शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सिन्धुपाल्चोक आजदेखि लकडाउनः बजार सुनसान

सोमबार, ०१ भदौ २०७७, ११ : ३२
सोमबार, ०१ भदौ २०७७

कोभिड– १९ को संक्रमण दैनिक बढ्दै गएपछि सिन्धुपाल्चोकमा आजदेखि लकडाउन गरिएको छ । बन्दाबन्दीका कारण आज जिल्लाका मुख्य बजार बिहानैदेखि सुनसान देखिएको छ । 

छिमेकी जिल्लामा कोरोना संक्रमण बढेको र जिल्लामा पनि संक्रमण बढ्न सक्ने जनाउँदै गए राति १२ बजेदेखि लागु हुने गरी  यहाँ एक सातासम्म लकडाउन गरिएको  हो ।

 शनिबार बसेको जिल्ला कोभिड –१९ संकट व्यवस्थापन समितिको बैठकले आजदेखि एक सातासम्मका लागि जिल्लामा लकडाउन गर्ने निर्णय गरेको थियो । 

कोरोना नियन्त्रणका लागि तत्काल थप सतर्कता अपनाउनाका साथै नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गराइने निर्णय भएको छ । 

जिल्लाका केही स्थानीय तहमा समेत कोभिड –१९ का संक्रमित देखिएको र अब संक्रमण फैलिन नदिन र नियन्त्रणलाई प्रभावकारी बनाउनका लागि जिल्लाभर लकडाउन गर्ने निर्णय भएको हो ।

यस अवधिमा कुनै  व्यक्ति अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पाउने छैनन् । त्यस्तै सार्वजनिक सवारी साधन बन्द हुने छ । सुरक्षाकर्मी, स्वास्थ्यका कर्मचारी र अत्यावश्यक सेवाका कर्मचारी मात्र हिँडडुल गर्न पाउनेछन् । 

होटल तथा रेष्टुरेन्ट, विद्यालय, सभा, गोष्ठी, तालिम,, प्रदर्शन, शैलुन र  खेलकुद गतिविधि सञ्चालन गर्न पाइने छैन । त्यस्तै बैंक र  गैरसरकारी कार्यालयमा आवश्यक सेवा भने बिहान ११ देखि २ बजेसम्म सञ्चालन गर्न दिइने निर्णय भएको छ ।

लकडाउनका समयमा सबै नागरिकलाई सामाजिक दूरी कायम गर्दै घरभित्रै बसिदिन प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले अनुरोध गरेका छन् । 

अत्यावश्यक परेका अवस्थामा जिल्ला प्रशासन कार्यालयले सवारी पास उपलब्ध गराएपछि मात्रै सवारी साधन चलाउन पाइने प्रजिअ ढकालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप