सुदूरपश्चिममा थप तीन प्रयोगशाला सञ्चालनमा आउँछः मन्त्री सुवेदी
कञ्चनपुर । कोरोना परीक्षणका लागि पिसिआर मेशिनको अभावमा स्वाब सङ्कलन रोकिएका कारण प्रदेश सरकारको तीव्र आलोचना भइरहँदा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले असार दोस्रो साताबाट पिसिआर मेशिनसहितका थप तीन प्रयोगशाला सञ्चालनमा आउने दाबी गरेका छन् ।
मन्त्री सुवेदीले कुरा गर्दै सुदूरपश्चिमको मन्त्रिपरिषद्ले गरेको पूर्वनिर्णयअनुसार तीनवटा पिसिआर मेशिनसहित प्रयोगशाला सञ्चालनका लागि आवश्यक थप सामग्री खरिद गर्न बोलपत्र भइसकेको बताएका हुन् । उनले असार दोस्रो सातासम्म बैतडी, डोटी र कैलालीमा मेशिन जडान गरेर सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे ।
केही सातापहिले भारतसँग सीमा जोडिएका सुदूरपश्चिम प्रदेशका नाकामा नेपालीहरू आएर जम्मा हुँदा पनि नाका खोल्ने अधिकार प्रदेश सरकारलाई सङ्घीय सरकारले नदिएका कारण प्रदेशमा तीव्र गतिमा कोरोना फैलिएको आरोप मन्त्री सुवेदीले लगाए । त्यस बेला नाका खोल्ने अधिकार प्रदेश सरकारलाई दिएको भए सबैको स्वास्थ्य परीक्षण र व्यवस्थापन प्रदेश सरकारले गरिसक्ने र सङ्क्रमणको अवस्था यस्तो नहुने मन्त्री सुवेदीले बताए ।
मन्त्री सुवेदीले कोरोना रोकथाममा प्रदेश सरकार आफ्नो क्षमताअनुसार लागिरहेको बताए । केही अधिकार सङ्घले प्रदेशलाई नदिँदा जनअपेक्षाअनुसार काम हुन नसकेकाले समस्या भएको जिकिर गर्दै मन्त्री सुवेदीले अब भने त्यसो नहुने बताए । उनले अब प्रदेशमा थप तीन थान पिसिआर मेशिन, २० थान भेन्टिलेटर लगायतका आवश्यक स्वास्थ्य सामग्री खरिद प्रक्रियामा रहेको र असारको पहिलो साताबाटै प्रयोगमा ल्याउने गरी काम गरिरहेको बताए । पिसिआर मेशिन प्रयोगका लागि जनशक्ति नपाइएको र सङ्घीय सरकारलाई अनुरोध गरिएको बताउँदै मन्त्री सुवेदीले केन्द्र सरकारले जनशक्ति उपलब्ध गराउनेमा विश्वास व्यक्त गरे ।
प्रदेशका विभिन्न पालिकामा सञ्चालित क्वारेन्टिन मापदण्डअनुसार नभएको, क्वारेन्टिनमा मृत्यु हुनेको सङ्ख्या बढिरहेको भन्दै तीव्र आलोचना भइरहेका बेला मन्त्री सुवेदीले ठूलो सङ्ख्यामा क्वारेन्टिनमा व्यवस्थापन गर्नुपर्दा धेरै किसिमका समस्याका कारण केही असुविधा भएको स्वीकार गर्दै स्थानीय तहलाई क्वारेन्टिन थप व्यवस्थित बनाउन परिपत्र गरिसकेको बताए । परिपत्रअनुसार केही पालिकाहरू व्यवस्थापनमा लागिसकेको र केही तयारीमा रहेको बताउँदै मन्त्री सुवेदीले सरकारले केही गरेन भन्नु गलत धारणा भएको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण