एक सुपरस्टार अभिनेताको जीवनः मानसिक अस्पतालमा उपचार, बने ट्याक्सी चालक, बेपत्ता भएकै १७ वर्ष पुग्यो
बदला र पुनर्जन्ममा आधारित सुभाष घईको सन् १९८० मा रिलिज भएको फिल्म ‘कर्ज’ मा अभिनयपछि राज किरन अत्यधिक चर्चामा आए । हेर्दा आकर्षक उनलाई फिल्ममा सानो भूमिका दिइएको थियो तर त्यसले पनि उनलाई चर्चित बनाउन निकै सहयोग गर्यो । फिल्ममा मुख्य भूमिका ऋषि कपुरको भएपनि राज किरनलाई यस फिल्ममार्फत् धेरैले चिने ।
सुभाष घईको निर्देशनमा अभिनयमा गर्दा राज फिल्मी उद्योगमा नौलो भने थिएनन् । सन् १९७५ मा बी.आर इशाराको ‘काजग की नाव’ मार्फत् डेब्यू गरेका उनले कर्जमा अभिनय गर्दासम्म पाँच वर्षको अनुभव बटुलिसकेका थिए र उनको नाम उत्कृष्ट अभिनय गर्ने व्यक्तिको रुपमा चिनिन थालिसकेको थियो ।
राजको जन्म मुम्बईमा एक सिन्धि परिवारमा भएको थियो । उनका परिवारका कोही पनि सदस्य फिल्मी क्षेत्रमा थिएनन् । ८० को दशकमा उनको करियर उचाईमा पुगेको थियो । त्यतिबेलासम्म उनले ४० बढी फिल्ममा अभिनय गरिसकेका थिए जसमध्ये कुनै व्यवसायिक रुपमा सफल भए त कतिले फिल्म क्रिटिक्सको वाहवाही बटुलेको थियो । उनका मान अभिमान, बेजुबान, घर एक मन्दिर, घर हो हो एसा र अर्थ नामका फिल्मले व्यापक चर्चा बटुलेको थियो ।
उनको करियरमा सबै कुरा राम्रोसँग चलिरहेको थियो तर उनको जीवन असफल मानिन्छ । कारण, उनले ७० र ८० को दशकमा उत्कृष्ट काम गरेता पनि ९० को दशक उनको लागि क्रुर भइदियो । ९० को सुरुवात देखि नै उनको करियर अघि बढ्न सकेन । नयाँ कलाकारको उदीयमानपश्चात् त्यतिबेलाका ‘राज किरन’ जस्ता कलाकार हराउन थाले ।
त्यतिबेला राजले फिल्मका लागि अफर पाउन छोडे । उनी पर्दामा विरलै देखिन छोडे, देखिए पनि खासै जम्न सकेनन् । त्यसपछि उनी सानो स्क्रिनमा देखिए । सन् १९९४ मा उनी शेखर सुमनको शो रिपार्टरमा देखिए । उनी ९० दशकको मध्यतिर आहत र आखिर कौनजस्ता कार्यक्रमको केही भागमा पनि देखिए ।
अवसरहरु गुमाउँदै गएपछि उनी मानसिक रुपमा आघात भए जसका कारण उनी डिप्रेशनमा गए । केही रिपोर्टअनुसार उनकी श्रीमती र छोराले उनलाई छोडेपछि उनी थप विक्षिप्त भए जसका कारण उनलाई केही समय बाइकुला मेन्टल असाइलममा भर्ना गरियो ।
तर उनले यो क्षेत्रमा केही साथी पनि बनाएका थिए जसले राज किरनबारे खोजबिन पनि गरे । तीमध्ये एक दिप्ती नभलले राज कपुरबारे सोधीखोजी गर्दै एउटा लामो फेसबुक पोस्ट सेयर गरिन् । जसमा उनले लेखेकी छिन्, ‘फिल्मी जगतका एकजना साथीको खोजीमा छु । उनको नाम हो राज किरन – उनीबारे केही जानकारी नै छैन । पछिल्लो पटक उनी न्यूयोर्कमा ट्याक्सी चलाइरहेका छन् भन्ने सुनेको थिएँ । उनीबारे कसैलाई केही थाहा छ ? कृपया भनिदिनुहोला ।’
तर यी अभिनेताको अमेरिकामा मानसिक उपचार भइरहेका बेला उनी अचानक हराएको खबर प्राप्त भएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।
ऋषि कपुरले उनलाई ‘कर्ज’ पछिका दिनमा पनि साथ दिए । उनले आफ्नो अमेरिका यात्राका बेला यस्ता हल्लाको वास्तविकता जान्न खोजे । सन् २०११ मा अमेरिका यात्राको क्रममा कपुरले राज किरनका भाइ गोविन्द महतानीलाई सम्पर्क गरे । गोविन्दले राजको अटलान्टास्थित एक मानसिक अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।
घर फर्किएपछि ऋषि कपुरले यसबारे जानकारी दिए ।
तर राज किरनकी छोरी ऋषिकाले ऋषि कपुरको जानकारी सही नभएको बताइन् । ऋषिकालाई विश्वास गर्ने हो भने राज किरन एटलान्टास्थित अस्पतालमा भर्ना छैनन् । उनले एक प्रेस वक्तव्य जारी गर्दै राज किरन पछिल्लो ८ वर्षदेखि (सन् २०११ मा) हराइरहेका छन् र न्यूयार्क पुलिस र डिटेक्टिभको सहयोगमा खोजी कार्य जारी भएको बताएकी छिन् । आजका मितिसम्म राज कपुर कहाँ छन् कसैलाई थाहा छैन, उनी हराएको पनि १७ वर्ष पुगिसक्यो ।
स्रोतः याहू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण