आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

प्रदेश ३ को राजधानीबारे औपचारिक छलफल सुरु : हेटौंडादेखि काभ्रेसम्मको चर्चा

बुधबार, २३ पुस २०७६, १८ : ०६
बुधबार, २३ पुस २०७६

काठमाडौं । प्रदेश–३ को नाम र राजधानीबारे प्रदेशसभामा छलफल सुरु भएको छ । प्रदेशको अस्थायी राजधानी हेटौंडामा सुरु बैठकमा बुधबारबाट प्रदेशको स्थायी राजधानीबारे औपचारिकरुपमा छलफल सुरु भएको हो । 

यसअघि प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रदेशको स्थायी राजधानी र नाम टुंग्याउन बैठकमा प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको प्रतिवेदन छलफलका लागि प्रस्तुत गगर्ने निर्णय गरेको थियो ।

सोही अनुसार प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिका संयोजक दीपक निरौलाले प्रतिवेदनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेपछि सांसदहरुले प्रतिवेदनमाथि आआफ्ना धारणा राखेका थिए । सांसदहरुले प्रदेशको राजधानी आफूअनुकुल हेटौंडा, काभ्रे, भक्तपुर चितवन र नुवाकोट राजधानी राख्नुपर्ने धारणा राखेका छन् । 

विशाल खड्का 
 छलफलमा भाग लिदै सत्तारुढ नेकपाका प्रदेशसभा सदस्य विशाल खड्काले संघीयतालाई कसरी स्थापित गर्ने, प्रदेश सरकारलाई कसरी स्वायत्त बनाउने भन्ने हिसाबले प्रदेशको नाम र राजधानीसम्बन्धी विषयमा प्रदेशसभाले विवेक प्रयोग गर्नुपर्ने बताए ।

उनले राजनीतिक परिवर्तनपछि मुलुकमा संघीयता आएको जिकिर गर्दै सोचमा अझै परिवर्तन आउन नसकेको बताए । उनले अझै पनि एकात्मक खालको सोच कायम रहेको उल्लेख गर्दै संघीयतालाई कसरी स्थापित गर्ने भन्ने विषयमा जवाफ दिनुपर्ने बेला भएको प्रष्ट पारे । राजधानी तोक्दा प्रदेशका जनतालाई कति सुगम हुन सक्छ भनेर जवाफ दिन सक्नुपर्ने उनको भनाइ थियो ।

पुकार महर्जन 
 यस्तै, नेपाली कांग्रेसका प्रदेशसभा सदस्य पुकार महर्जनले प्रदेशको नाम र राजधानीका बारेमा पेश भएको सम्भाव्यता अध्ययन समितिको प्रतिवेदनमाथि छलफल गर्नुको औचित्य नै नरहेको बताए । ‘प्रतिवेदनमाथि छलफल गर्नुको अर्थ म देख्दिनँ, किनकि निर्णय नै ल्याइसकिएको छ,’ उनले भने, ‘नेकपा सचिवालयले आदेश जारी गरिसकेको छ ।’

उनले संविधानभन्दा माथि कोही नहुने प्रष्ट पार्दै भने, ‘राजधानी तोक्ने अधिकार संविधानले प्रदेश सभालाई दिएको छ, सपथ खाएको दुई वर्ष पुग्दा पनि राजधानी र प्रदेशको नाम तोक्न नसकेर नेकपाको सचिवालयसँग गुहार मागिएको छ । सचिवालयले तोकेर पठाएको छ ।’

अझै पनि एकात्मक सोच पालेर परिवर्तनका कुरा गर्नु उपयुक्त नहुने उनले बताए ।

विजया श्रेष्ठ 
 काँग्रेस सांसद विजया श्रेष्ठले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले हेटौंडामा अस्थायी राजधानी तोकेको भन्दै अहिले नेकपा सचिवालयले अहिले हेटौडा राजधानी राख्न दिएको निर्देशनको विरोध गरिन् । उनले यसरी निर्देशन दिनु प्रदेश सभाको अपमान भएको भन्दै हेटाैँडा नै राजधानी हुनुपर्ने बताइन् । 

उनले आफू ललितपुरको भएपनि बृहत अध्ययन गरेर अस्थायी राजधानी राखेको र हेटौंडा प्रमुख नाका वीरगञ्ज नजिक भएकाले हेटौंडा नै उपयुक्त हुने बताइन् । 

उनले प्रदेश सरकार कहाँ छ भन्ने जनताको गुनासो रहेको भन्दै सरकारले प्रभावकारी काम गर्नुपर्ने बताइन् । अर्की प्रदेशसभा सदस्य प्रतिमा श्रेष्ठले प्रदेश ३ को राजधानी र नामाकरण सम्बन्धी सम्भाव्य प्रतिवेदनमाथि छलफलमा भाग लिदै जनतालाई पायक पर्ने ठाउमा राजधानी राख्नुपर्ने बताइन् । उनले प्रदेश सभाले गरेको सम्भाव्यता अध्ययन समितिको प्रतिवेदनले औल्याएको प्राथमिकताका आधारमा राजधानी र नामाकरण गर्नुपर्ने धारणा राखिन् ।

नरोत्तम वैद्य 
 प्रदेश ३ को स्थानीय राजधानीबारे प्रदेश सभामा सुरु भएको प्रस्तावमाथिको छलफलमा काँग्रेस सांसद नरोत्तम वैद्यले प्रतिवेदन नै गोलमटोल रहेको बताएका छन् । उनले यो प्रतिवेदन हो कि होइन ? भन्दै विरोध गरेका छन् ।

त्यस्तै उनले काभ्रे भक्तपुर, नुवाकोट जहाराखेपनि हुन्छ भनेर प्रतिवेदनले अन्यौल थपेको बताए ।  ‘यसका आधारमा निर्णय हुन सक्दैन । हामीले कार्यदल किटानी गर्न बनाएको हो । हचुवा प्रतिवेदन आएको छ । ७ लाख रुपैयाँ खर्च मात्रै गरिएको छ । प्रतिवेदनको गुह्य हेर्दा भक्तपुरमा राख्नुपर्छ भनेजस्तो भएपनि भक्तपुरमा संघ सरकारले काम गर्न दिदैन’, उनले भने ।  उनले हरेक हिसावले प्रदेश ३ को राजधानी काभ्रे नै उपयुक्त हुने पनि बताए । मकवानपुर त अन्तिम विकल्प भएको वैद्यको भनाइ छ । 

कृष्णलाल भडेल 
 नेकपाले राजधानीबारे ह्वीप जारी गर्नु नै दुर्भाग्य भएको भडेलले बताए । उनले भने, ‘यो त राणा र राज फर्कने होकी जस्तै लागेको छ । प्रदेशको राजधानी सवै दृष्टिकोणले भक्तपुरमा हुनुपर्छ । नामाकरण चागुनारायण हुनुपर्छ ।’
मीना ज्ञवाली 
यस्तै मीना ज्ञवालीले प्रतिवेदनमाथि छलफल गर्न नै ढिलाई भएको भन्दै यसलाई राम्रो भन्न नसकिने बताइन् ।  

शान्तिप्रसाद पौडेल 
यस्तै शान्तिप्रसाद पौडेलको संघीयताको कार्यन्वयन र राज्यका सेवा सहज रुपमा वितरण हुनपर्ने जोड छ । उनको भनाइ छ, ‘संघीयताको कार्यान्वयन र राज्यका सेवा सहज रुपमा वितरण हुनपर्छ । यसकारण राजधानीको कुरा गरिरहेका छौ । प्रदेश ३ को ५५ लाख जनसंख्यामध्ये ७७ प्रतिशत जनतालाई काभ्रेमा राजधानी पायक पर्छ । सिन्धुलीको गढी पूर्वको समेत संख्या जोड्दा यो संख्या काभ्रेको पक्षमा अझ बढ्न पुग्छ । यी तथ्यबाट हामीले न्याय खोज्नुपर्छ ।’ प्रतिवेदनमाथिको छलफल जारी रहेकाले प्रदेश सभाको अर्को बैठक बिहीबार पुनः बस्नेछ । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप