शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

युरोपमा तिब्र गतिमा फैलिँदै कोरोना महामारी, एकदिनमै ९ सय बढीको मृत्यु

शनिबार, ०८ चैत २०७६, ०० : २१
शनिबार, ०८ चैत २०७६

एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरस संक्रमणको सबैभन्दा बढी प्रभाव युरोपमा परेको छ । युरोपका इटाली, स्पेन, बेलायत, स्वीट्जरल्यान्ड लगायतका मुलुकहरुमा कोरोना भाइरस संक्रमणको नकारात्मक प्रभाव परेको छ । इटालीको अवस्था त अहिले विश्वकै सबैभन्दा भयावह भएको छ । इटालीमा शुक्रबार मात्र ६२७ जनाको मृत्यु भएको छ । योसहित उक्त देशमा मर्नेको संख्या ४ हजार ३२ पुगेको छ । यो संख्या चीनमा अहिलेसम्म मर्नेको संख्याभन्दा ८ सयले बढी हो । चीनको ऊहानबाट सुरु भएको यो महामारीका कारण चीनमै भने अहिलेसम्म ३२४८ जनाको मृत्यु भएको छ । त्यसैले इटाली कोरोना महामारीको चपेटामा परेको विश्वकै सबैभन्दा प्रभावित मुलुक बनेको छ । ४७ हजार २१ जनामा भाइरस संक्रमित भएको सो मुलुकमा २४ घण्टाभित्र नयाँ संक्रमित हुनेहरुको संख्या ५ हजार ९ सय ८६ देखिएको छ भने उपचार गरेर फर्किनेहरुको संख्या ५ हजार १ सय २९ रहेको छ ।

त्यस्तै,अर्को युरोपेली मुलुक स्पेनमा पनि कोरोना भाइरसको संक्रमण तिव्र गतिमा फैलिरहेको छ । स्पेनमा शुक्रबार मात्र २ सय १२ जनाको मृत्यु भएको छ । योसहित मर्नेहरुको संख्या १ हजार ४३ पुगेको छ । त्यस्तै सो देशमा संक्रमितहरुको संख्या २० हजार ४ सय १२ पुगेको छ भने शुक्रबार नयाँ संक्रमित हुनेहरुको संख्या २३ सय ३५ जना देखिएको छ । त्यस्तै बेलायतमा पनि शुक्रबार ४० जनाको मृत्यु भएको छ भने योसहित मृत्यु हुनेको संख्या १ सय ८४ जना पुगेको छ ।

बेलायतमा संक्रमितहरुको संख्या ३ हजार २ सय ६९ पुगेको छ । त्यस्तै नेदरल्यान्डस्मा चौबिस घण्टामा ३० जनाको मृत्यु भएको छ । योसहित सो देशमा मर्नेको संख्या १ सय ६ जना पुगेको छ । त्यस्तै फ्रान्समा मृत्यु हुनेको संख्या ३७२ जना पुगेको छ भने संक्रमितहरुको संख्या १० हजार ९ सय ९५ पुगेको छ ।

उता, स्वीट्जरल्यान्डमा शुक्रबार कोरोना भाइरसको संक्रमणकै कारण १३ जनाको मृत्यु भएको छ भने एकैदिन ११ सय ४३ जना संक्रमित भएका छन् । संक्रमित हुनेहरुको संख्या ५ हजार ३ सय ६५ पुगेको छ । युरोपकै अर्को प्रभावशाली मुलुक जर्मनीमा चौबिस घण्टामा ९ जनाको मृत्यु भएको छ भने योसहित ५३ जनाको मृत्यु भएको छ । त्यस्तै बेल्जियमा एकैदिन १६ जनाको मृत्यु भएको छ भने स्वीडेन ५ र डेनमार्कमा ३ जनाको मृत्यु भएको छ । उता पोर्चुगलमा २ जनाको मृत्यु भएको छ । यसरी कोरोनाको संक्रमणबाट चौबिस घण्टाभित्रै युरोपमा मात्र ९ सय भन्दा बढीको मृत्यु भएको छ । 

यद्यपि, शुक्रबार युरोपभन्दा बाहेकका इरानमा १४९, अमेरिकामा १७, चीनमा ३ जनाको मृत्यु भएको छ । अन्य देशमा यही अनुपातमा मृत्यु भएको छ । तर पछिल्ला दिन कोरोना संक्रमणकै कारण युरोपको जस्तो भयावह अवस्था अन्य मुलुकमा देखिएको छैन । चीनमा महामारी नियन्त्रणमै आइसकेको छ ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप