अंशका लागि ज्यान मार्ने सौतनी आमाको धम्कीपछि यसरी भइन् दिदीबहिनी गाउँबाट विस्थापित
जनकपुर । बुवाले छोराका लागि दोश्रो श्रीमती भित्र्याएसँगै जेठी श्रीमतीबाटका दुई सन्तान अहिले ज्यान बचाउन सर्लाहीबाट पलायन भई जनकपुरमा बसोबास गर्न बाध्य छन् । सर्लाहीको हरिपुर्वा नगरपालिका वडा नम्बर २ बस्ने तत्कालीन हरिपुर्वा गाविसका पूर्व अध्यक्षसमेत रहेका नागो रायले जेठी श्रीमती कौशिल्या देवीबाट छोरा नभएकै कारण अर्को विवाह गरे ।
कान्छी श्रीमती घर भित्रिएसँगै जेठी श्रीमतीका सन्तानलाई हेला गर्ने र घरमा दिनानुदिन झैझगडा हुन थाल्यो । कान्छी श्रीमतीबाट दुई छोरा र दुई छोरी छ । समय परिस्थिति बद्लिदै जादाँ नागो रायको मृत्यु भयो र रायका जेठी र कान्छी श्रीमतीबचि अंशको झगडा सुरु भयो ।
जेठी श्रीमती र कान्छी श्रीमतीको अलग्गै खाना पाक्नेदेखि रहन सहन समेत आ–आफ्नै गर्थिन् । कान्छी आमाको लाञ्छना र गाली गलौजका कारण कौशिल्याकले दुई छोरीलाई पढ्नका लागि जनकपुर पठाइन् ।
तर घरमा विभिन्न घटना परिघटनाहरु हँुदै गयो । सोही क्रममा कौशिल्याको हत्या भयो । कौशिल्याका दुई छोरीले कान्छी आमाले आफ्नी आमाको हत्या गरेका आरोप लगाइन् । यतिबेला ती दिदीबहिनीलाई गाउँको घर जान ज्यानको खतरा छ । अहिले दिदीबहिनी घर जानका लागि न्याय खोज्दै हिडेकी छन् ।
दिदीबहिनी अहिले आमाको हत्यारालाई कानूनी कठघरामा ल्याइयोस् भन्दै न्यायका लागि भौतारिँदै छिन् । आमाको हत्या भएपछि सहारा विहीन भएकी उनीहरुले न्याय पाउनुको साटो विस्थापित हुन परेको छ ।
यसरी भईन् दिदी बहिनी विस्थापित
सर्लाही जिल्ला हरिपूर्वा नगरपालिका वडा नम्बर २ बस्ने २८ वर्षीया सविता कुमारी यादव र २२ वर्षीया आशा कुमारी यादव आफ्नै घरबाट विस्थापित भएर जनकपुरधाममा बस्न बाध्य भएकी छन् ।
दिदी बहिनी जनकपुरमै रहदाँ कौशिल्यादेवी यादवलाई अपहरण गरि हत्या गरियो । गत फागुन २९ गते अपहरणमा परेकी कौशिल्याको शव भारतको बिहार राज्यको सितामढीस्थित मलाही भन्ने स्थानमा बेवारिसे अवस्थामा फेला परेको थियो ।
आमाको हत्यापछि अहिले उनीहरु जनकपुरमा जसोतसो जीवन व्यतित गर्दै आइरहेकी छिन् । कौशिल्यालाई माइतीबाट १ विघा २५ धुर जग्गा दिइएको थियो । सोही जग्गाका लागि आमाको हत्या गरिएको दिदी–बहिनी बताउछन् । आमाको हत्यापछि सविताले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा समेत जाहेरी दिइन् । तर जिल्ला प्रहरी कार्याल सर्लाहीले भने वास्ता नगरेको उनीहरुको भनाइ छ ।
आमा कौशिल्यादेवी र बुवा नागो राय खुशी साथ जीवन व्यतित गरिरहेका थिए । उनीहरु दुवैजनाले पहिलो सन्तानको रुपमा सवितालाई पाए । छोराको आशमा रहेका बुवाले दोस्रो सन्तानको रुपमा छोरी आशा भइन् । त्यसपछि जन्मेका दुई छोरा यो संसारमा रहेन । नागोले छोरा पाउने आशमा महोत्तरीको श्रीपुर कविलाशा बस्ने मनपुरणी देवी यादवलाई कान्छी श्रीमतीको रुपमा भित्र्याए । कान्छी श्रीमतीबाट नागोका दुई छोरा र दुई छोरी भए । त्यसपछि आफूहरुका दुःखका दिनहरु शुरु भएको सविताले बताइन् ।
सविताले भनिन्– ‘हामी पढ्ने लेख्ने भई सकेपछि आमाले हामीलाई पढाउन पनि चाहानुन्थ्यो । तर बुवा हामीलाई पढाउने पक्षमा हुनुहुन्थेन ।’ बुवाले आफूहरुको पढाई लेखाइका लागि खर्च दिन तयार नभएपछि आमाले छोरीहरुलाई पढाउनुपर्छ भन्दै आफ्नो अंशवण्डाका लागि जिल्ला अदालत सर्लाहीमा मुद्दा दिएको बताइन् । आशाका अनुसार बुवाको ७ बिघा जग्गामा पनि अंश हुन्छ भन्दै मुद्दा चलिरहेको थियो ।
उनले भनिन्– ‘आमाले अंश पाइनन्, बरु घरबाटै बहिष्कृत हुनु पर्यो । आमालाई बुवाले घरबाट निकालेपछि आमासँगै जनकपुरमा बस्न थाल्यौँ ।’ अदालतमा मुद्दा ७ वर्षदेखि चलि रहेको छ । छिनोफानो हुनेगरी अहिलेसम्म अदालतको फैसला आउन नसकेको आशाले बताइन् ।
सविताको बुवा नागोलाई फोक्सोको क्यान्सर थियो । ‘आफ्नो अन्तिम समय आइरहेको देखेर बुवाले हामीलाई घरमै बस्न आग्रह हुनुभयो,' उनले भनिन्, ‘बुवा आफै आएर घर जान आग्रह गरेपछि हामीले अस्वीकार गर्न सकेनौंँ । आमासहित हामी घर गएको ७ महिना पछि गत भदौमा बुवा बित्नु भयो ।’
बुवा बितेपछि कान्छी आमाले आफूलाई प्रताडित गर्ने कुनै मौका छोड्दैन थिइन् सविताले भनिन् । कौशिल्या देवी सर्लाही हरिपूर्वास्थित घरमै रहेपछि सविता र आशा पढाईका लागि जनकपुरमै रहन थालिन् । एक दिन सविताले आमालाई मोबाइलमा फोन गरिन् । तर फोन उठेन । पूरै दिन फोन नउठेपछि सविता हरिपूर्वा गइन् । घर पुगेर आमा कहाँ गइन् भनेर सोधखोज गर्दा ‘कान्छी आमाले मलाई थाहा छैन्, चाभी चप्पल यतै छ भनेर जवाफ फकाएको उनले सुनाइन् ।

त्यसको दुई दिनपछि उनीहरुले आफ्नो आमाको शव भारत विहारको सितामढीस्थित मलाही भन्ने स्थानमा फेला पारिन् । आमाको जस्तै तिमीहरुको हत्या हुन्छ भन्ने धम्की दिन थालेपछि आफ्नै घरबाट विस्थापित भएको दिदी बहिनीले बताईन् ।
सविताले आमाको हत्या कान्छी आमा लगायत गाउँकै आफन्त काकाहरुले योजनावद्ध रुपमा गरेको आरोप लगाइन् । उनले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा सानी आमा मनपुरणी देवी यादवसहित केही व्यक्ति बिरुद्ध जाहेरी दर्ता समेत गराई सकेकी छिन् । तर आरोपितहरु अहिले पनि खुलेआम घुमिरहेको र आफ्नो हत्या पनि गरि दिने धम्की आइरहेका सविताले बताइन् ।
तर पनि स्थानीय प्रहरी प्रशासनले पनि आफूहरुको सुरक्षा तथा दोषीलाई पक्राउ गरी कारवाही प्रक्रिया नगरेको आरोप लगाइन् । प्रहरीले कारवाही नगरिदिँदा आफ्नै ज्यान जोगाउनकै लागि आफूहरु अहिले बाध्यतावश कोरोना महामारीमा जनकपुरमा भौतारिनु परेको सविता र आशाको भनाई छ ।
तर जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले २० वर्ष पछि दोषीलाई समातेर पनि अनुसन्धान गर्न सक्छौँ भन्दै गैर जिम्मेवारी तर्क दिने गरेका छन् । उनले भने, ‘हामी दुई दिनमा दोषीलाई समातौँ वा २० वर्ष पछि यो हाम्रो अनुसन्धानको विषय हो । कसैले भनेकै आधारमा हामीले कसैलाई उठाएर ल्याउने विषय होइन ।’
प्रहरी उपरीक्षक पोखरेलले यस्तो जवाफ दिँदै गर्दा पीडित दिदी बहिनीले भने प्रहरी प्रशासनलाई मोटो रकम खुवाएर आफूलाई पनि मार्ने योजना रहेको र जतिबेला पनि आफ्नो हत्या हुनसक्ने सविताले बताईन् ।
बुवा मृत्युपछि आमाको रहस्यमय मृत्यूसँगै गाउँघर जानै नसक्ने अवस्था छ । अंशकै कारणले यस्तो परिस्थिति सृजना हुदाँ र दिदीबहिनीको ज्यान खतरामा रहदाँ समेत प्रहरीले बेवास्ता गर्दा लेनदेनको चलखेलमा प्रहरी समेतको संलग्नता रहेको आरोप परिवारजनकै रहेको छ ।
त्यस्तै ती दिदी बहिनीले न्याय पाउनका लागि प्रदेश सरकार समक्ष समेत निवेदन दिएकी छिन् । प्रहरी कार्यालयमा उजुरी दिएको लामो समय भइसकेपनि न्याय नपाएको भन्दै आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा निवेदन दिएको आशाले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण