सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेस रिभ्यू : नेपाली ‘नमस्कार’ विश्वव्यापी बन्दै, कोरोना संकटले जगाउला सार्क सान ?

शनिबार, ०१ चैत २०७६, ०८ : २६
शनिबार, ०१ चैत २०७६

आज मिति २०७६ साल चैत महिनाको १ गते शनिबार देशका ठूला राष्ट्रिय दैनिकले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणपछि अस्पतालबाट डिस्चार्ज भएको समाचारदेखि कोरोना भाइरसको विषयमा समाचारलाई प्राथमिकता दिएर प्रकाशित गरेका छन् । 

कान्तिपुर दैनिकले युरोपेली मुलुकमा कोरोनाको सन्त्रासपछि नेपालीको अवस्थाको बारेमा समाचार छापेको छ ।  ओखलढुंगाको रुम्जाटार मूल घर भएका देवराज गुरुङ दक्षिण युरोपेली मुलुक इटाली छिरेको २० वर्ष भयो । काम, रोजीरोटी र संघर्षको अनेक चरणमा अनेक खालका सास्ती बेहोरेका उनी पहिलो पटक आफ्नै घरभित्र ‘सेल्फ क्वारेन्टाइन’ मा बसेर बाहिरको कहालीलाग्दो अवस्था सुध्रिने दिन पर्खिरहेका छन् ।

‘कोरोना भाइरसका कारण चीनपछिको डरलाग्दो स्थिति इटालीमा देखिएको छ भन्ने समाचारमा पढ्दै छौं, संसारले रुचाएका रोम, भेनिस, मिलानोजस्ता पर्यटकीय सहरहरू सुनसान छन्, हामी सबैजसो घरभित्रै बसेर रमिता हेरिरहेका छौं,’ इटालीस्थित गैरआवासीय नेपाली संघका अध्यक्षसमेत रहेका गुरुङले भने, ‘एउटा जोन (सिटी) बाट अर्कोमा जान पनि स्थानीय प्रहरी–प्रशासनको लिखित अनुमति लिनुपर्छ। हामी सबैजसो आफूआफैं क्वारेन्टाइनमा बसेका छौं।’

रोमस्थित चल्तीको पर्यटकीय रेस्टुरेन्टमा काम गर्ने उनी एक सातादेखि घरैमा छन्। उनलाई यो बसाइ अनिश्चितकालको हुने भनिएको छ। इटाली सरकारले मार्च महिनाभर सबैलाई ‘सेल्फ–क्वारेन्टाइन’ मा बस्न निर्देशन दिएको छ। मार्च २५ सम्म रोमसहितका सहरमा पनि आवतजावत र अनावश्यक हिँडडुलमा प्रतिबन्ध लगाइएको गुरुङले बताए। ‘कतै बाहिरी सहर वा जोनमा जानुर्पयो भने स्थानीय प्रहरी–प्रशासनबाट आउटर सर्टि्फिकेटमा हस्ताक्षर गराएर हिँड्नुपर्छ,’ उनले भने, ‘अरूभन्दा पनि इटालीमा रहेका कागजातविहीन केही नेपालीलाई अहिले मुस्किल परेको छ। यो कठिनाइ लामो समय नरहला भन्ने आस छ।’

पाँच वर्षदेखि रोममा बस्दै आएका सुदीप अधिकारीले त्यहाँका सबै रेस्टुराँ बन्द रहेको बताए। केही सुपरमार्केट र औषधि पसल मात्रै सञ्चालनमा छन्। ‘मान्छेहरू आफैंमा त्रसित छन्, केही निराश पनि छन्,’ उनले कान्तिपुरसँग भने, ‘एकअर्कासँग खुलेर बोल्न पनि छाडेको अवस्था छ।’

अन्नपूर्ण पोस्ट्ले नेपाली ‘नमस्कार’ विश्वव्यापी भएको सन्दर्भलाई प्राथमिकता दिएर प्रकाशित गरेको छ । भ्रमणमा आएका आइरल्यान्डका प्रधानमन्त्री लियो भारड्करसँग ह्वाइटहाउसमा भेट्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘नमस्कार’ गरे । भेट हुँदा साटासाट गरिने नेपाली अभिवादन ‘नमस्कार’ यति बेला विश्वव्यापी बनेको छ । राष्ट्रपति ट्रम्प गत महिना भारत भ्रमणमा आउँदा त्यहाँ ‘नमस्ते ट्रम्प’ कार्यक्रम नै आयोजना गरिएको थियो । बेलायती राजकुमार चाल्र्स कमनवेल्थमा प्रवेश गर्दा हात मिलाउन खोजे तर सबैले नमस्कार गरे । फ्रान्सका राष्ट्रपति इम्यानुल म्याक्रोले स्पेनका राजारानीलाई नमस्कार गरे । 

नागरिक दैनिकले कोरोना भाइरसविरुद्ध लड्न सार्कले रणनीति बनाउनुपर्ने प्रस्ताव रोखेका र उनलाई सार्क राष्ट्ररुले समर्थन गरेको समाचार लेखेको छ । काठमाडौ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार एक ट्विट गर्दै दक्षिण एसियाली सहयोग संगठन (सार्क) का नेताहरुसमक्ष कोरोना संक्रमण (कोभिड–१९) सँग लड्न बलियो रणनीतिक योजना बनाउने प्रस्ताव अघि सारेका छन्। भारत र पाकिस्तानबीचको खिचातानीले सार्क निष्क्रिय बनेका बेला मोदीले राखेको प्रस्तावले संकटका बीच यो क्षेत्रीय संगठनले पुनर्जीवन पाउने आशा पलाएको छ। चीनको वुहानबाट सुरु भएको कोभिड–१९ को प्रकोप भारतसहित विश्वभर तीव्र गतिमा फैलिँदैछ।

अध्यक्ष राष्ट्रका तर्फबाट नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले ट्विटमार्फत मोदीको प्रस्तावको स्वागत गरेका छन्। ओलीले कोरोनाबाट आफ्ना नागरिकको सुरक्षा गर्न सार्क मुलुकहरुसँग निकट रहेर काम गर्न नेपाल सरकार तयार रहेको बताएका छन्।

भुटानका प्रधानमन्त्री लोट्य छिरिङले पनि मोदीको प्रस्तावको स्वागत गरेका छन्। उनले ट्विटरमार्फत सदस्य मुलुकका हिसाबले यस्तो समयमा सबै एकै ठाउँमा आउनै पर्ने बताएका छन्। 
श्रीलंकाका राष्ट्रपति गोतावय राजापक्षले मोदीको पहलका लागि धन्यवाद व्यक्त गर्दै श्रीलंका छलफलमा सहभागी हुन, आफ्नो सिकाइ र अभ्यास बाँड्न तथा अन्य सार्क सदस्य मुलुकसँग सिक्न तयार रहेको बताएका छन्। 

परराष्ट्र मामिलाका जानकार दिनेश भट्टराई मोदीको प्रस्ताव सार्कको पुनर्जीवनका लागि सकारात्मक संकेत भएको बताउँछन्। मोदीको प्रस्तावले सार्कको आवश्यकता महसुुस भएको संकेत गर्ने उनको बुझाइ छ। सार्कलाई सक्रिय बनाउन यो उपयुक्त समय भएको भट्टराईको विश्लेषण छ।

नयाँ पत्रिका दैनिकले भने घरेलु मदिराको सेवनले धनुषा जिल्लामा १५ दिनमा ११ जनाले ज्यान गुमाएको समाचारलाई प्राथमिकता दिएको छ । मदिराले बर्बाद स् १५ दिनमा एकै गाउँका ११ को मृत्यु
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२ रमदैयामा घरेलु रक्सी पिउँदा दुई सातामा ११ जनाको ज्यान गएको छ । तीमध्ये आठको बिहीबार र शुक्रबार मृत्यु भएको हो । मृत्यु हुनेमा रामविलास मण्डल, शत्रुधन मण्डल, इन्द्रजित महरा, ब्रह्मदेव यादव, गुदर महरा, रामनारायण महरा र नीरश यादव छन् । धनुषाकै रूपैठ घर भई रमदैयास्थित ससुरालीमा बस्दै आएका राजु महराको पनि मृत्यु भएको छ । शत्रुधन मण्डलको शुक्रबार साँझ जनकपुरको सिटी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । दुई साताअघि रमदैयासँगै जोडिएको मुसहर बस्तीमा मदिरा सेवनबाटै भुनटुन सदा, दसै सदा र विजय महराको मृत्यु भएको थियो । सबैको सुरुमा टाउको र पेट दुख्ने, बान्ता आउने, आँखा डम्म हुने र अन्ततः शरीर चिसो भएर ज्यान गएको स्थानीयले बताएका छन् । 

मदिरा सेवनकै कारण भरत मण्डल, ईश्वर महरा, शम्भु महरा, उपेन्द्र महरा र सीताराम यादव सिकिस्त बिरामी छन् । ईश्वरको सिटी अस्पतालमै उपचार भइरहेको छ । अन्यको पनि जिल्लाका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । 

गाउँकै पसलमा प्राप्त घरेलु मदिरा सेवन गर्दा उनीहरूको मृत्यु भएको स्थानीयले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप