बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

सरकारले कुलमानलाई पुनर्नियुक्ति गर्न सक्छः  परराष्ट्रमन्त्री ज्ञवाली

बिहीबार, ०१ असोज २०७७, १८ : ४०
बिहीबार, ०१ असोज २०७७

गुल्मी । परराष्ट्रमन्त्री एवम् सरकारका प्रवक्ता प्रदिपकुमार ज्ञवालीले मुलुकलाई लोडसेडिङ्ग मुक्त गर्ने प्रधानमन्त्री केपी शर्माओलीको संकल्प पुरा भएको बताएका छन् । बिहिवार गृहजिल्ला गुल्मीको सदरमुकाम तम्घासमा नेपाल पत्रकार महासंग गुल्मीले आयोजना गरेका पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् । उनले  भने– ‘सम्माननीय प्रधानमन्त्री ओलीज्युले  जिम्मेवारी सम्हालेपछि मुलुकलाई लोडसेडिङ्ग मुक्त गर्ने संकल्प गर्नुभएको थियो । उहाँले त्यस्तो संकल्प गर्दा ब्यंग्य गर्नेहरु पनि थिए, आखिर मुलुक लोडसेडिङ्गमुक्त भएरै छाड्यो नि होइन र ?’

प्रधानमन्त्री र हालसम्मका उर्जामन्त्रीहरुको अथक प्रयासले लोडसेडिङ्ग मुक्त गर्ने संकल्प पुरा भएको उनले बताए । उनले भने, ‘जुन संकल्प पुरा गर्नमा कुलमान घिसिङ सारथी बन्नुभयो ।’ मन्त्री ज्ञवालीले सरकारले घिसिङलाई  पुनर्नियुक्ति गर्न सक्ने बताए ।  

परराष्ट्रमन्त्री मन्त्री ज्ञवालीले सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा सार्वाजानिक गरेको मात्र नभई जमिन फिर्ता गर्नका लागि पहल समेत गरिरहेको बताए ।  उनले भने– ‘यसअघिका सरकारले त्यो जमिन नेपालको हो भनेर भन्न समेत खुट्टा कमाउँथे । अहिलेको सरकारले त्यो जमिनलाई आफ्नो नक्सामा राख्ने हिम्मत देखायो । जसरी घर बनाउन पहिला जग्गा पास गर्नुपर्छ, त्यसरी नै लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई सरकारले आफ्नो जमिनका रुपमा पास गरेको छ, अब फर्काउने पनि छ ।’

भारतको स्वतन्त्रता दिवसको अवसरमा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रधानमन्त्री ओलीले उक्त जमिन नेपाललाई फिर्ता गर्ने बिषयमा कुरा गरिसकेको बताउँदै उनले भने–‘विभिन्न तहमा वार्ता भइरहेको छ, त्यो जमिन नेपालको हो भन्ने आधार र प्रमाण जुटाउँदैछौ र विज्ञहरु पनि खटाइएको छ ।’

भारतसँग कुटनैतिक सम्बन्ध सुमधुर राखेरै उक्त जमिन फिर्ता गर्न सकिने उनको धारणा थियो । मन्त्री ज्ञवालीले नेपाल कम्युनिष्ट पार्टीं (नेकपा) को विवाद समाधान भई पार्टी एकता र मजवुत भएको बताए ।  ‘मुलुकका लागि नेकपा घरको धुरी जस्तै हो । संविधान, लोकतान्त्रिक गणतन्त्रको रक्षा, समृद्ध मुलक, सुखी जनता बनाउनका लागि  र नेपाललाई स्वाभिमानी बनाईराख्न पनि नेकपाको एकता आवश्यक छ’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप