मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

पीएसजीमा इकार्डीको ह्याट्रिक

बिहीबार, २४ पुस २०७६, १० : १२
बिहीबार, २४ पुस २०७६

माउरो इकार्डीले ह्याट्रिक पूरा गरेसँगै पेरिस सेन्ट जर्मन (पीएसजी) फ्रेन्च लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा पीएसजीले १० खेलाडीमा सिमित सेन्ट इटिनेलाई ६–१ गोलले हरायो । पीएसजीको सानदार जितमा माउरो इकार्डीको ह्याट्रिकसँगै नेयमार र केलियन एमबाप्पेले एक एक गोल गरे । पीएसजीले अर्को गोल आत्मघाती उपहार पाएको थियो । सेन्ट इटिनेका लागि योहान कावयले सान्त्वना गोल फर्काए ।

खेलको सुरुवातदेखि सेन्ट इटिनेलाई दबाबमा राखेको पीएसजीले दोस्रो मिनेटमै गोलको खाता खोलेको थियो । इकार्डीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । ३१औं मिनेटमा वेस्ले फोफाना दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएपछि सेन्ट इटिने १० खेलाडीमा समेटिएको थियो । त्यसपछि पीएसजीले भरपुर फाइदा उठायो ।

३९औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए । ४४औं मिनेटमा सेन्ट इटिनेका जेसी मौलिनले आत्मघाती गोल गरेपछि थप बलियो बन्यो । ४९औं मिनेटमा इकार्डीले ब्यक्तिगत दोस्रो गोल थपे । इकार्डीले ५७औ मिनेटमा अर्को गोल गर्दै ह्याट्रिक पूरा गरे । ६७औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई फराकिलो अग्रता दिलाए । ७१औं मिनेटमा सेन्ट इटिनेका योहान काबायीले सान्त्वना गोल फर्काएका थिए ।

अर्को खेलमा लिलेले एमेन्सलाई २–० गोलले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । लिलेको जितसँगै  फ्रेन्च कपको सेमिफाइनल सेमिकरण पनि पूरा भएको छ । यसअघि लियोन र स्टेड रेम्सले सेमिफाइनलमा स्थान बनाईसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप