उदास जिन्दगी
-राजेन्द्रप्रसाद अर्याल
आगोमा फ्याँकिएको रबरझैँ खुम्चिएको
निमको मन्जनभन्दा तीतो
पिठ लागेको खच्चरझैँ अरर्रिएको
ऐनासरी झर्लम्म फुटेको
हुरीले उडाएको पत्कर बनी
कोलमा निबुवाझैँ निचोरिन विवस
दुःखी र उदास जिन्दगीमा पनि
जीजिविषा पलाउँदो रहेछ ।
दमको रोगीलेझैँ हर पल सुसाउँदै
गण्डकीको जलसरी प्रवाहित हुँदै
दिनरात म आफ्नो कर्तव्यमा हिँडिरहेँ
मीठामीठा कल्पनाहरू सजाउँदै
खुसी जीवनको तुइन तर्ने लालसामा
सृष्टिकै परमसुन्दरी एउटी परीलाई
मस्त जवानीको
मादकपूर्ण बैँस मात्र हैन
हलक्क फक्रेको
जिन्दगीको दरबार नै सुम्पिदिएँ ।
समय बग्दै गयो, बहँदै गयो
अहोरात्र उनलाई मैले
फूलको आँखाले मात्र हेरिरहेँ
काँडाको आँखाले उनले
क्रमशः हेर्न सुरु गरिन
विद्रोही भावना दबाएर
शालिक जस्तै मौन बसेँ
दिलको सदनमा उनैलाई सजाउँदै
मायाको सलेदो लगाउँदै गएँ
छाडिन प्रेमको सलाई सल्काउन
पिरतीको बीउ रोपिरहेँ
अफसोच !
मौरीको घारमा
बारुलाको साम्राज्य जमान्
फलाम बनेर सिसामा हिर्काइन्
चकानाचुर पारिन् पिरती
शुप्रभात हुनुअगाडिको रातजस्तै
निष्पट्ट अन्धकार भयो सम्बन्ध ।
ममाथि दुःखको आकाश
अनायासै घोप्टियो
अदृश्य नियतिको कालो छायाँ
टाउकोमाथि मडारियो
अपमानको तिखो काँडा
कोमल हृदयमा रोपियो
आँसुमा तैरिएको यो जिन्दगीमा
बिरक्तिको घुम ओडेर
वियोगको रनाहमा छटपटाउँदै
किंकर्तव्यविमुढ बनी
पानी मरेको घट्टसरी
चुपचाप छु म आज ।
उनको व्यवहार सम्झिऊँ तड्पन बढ्छ
अनुहार सम्झिउँ– धड्कन बढ्छ
यो उदास वर्तमानमा
मनको सारङ्गीले
बिरह धुन बजाइरहेछ
कर्णाली बौलाएझैँ
नमीठो भाकामा
हृदय निरन्तर सुसाइ रहेछ
आगोको बिच्छ्याउनामा
परालको सिरक ओढेर
आफूजस्तै च्यातिएको डोकोमा
भाग्य थाप्न अभिसप्त छु
तर तर उनी भने
मेरो जिन्दगी जलेको
न्यानो रापमा रमाई रहिन्
दशैँमा खसी ढालेझैँ
मलाई ढाली गइन् ।
गोरखा बजार
हाल : म्याडिसन, अमेरिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण