन्जिनियरको पढाइ हुन्थ्यो । भर्खर स्कूल खुल्न थालेका थिए । लक्ष्मीप्रसाद देवकोटाले उद्देश्य के लिनु उडी छुनु चन्द्र एक भनेजस्तै महान लक्ष्य लिनुपर्छ । त्यसका लागि इमान्दार प्रयास गर्नुपर्छ ।’
उनले सगरमाथा चढ्ने उद्देश्य राखेर ओरालोतिर हिँडेर सफलता प्राप्त गर्न नसकिने बताए । आमा आउँदा पढेजस्तो गर्ने गएपछि पढेन भने पनि सफलता पाउन नसक्ने बताए ।
मार्क्स, एगेल्सजस्ता विद्धानले २८–३० वर्षको उमेरमा संसार हल्लाउने विचार प्रतिपादन गरेको बताउँदै यूवा अवस्थाले नै भविष्यको निर्धारण गर्ने भएकोले समय खेर फाल्न नहुने बताए । समयको सदुपयोगबाटै गन्तव्यमा पुग्न सकिने उनको भनाइ थियो ।
यस्तै बालिका निलिसा दाहालले हाम्रो भविष्यको निर्णय किन सानै उमेरमा लिइन्छ भनेर सोधेकी थिइन् । उनको प्रश्नको आशय सानै उमेरमा महिलाको बिहे हुने गरेको तर्फ पनि थियो । प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले बालबालिकाको सानै उमेरमा बिहे गराइदिएर उनीहरुको भविष्य तोकिदिने कुरा सामाजिक पछौटेपन र सामाजिक अशिक्षाले बनाएको बताए । यस्तै गरिबीका कारण पनि बैज्ञानिक बन्ने बालक आमाको छेउमा गिट्टी कुट्न बाध्य हुने बताए ।
बालबालिको प्रतिभा, क्षमता अनुसार सोही क्षेत्रमा लगाएमा उसको भविष्य उज्वल हुने प्रधानमन्त्री ओलीको भनाइ छ । उनले भने, ‘मलाई गीत संगीतमा लगाएको भए म असफल हुन्थेँ । हरेक मान्छेको प्रतिभा फरक फरक हुन्छ, उसलाई प्रतिभा चिनेर लगाइयो भने ठूलो उपलब्धि हासिल गर्न सक्छ । बालबालिकाको रुचि क्षमता के छ त्यो अवसरमा लगायो भने उसले असाधारण उन्नति गर्छ ।’
कृषकुमार यादवले हरेक बालबालिकाहरुको स्वभाव फरक फरक हुने बताउँदै प्रधानमन्त्रीको स्वभाव कस्तो थियो भनेर जिज्ञासा राखेका थिए । उनले बाल्यकालमा औषत बालबालिकाको जस्तै आफ्नो स्वभाव रहेको बताउँदै पढ्न भन्दा खेल्न बढी रुचि लाग्ने रहेको बताए । खाना बनाउने, भाँडा माझ्ने, कपडा धुने सबै काम आफूले गर्ने गरेको स्मरण पनि गरे ।
बालबालिकाहरुले उनलाई तपाइँको प्रेरणाको स्रोत के हो, फुर्सदको समयमा के गर्नुहुन्छ ? कस्ता सपनाहरु देख्नुहुन्छ ? अहिलेको शिक्षाले आगामी १० वर्षपछिको प्राविधिक उद्देश्य प्राप्त गर्छ ? तपाइँ जस्तै अथाह ज्ञान पाउन कसरी पढ्ने होला? विद्यार्थी राजनीतिमा लाग्नुहुन्छ कि हुँदैन ? बालबालिकाका लागि तपाईले के–के काम गर्नुभयो ? जस्ता प्रश्न गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण