शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बाँकेमा लागुऔषधका घटना घट्दो

मङ्गलबार, ०७ माघ २०७६, १८ : ३१
मङ्गलबार, ०७ माघ २०७६

बाँके । बाँके जिल्लामा लागुऔषध सेवन र कारोवारको घटना १३ प्रतिशतले घटेको छ । लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाका अनुसार, प्रभावकारी सूचना संयन्त्र, चेकजाँचमा कडाइ, प्रहरी सक्रियता र ब्यूरो कार्यालयको स्थापनाका कारण यसवर्ष ती घटनामा कमी आएको हो । 

जिल्ला खुला सिमाना भएकाले भारत र नेपाल दुबै तर्फबाट लागुऔषध प्रयोगकर्ता र कारोवारी बढ्दै जान थालेपछि यसको रोकथामका लागि प्रहरीले संरचनागत व्यवस्थासहित आफ्नो सक्रियता बढाएको हो ।  खुला सिमानाका कारण भारतबाट ब्राउनसुगर, कोरेक्स, नाइट्रोजेपाम ट्याब्लेटलगायतका लागुऔषध नेपालमा भित्रिने र  नेपालबाट गाँजा र चरेस लगायतको लागुऔषध भारतमा जाने गरेको जनाइएको छ  । 

विशेषतः सीमा नाकामा दुबै मुलुकका प्रहरीले कडाइ गरेपछि अहिले लागुऔषधको कारोवार घटेको उनले बताए । जिल्लामा अहिले ठूलो परिणामको लागुऔषधको कारोबार घटे पनि सानो परिणाममा लागुऔषध ओसारपोसार भइरहेको प्रहरी निरीक्षक थापाले बताए । चालु आर्थिक वर्षको ६ महिनामा जिल्ला प्रहरी कार्यालयले १६३ जना लागुऔषध प्रयोगर्तालाई कारवाही गरेको छ । बाँके जिल्ला कारागारमा मात्र अहिले करीब २०० बढी कैदी लागुऔषध मुद्दाकै रहेको जनाइएको छ । 

लागुऔषधको कुलतमा फसेकाहरुको उपचारका लागि बाँकेमा सात वटा पुनःस्थापन केन्द्र खोलिएका छन् । लागुऔषधको क्षेत्रमा काम गर्ने सङ्घ संस्थाका अनुसार जिल्लामा झण्डै एक हजार बढी प्रयोगकर्ता छन् । लागुऔषध प्रयोगकर्ताको पुनःस्थापना गरेर समस्या समाधान गर्नुपर्ने लागुऔषध विरुद्धका अभियन्ता अभिराज क्षेत्रीको सुझाव छ ।

कानूनले लागुऔषधको सेवन र कारोवारलाई अपराध मानेको छ । लागुऔषध प्रयोगकर्ता तथा ओसारपोसारकर्तालाई लागुऔषध परिणामको कसुर हेरेर जन्मकैदसम्मको सजायको व्यवस्था गरेको अधिवक्ता वसन्त गौतमले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप